• २१ वैशाख २०८१, शुक्रबार

गजल

blog

बग्दैछ  सपनाको  महल,  अभावका लहरले 

कसरी जोत्छ र बाँझो बारी, कमजोर बहरले  ।


लुटिएर  गाउँ फर्कंदैछु  धरधरी  रुँदै, अहिले

आएको थिएँ अवसर खोज्दै, यहाँ म रहरले ।


रगत पसिना  बगाएकै हुँ, यही सहरमा मैले  

कहिल्यै आफ्नो  ठानेन,  मलाई यो सहरले ।


मिसावटको चलन, निकै नै  बढिसकेछ यहाँ 

जति  पिउँदा पनि  मान्छे मर्न सकेन जहरले ।


जिन्दगीको  प्रहारले  चट्टान  बन्यो  यो मुटु 

दुख्दैन  मन  कुनै   विघ्न बाधा र  कहरले  ।