• ११ जेठ २०८१, शुक्रबार

बिहारमा गेष्ट हाउस : विरोधमा होटल व्यवसायी

blog

लुम्बिनी विकास कोष अगाडि धर्ना दिँदै व्यवसायी।तस्बिरः लक्ष्मण पौडेल

लक्ष्मण पौडेल

भैरहवा, चैत १६ गते। लुम्बिनीमा रहेको विभिन्न बिहार तथा मोनाष्ट्रीले नियमविपरीत गेष्ट हाउस सञ्चालनमा ल्याएको भन्दै होटल व्यवसायी आन्दोलनमा उत्रिएका छन्। लुम्बिनी होटल सङ्घ नेपालले बिहारमा गेष्ट हाउस सञ्चालन बन्द गर्न माग गर्दै चरणबद्ध आन्दोलन सुरु गरेको हो ।

सङ्घले बिहीबार लुम्बिनी विकास कोष परिसर अगाडि दुई घण्टासम्म धर्ना दिएको छ।व्यवसायीले यो धर्नालाई एक सातासम्म निरन्तरता दिइने बताएका छन्।एक सातासम्म पनि माग पूरा नभए आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने तयारी व्यवसायीले गरेका छन्।नियमविपरीत लुम्बिनीका गुम्बा तथा मन्दिरले गेष्ट हाउस सञ्चालन गर्दा पनि लुम्बिनी विकास कोषका जिम्मेवार पदाधिकारी तथा कर्मचारीले कुनै कारवाही नगरेकाले संघले यो आन्दोलन कोषविरुद्ध सुरु गरेको हो ।

होटल व्यवसायीले विगत १२ वर्षदेखि राख्र्दै आएको मागप्रति कोषले बेवास्ता गरेको सङ्घले आरोप लगाएको छ।संघका अध्यक्ष गोविन्द ज्ञवालीले लुम्बिनी विकास कोषको पर्यटन व्यवसाय प्रतिको बेवास्ता र अन्य गलत नीतिका कारण लुम्बिनी क्षेत्रको पर्यटकीय वातावरण बिग्रिँदै गएको बताउनुभयो।

व्यवसायीहरुले मोनाष्ट्री तथा बिहार बनाउन अनुमति दिने लुम्बिनी विकास कोष नियमविपरीतका निर्माण संरचना तयार पारी सञ्चालनमा ल्याउँदा पनि मौन रहेको, अनुगमन र कारवाही गर्नेतर्फ कुनै चासो नदेखाएको आरोप लगाएका छन् ।

लुम्बिनी विकास विनियमावली २०५८ अनुरुप, एउटा मोनाष्ट्रीमा पाँच जनासम्म भिक्षु र पाँच जनासम्म उनीहरुका लागि सहयोगी बस्ने क्षमताको मात्र निर्माण संरचना बनाउन पाइने नियम छ।कुन विदेशी कति दिनसम्म बस्ने हो ? भन्ने बारेमा सम्बन्धित बिहारले कोषलाई जानकारी गराउनुपर्ने प्रावधान छ ।

तर लुम्बिनीमा तीन सय जनासम्म अट्ने क्षमताका गेष्ट हाउसको संरचना तयार भएर सञचालनमा आएका छन्। सङ्घका महासचिव पुरुषोत्तम अर्यालले बिहारमा नियमविपरीत गेष्ट हाउस सञ्चालनमा आएकाले विरोध गर्नुपरेको बताउनुभयो।

लुम्बिनीमा निर्माण गरिएका गौतमी भिक्षुणी बिहार, गोल्डेन ट्याम्पल म्यानमार, कम्बोडिया बिहार, महाबोधी सोसाइटी भारत, थाइल्याण्डको राजकीय बिहार,  चिनियाँ बिहार, कोरियन बिहार, बज्रयान नेपाली बिहार, सिंगापुर बिहार लगायतले नियमविपरीत गेष्ट हाउसको निर्माण गरी सञ्चालनमा ल्याएको दाबी होटल व्यवसायीको छ ।

लुम्बिनीका होटल व्यवसायी लीलामणि शर्माले लुम्बिनीका बिहारले लुम्बिनीमा मन्दिर तथा बिहार बनाउने भन्दै चन्दा सहयोग ल्याउने र यहाँ बिहारको नाममा कोषसँग ९९ वर्षका लागि सस्तोमा जग्गा भाडामा लिएर गेष्ट हाउस निर्माण गरी व्यापार गर्ने गरेको आरोप लगाउनुभयो।