वस्तुतः भ्रष्ट आचार राम्रो व्यवहार होइन । यो औसत ज्ञान भएको सबै मान्छेलाई थाहा छ । भ्रष्ट आचार गरियो भने बदनाम भइन्छ अनि साथीभाइ, इष्टमित्र सबैले धिकार्छन् भन्ने पनि राम्ररी थाहा छ । आजसम्म दुःख, कष्ट र निरन्तर मेहनतबाट बनाएको प्रतिष्ठाको उचाइ वा धरातल गल्र्यामगुर्लुम ढल्छ वा भत्किन्छ भन्ने पनि राम्रो ज्ञान छ । मान, सम्मान, प्रतिष्ठा र इज्जतमा दाग लाग्छ भन्ने पनि छ्याङछ्याङ्ती थाहा छ । राजनीतिक छवि, चुनावी धरातल अनि लोकप्रियता घट्छ र चुनाव जित्न हम्मे हम्मे पर्छ भन्ने पनि सारै राम्ररी थाहा छ । पार्टी, जीवन, राजनीतिक जीवन र सामाजिक जीवन सबै एकछाक हुन्छ भन्ने पनि थाहा छ । यति राम्ररी थाहा भएको विषय नेपाली समाजमा भने बारम्बार दोहोरिइरहन्छ किन ?
कुनै पनि किसिमको गलत व्यवहार र नजर लगाउनु भनेको भ्रष्टाचार हो । यो भ्रष्ट र आचार मिलेर बनेको शब्दावली हो । भ्रष्ट भनेको गलत र आचार भनेको व्यवहारलाई जनाउँछ । यसकारण गलत वा कुदृष्टि राख्ने व्यवहार वा स्वभाव नै भ्रष्टाचार हो । आजको मानव समाजमा भ्रष्टाचार भनेको गैरकानुनी रूपमा पैसा लेनादेना गर्नुसँग मात्र जोड्ने गरिएको छ । यो शब्दावलीको चरम अपव्याख्या र गलत प्रयोग हो । भ्रष्टाचारको व्यापक तथा गहिरो अर्थ रहेको छ । भ्रष्टाचारको अन्त्य भनेको टेबलमुनिबाट नगदनारायण विनिमय गर्ने कार्यको अन्त्य मात्र कदापि होइन । यसको अन्त्य भनेको सम्पूर्ण गलत दृष्टिकोण, बुझाइ र विश्लेषणको अन्त्य पनि हो । कसैले युवतीमाथि गलत नजर लगाउनु, अनावश्यक रूपमा छुनु, बलात्कार गर्नु, हत्या गर्नु, कुटपिट गर्नु, लछारपछार गर्नु, प्रतिबद्धता पूरा नगर्नु, पैसा सापटी लगेर बिनाजानकारी बेखबर बस्नु, कसैमाथि दुर्भावना राख्नु अनि मनमा कुबुद्धि पलाउनु सबै भ्रष्टाचार हुन् ।
त्यति मात्र होइन, लुकाएर ल्याउँदै गरेको सामान छुटाइमाग्ने अब्बल व्यापारी, मतदाता, चोरी वा बलात्कार मुद्दामा हिरासतमा पुगेका छोरा, भतिज, भदा र भान्जाहरूलाई घरबाहिर कहिल्यै सुतेको छैन आजै छुटाइदिनु प¥यो भन्ने आफ्नै निर्वाचन क्षेत्रको सहोदर मतदाता, मसँग तीन सय एकछापे मतदाता छ भनेर नेताहरूसँग निजी स्वार्थका लागि दलाली गर्ने सर्तधारी मतदाताको चरित्र पनि भ्रष्टाचार नै हो । सरुवाबढुवा गरिदिनु प¥यो भन्ने सम्पूर्ण राष्ट्रसेवक सुरक्षाकर्मी र कर्मचारी, अस्पतालको लाइनमा नबसी पुर्जी काटी माग्ने बिरामीको अल्छी आफन्ते मतदाता, टिकट सोमा टिकटको पैसा नतिरी छिर्न भनसुन गर्ने लोभीपापी मतदाताको शैली पनि भ्रष्टाचार नै हो । एक दिन गएर शुल्क वा कर तिर्नुभन्दा हप्तौँ लगाएर कर छुट वा छलीमा न्वारानको बल लगाएर शक्ति केन्द्र धाउने महान् मतदाता अनि निजी स्वार्थको मौका चान्समा दोहोरो नागरिकता लिएर बसेका महान् मतदाता, नेता सबै भ्रष्टाचार संस्कृतिको प्रतिनिधि पात्र हुन् ।
यसबाट के प्रस्ट हुन्छ भने हाम्रो सिङ्गो मानव समाज नै भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । हाम्रो आधारभूत सोच, चिन्तन, मनोविज्ञान, हरेक उठबस, खानपान, जीवनशैली, कार्यशैली, व्यवहार र आचरण सबै भ्रष्टाचारमुखी देखिन्छ । सुतेको समयबाहेक हरपल भ्रष्टाचारी दिलदिमाग बोकेर हरेक मान्छे पूर्व, पश्चिम, उत्तर र दक्षिण दिशातिर दौडिरहेका छन् । सारा दौडधुप, सारा हस्याङफस्याङ, सारा रिस, क्रोध र मनको अग्नि ज्वाला भ्रष्टाचार वरिपरि नै दन्किरहेको छ । यस्तो सामाजिकीमा सुतेको बेला सपनामा पनि सायद भ्रष्टाचार नै गर्दै गरेको वा सोच्दै गरेको देख्यो भने कति पनि अन्यथा मान्नु पर्दैन । अर्थात् पैसा लेनदेनजन्य भ्रष्टाचार कमले गरे पनि भ्रष्टाचारी सोच चिन्तन सबैसँग देखिन्छ । मौका पाउँदा सबैले भ्रष्टाचार गर्ने रहेछ भन्ने तथ्यको दसी प्रमाणका रूपमा यही भ्रष्टाचारी मनोविज्ञान काफी हुन्छ । अब प्रश्न उठ्छ, यस्तो किन भइरहेको छ त ?
मूलतः आजको विश्व व्यवस्था दलाल पुँजीवादद्वारा निर्देशित रहेको छ । यसमा निजी स्वामित्व, निजी नाफा, स्वार्थ र सञ्चयले नेतृत्व गरिरहेको हुन्छ । यसरी निजत्वले नेतृत्व गरिरहेको समाजका सम्पूर्ण सदस्यमा पनि निजी नाफा वा पुँजी सञ्चयको लोभ र भोक दुवै हुन्छ । सिङ्गो समाज यही पुँजी सञ्चय र नाफाका लागि दिनरात दौडिरहेको हुन्छ । पुँजीवाद भनेको निजी लोभद्वारा निर्देशित हुन्छ । यसमा यति भए पुग्छ, अरू पर्दैन भन्ने कुनै सीमारेखा र सन्तुष्टिको मिलनबिन्दु भटिँदैन । धेरै पुँजी सञ्चय गर्ने चाहना जति कमाए पनि पुग्दैन । सहज र कानुनी बाटोबाट वा रगत पसिना बगाएर त्यस्तो अकुत सम्पत्ति आर्जन हुँदैन ।
अर्थात् श्रमबाट केवल सामन्य घरव्यवहारसम्म चलाउने कुरा हुन्छ । यही वस्तुगत भावभूमिमा अरू गलत र गैरकानुनी बाटोबाट नाफा वा पुँजी सञ्चय गर्ने लोभ र भोक एकसाथ आउने गर्दछ । त्यसपछि मनमस्तिष्कमा एकाएक भ्रष्ट सोच र चिन्तन पैदा हुन्छ । परिणामतः भ्रष्टाचार हुने गर्दछ । यस्तो निजत्वद्वारा निर्देशित समाजमा समाजको हरेक सदस्यको पाइला पाइला, नसानसा, तन्तुतन्तु र मनमनमा भ्रष्टाचार सल्बलाइरहेको हुन्छ । तब मौका पाउनासाथ एक्सनमा गइहाल्छन् भने मौका नपाएसम्म सदाचारी, गुणकारी र भ्रष्टाचारविरोधी अभियन्ता बन्ने गर्छ । यो हाम्रो समाजको विडम्बनापूर्ण वास्तविकता हो ।
भ्रष्टाचार अन्त्य गर्ने हो भने निजी सम्पत्ति सम्बन्धको ठाउँमा सार्वजनिक सम्पत्ति सम्बन्ध स्थापित गराउनु पर्छ । निजी स्वामित्व, स्वार्थ, लोभ, पाप र आग्रह–पूर्वाग्रहको ठाउँमा साझा स्वामित्व र साझा स्वार्थ स्थापित गराउनु पर्छ । तब निहित स्वार्थ, लोभ, पाप र अपराधसँगै भ्रष्टाचार पनि लोप भएर जाने छ । निजी स्वार्थले मान्छेलाई भ्रष्ट मात्र बनाएको छैन, विवेकहीन, मानवताहीन, दयामायाहीन, नितान्त उपभोगवादी क्रेता र विक्रेता मात्र बनाइरहेको छ ।
लम्पट पुँजी उत्पादन प्रक्रियाले सिङ्गो अर्थराजनीतिक प्रक्रियालाई पनि प्रदूषित गरिहेको छ । नेपालकै कुरा गर्दा पनि आज हाम्रो लोकतान्त्रिक व्यवस्था असाध्यै विकृत र विसङ्गतिपूर्ण बन्दै गइरहेको छ । लोकतन्त्रको आदर्श मानिने चुनाव अत्यन्तै खर्चिलो, भड्किलो, विकृत र आडम्बरपूर्ण बन्दै गइरहेको छ । यसले सारा राजनीतिक संस्कृति नै भ्रष्टाचारमुखी हुँदै छ । राजनीति भन्नु नै भ्रष्टाचारको पर्याय बनिरहेको छ । यसरी निजी उत्पादन पद्धतिले नेतृत्व गरिरहेको समाजमा भ्रष्टाचारको अन्त्य सम्भव हुँदैन ।
कसैले म अन्त्य गर्छु भन्नु भनेको सस्तो लोकप्रियता, मिडिया स्टन्टबाजी र चुनावी वातावरण वा मिसन २०८४ सफल बनाउनेसम्म पत्याउन सकिन्छ, भ्रष्टाचारको अन्त्य भने हुँदैन । वस्तुगत तथ्यलाई टेकेर विश्लेषण गर्ने हो भने निजत्वमा आधारित पुँजीवादी उत्पादन सम्बन्धमा भ्रष्टाचार कसैले घोषणा गरेर अन्त्य हुने र कसैले घोषणा नै नगरेकाले अन्त्य नहुने भन्ने हुँदैन । अर्थात् कसैले राम्रो प्रतिबद्धता र कसम खाएका कारण अन्त्य हुने र अरूले प्रतिबद्धता र कसम नखाएका कारण अन्त्य नहुने भन्ने हुँदैन । भ्रष्टाचारको अन्त्य मिठो शैली मिलाएर बोल्दैमा, एक/दुई जनालाई कारबाहीको दायरामा ल्याउँदैमा अनि त्यसलाई अरूले भन्दा बढी रणनीतिक रूपमा प्रचारबाजी गर्दैमा अन्त्य हुँदैन । यो राजनीतिक प्रणाली र पद्धतिगत सञ्जालसँग जोडिएको जालो हो । जालो चुँडाल्न प्रणाली नै बदल्न जरुरी हुन्छ ।
तसर्थ भ्रष्टाचार संस्कृतिको समूल अन्त्यका लागि समाजवादी समाज स्थापना गरौँ । निजी स्वामित्व, स्वार्थ, नाफा, आग्रह, लोभपाप र अपराधमा आधारित पुँजीवादी समाजको अन्त्य गरौँ । आज नेपाली समाजलाई समाजवादी उत्पादन पद्धतिले नेतृत्व गरिरहेको हुन्थ्यो भने भ्रष्टाचारको ‘भ’ पनि हुने थिएन । किनकि समाजवादमा निजी निकृष्ट स्वार्थ, लोभलालच अनि अरूले भन्दा आफैँले मात्र बढी कमाउने मनचिन्ते सोच हुँदैन । सार्वजनिक वा साझा हितको पक्षपोषण गरिन्छ; जसका लागि यति सारो मरिहत्ते गर्ने कुरा हुँदैन । समाजको हरेक सदस्यलाई समाजवादी अर्थराजनीतिक सचेतना र समाजवादी अनुशासनबाट लेस गराइएको हुन्छ तब त्यस्तो सचेत, विवेकशील र अनुशासित समाजमा भ्रष्टाचार संस्कृति कल्पनै गर्न सकिन्न । त्यसैले पङ्क्तिकार पुनः जोड दिएर लेख्छ कि समाजवाद निर्माणको बाटोमा अघि बढौँ, भ्रष्टाचारलगायतका सम्पूर्ण खराबीको समूल अन्त्य गरौँ । यसैमा हामी सबैको हित अन्तर्निहित छ ।