मकवानपुर समाचारदाता
हेटौँडा, चैत १७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबिच तत्काल एकताको सम्भावना नरहेको बताउनुभएको छ । उहाँले राष्ट्रवादी शक्ति र दललाई एउटै मोर्चामा ल्याउन गरिएको प्रयास सफल नभएको बताउँदै अहिले सनातन धर्मलाई कमजोर बनाउने काम भइरहेको बताउनुभयो ।
राप्रपा नेपालको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको शुभारम्भका अवसरमा शुक्रबार हेटौँडामा पत्रकारसँगको कुराकानीमा उहाँले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको विकल्पमा राजासहितको प्रजातन्त्र आवश्यक भएको पार्टीको निष्कर्ष रहेको बताउनुभयो ।
“राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग कार्यनीतिक धारमा मतभेद रहेकाले राप्रपासँग एकताको सम्भावना छैन,” अध्यक्ष थापाले भन्नुभयो, “उहाँहरू सत्ताकेन्द्रित र हामी नीति र सिद्धान्त केन्द्रित भएकाले एकताको सम्भावना छैन ।”
उहाँले अहिलेको व्यवस्थाको विकल्पमा राजासहितको प्रजातन्त्र, सनातन हिन्दु राष्ट्र र सुशासनको माध्यमबाट आर्थिक समृद्धिको निष्कर्ष पार्टीको रहेको बताउँदै यसका लागि सडकदेखि सदनसम्म जनआन्दोलन आवश्यक भएको र यो कुनै एक दलको मात्र प्रयासले सम्भव नहुँदा समान धारणा र विचार भएका दलबिच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, “समान विचारधारा भएका राजनीतिक दल र समूहसँग वार्ता पटक पटक गरे पनि सफल भएको छैन ।”
राप्रपाको महाधिवेशनमा निर्मल निवासबाट भएको हस्तक्षेप राजसंस्थाको मर्मविपरीत भएको भन्दै आफूले विरोध गरेको उहाँको भनाइ थियो । सङ्गठन विस्तार र शक्ति सञ्चयमा पार्टी लागेको भन्दै अध्यक्ष थापाले मकवानपुरबाट सुरु भएर चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके हुँदै बर्दियासम्मको भ्रमणमा निस्किएको बताउनुभयो । उहाँले धर्म निरपेक्षताको आडमा धर्म परिवर्तन सङ्गठित रूपमा भइरहेको बताउनुभयो ।