• ३० वैशाख २०८२, मङ्गलबार

लुम्बिनीको सांस्कृतिक पर्यटन

blog

संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव उ थान्तले सन् १९६७ मा लुम्बिनी भ्रमण गर्दा यस क्षेत्रको दयनीय र अव्यवस्थित अवस्था देख्नुभयो । उहाँ राष्ट्रसङ्घको मुख्यालय फर्केपछि बुद्ध जन्मस्थल जस्तो पवित्र स्थल लुम्बिनीको योजनाबद्ध विकासका लागि सहकार्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभयो । उहाँकै पहलमा जापानका वास्तुविद् प्रो. केन्जो टाङ्गेलाई लुम्बिनी विकासको गुरुयोजना डिजाइन गर्न लगाइयो । लुम्बिनीको इतिहास, भूगोल, दर्शन, वास्तुकला, संस्कृति र परम्पराको प्रामाणिकतामा कुनै असर नपर्ने गरी तयार गरिएको गुरुयोजनामा तीन वर्गमाइल क्षेत्रफलमध्ये एक/एक वर्गमाइलमा सेक्रेड गार्डेन, विहार क्षेत्र र नयाँ लुम्बिनी ग्राम रहेका छन् । लुम्बिनीको विकासका लागि स्नायुप्रणालीका रूपमा रहेको गुरुयोजनाको काम सुस्त गतिमा अगाडि बढे पनि अब सम्पन्न हुने चरणमा पुगेको छ । यसले लुम्बिनी क्षेत्रलाई थप आकर्षक बनाएको छ । यसको संरक्षण र व्यवस्थापनको काम लुम्बिनी विकास कोषले गरिरहेको छ । आधुनिक लुम्बिनीको परिकल्पना गर्ने र लुम्बिनीलाई शान्ति, सद्भाव र करुणाको केन्द्र बनाउने अभियानमा उ थान्तको योगदानको उच्च कदर गर्नु पर्छ । 

इसापूर्वको तेस्रो शताब्दीमा बौद्ध स्थलहरूको यात्रा गर्ने क्रममा लुम्बिनी आएका मौर्य सम्राट् अशोकले बुद्ध जन्मस्थलको प्रमाणसहित स्तम्भ खडा गर्नुभएको थियो । उहाँले लुम्बिनी भ्रमणकै सिलसिलामा शाक्यमुनि बुद्धपूर्वका क्रकुच्छन्द र कनकमनी बुद्धको समेत जन्मस्थल रहेको ठाउँमा अशोक स्तम्भ खडा गर्नुभएको थियो । लुम्बिनीमा उहाँले निर्माण गर्नुभएको धम्मास्तूप र सङ्घारामले लुम्बिनीको सांस्कृतिक पहिचानसमेत दिएको छ । ती प्रमाणलाई पाचौँ र सातौँ  शताब्दीमा आएका चिनियाँ यात्रीहरू फाइयान र ह्वेन साङको यात्रा विवरणमा उल्लेख गरिएको छ । त्यही विवरण पछ्याउँदै पुनः खोजी गर्ने क्रममा पाल्पाका बडाहाकिम खड्कशमशेर जबरा र पुरातत्वविद् ए. फुहररले सन् १८९६ मा बुद्ध जन्मस्थल पत्ता लगाउनुभएको थियो । त्यसपछिका समयमा लुम्बिनी र यस क्षेत्रको उत्खननका क्रममा कैयौँ पुरातात्त्विक वस्तु फेला परेका छन् । देवदह, तिलौराकोटलगायतका बौद्ध स्थलमा समेत उत्खनन र अन्वेषणका काम भइरहेका छन् । 

लुम्बिनी गुरुयोजनाभित्र समेटिएको विहार क्षेत्र बौद्ध संस्कृति, कला, वास्तुकलाको सङ्गमका रूपमा रहेको छ । लुम्बिनी विहार क्षेत्र बौद्ध दर्शनको महत्वपूर्ण अनुभूति गर्न सकिने ठाउँ हो । लुम्बिनी अहिले पनि सानो बौद्ध विश्वका रूपमा रहेको छ । यस्तो एकै स्थानमा विश्वका धेरै बौद्ध संस्कृति बुझ्न सक्ने वातावरण विश्वका कुनै स्थानमा छैन । लुम्बिनीको मूल नहरको पूर्वपश्चिममा ४२ वटा विहारका लागि प्लट बनाइएको छ । राजकीय थाई विहार, क्यानेडियन बुद्धिस्ट संस्था, महाबोधी मन्दिर भारत,  कम्बोडियाली मन्दिर, श्रीलङ्का महाविहार, नेपाल थेरवाद मन्दिर, म्यान्मार स्वर्ण मन्दिरसहित विपश्यना केन्द्र पूर्व क्षेत्रमा बनेका छन् । यसको अध्ययनले थेरवाद के हो ? संस्कृति र कला के हो ? कुन देशको कला कस्तो छ ? भन्ने पूर्ण ज्ञान दिन्छ । यसै गरी नहरको पश्चिमतर्फ २९ वटा प्लट छन् । त्यहाँ महायानी सम्प्रदाय, उपसम्प्रदायका पनि गुम्बा, विहारहरू निर्माण भएका छन् । नेपाल, सिङ्गापुर, फ्रान्स, जर्मनी, जापान, भारत, क्यानडा, भियतनाम, मङ्गोलिया, भुटान, स्विट्जरल्यान्ड, चीन, दक्षिण कोरिया, म्यान्मार तथा हिमाली बौद्ध समुदायका संस्कृति झल्कने कलात्मक गुम्बा बिहारहरू निर्माण भएका छन् । यसबाट बौद्ध संस्कृति र कला बुझ्नका लागि लुम्बिनी विश्वकै महत्वपूर्ण गन्तव्य हो भन्न सकिन्छ । यसलाई विश्वभर प्रचार गर्न आवश्यक छ । 

यस क्षेत्रसँग अन्तर्राष्ट्रिय समझदारीको स्तरले विश्वशान्तिको वातावरणलाई तीव्र रूपमा सुधार गर्न सकिन्छ । अमेरिकी राष्ट्रपति केनेडीले लुम्बिनी आएका बेला (सन् १९६३) मा भन्नुभएको थियो, “हाम्रो समाजमा यात्रा नै शान्ति र समझदारीका लागि एक ठुलो शक्ति भएको छ । मानिसले संसारभर घुम्ने र एकअर्काको चलन बुझ्न र प्रत्येक राष्ट्रका व्यक्तिको गुणहरूको कदर गर्न सिक्ने क्रममा हामी निर्वाण हुन्छौँ ।” सांस्कृतिक पर्यटनलाई विश्व पर्यटन सङ्गठनले पनि सांस्कृतिक उत्प्रेरणाका लागि व्यक्तिहरूको आवागमन जस्तो अध्ययन भ्रमण र स्मारकको भ्रमण, प्रकृति कला र तीर्थस्थलको अध्ययन गर्ने यात्रा भनेर परिभाषित गरेको छ । बौद्ध धर्मावलम्बीका लागि तीर्थयात्राको ठुलो महत्व छ । उनीहरूमा तीर्थस्थलको भ्रमण गर्नाले जीवनको लक्ष्य पूरा हुने, शील, प्रज्ञा प्राप्त हुने, अज्ञानरूपी अन्धकार नाश भएर जाने, मानसिक अशान्ति र पीडाबाट छुटकारा पाउने विश्वास छ । विश्वका कैयौँ देशको मुख्य धर्म बौद्ध धर्म रहेको पृष्ठभूमिमा बौद्ध संस्कृतिको केन्द्रका रूपमा रहेको विहार क्षेत्र उनीहरूको प्रमुख गन्तव्य बन्न सक्छ । अहिले कम्बोडियामा ९६.८ प्रतिशत, थाइल्यान्डमा ९२.६, म्यान्मारमा ७९.८, भुटानमा ७४.७, श्रीलङ्कामा ६८.६, लाओसमा ६४, मङ्गोलियामा ५४.४, जापानमा ३३.२ प्रतिशत बौद्ध धर्मावलम्बी छन् । यसै गरी सिङ्गापुरमा २१.९, दक्षिण कोरियामा २१.९,  ताइवानमा २१.२, चीनमा १८.३, मकाउमा १७.३, भियतनाममा १६.२, मलेसियामा १५.७ र हङकङमा १३.३ प्रतिशत बौद्ध अनुयायी छन् । यी देशमा लुम्बिनीबारे व्यापक प्रचारप्रसार गर्ने हो भने बर्सेनि लाखौँ तीर्थयात्री लुम्बिनी आउन सक्छन् । 

अहिले संसारमा स्वचालित प्रविधिको विकाससँगै मानिसको फुर्सदको समय बढ्दै गएकाले यात्रा गर्ने क्रम पनि बढेको छ । यसै गरी फराकिलो प्रविधिको विकास, आरामदायी हवाई तथा सडक यातायातको विकास, सूचना र सञ्चारको व्यापकता, अन्य देश र स्थानको जानकारीका लागि उत्सुकताको कारणले पर्यटनको विकासलाई सहयोग पु¥याइरहेको छ । धार्मिक यात्रा, तीर्थयात्रा, कला र संस्कृतिमा आधारित उच्च शैक्षिक भ्रमणहरूले व्यापकता पाइरहेको अवस्थामा लुम्बिनीको विहार क्षेत्र आकर्षक गन्तव्य बन्न सक्ने देखिन्छ । आजको विश्व भूमण्डलीकरण, आर्थिक उदारीकरण, नयाँ जातीय र धार्मिक कूटनीति, संस्कृति र मूल्यमान्यताको कारणले पर्यटकीय गन्तव्यहरूको ‘ब्रान्डिङ’ को प्रतिस्पर्धा नै चलेको छ । यस्तो अवस्थामा पनि नेपालको ऐतिहासिकता, पुरातात्त्विक सम्पदाहरू तथा सांस्कृतिक सम्बन्धहरूका कारणले विश्वको उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा रहेको छ ।

आजकल विश्वास र भावनाहरूसँग जोडिएको मान्छेको सोच यात्रा र गन्तव्यहरूका सम्बन्धहरूमा प्रतिविम्बित भइरहेको हुन्छ । दुःखमय संसारबाट मुक्तिका लागि बाटो देखाउने, अज्ञानताको अँध्यारो हटाउँदै शान्तिको प्रकाश छर्ने, भ्रातृत्व, करुणा, दया, माया र प्रेमको प्रादुर्भाव गर्ने, दुनियाँलाई युगान्तकारी नयाँ विचार र चेतना जागृत गर्ने एक अद्भुत क्षमताका व्यक्तित्व गौतम बुद्धको जन्म भएको ठाउँ लुम्बिनीले विश्वमै नेपाल र नेपालीको सान बढाएको छ । बुद्धले स्वयम् आफ्ना अनुयायीलाई जीवनको अन्तिम क्षणमा शिक्षा दिँदै जीवनमा एक पटक आफू जन्मिएको ठाउँ लुम्बिनीमा जानू भन्नुभएको थियो । यसकारण पनि विश्वभरका बुद्धका अनुयायी एक पटक लुम्बिनी आउन इच्छुक रहेका हुन्छन् । विद्वान्हरूले पनि लुम्बिनीलाई बौद्ध संसारको एक अतुलनीय आध्यात्मिक गन्तव्यका रूपमा व्याख्या गरेका छन् । 

बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रका विविध आयामलाई विश्वव्यापीकरण गर्नका लागि लुम्बिनी डिजिटल फर्महरू तयार गर्ने, ‘ट्राभल एक्स्पो’ र ‘मिडिया पार्टनरसिप’ मार्फत यसको महत्व प्रवर्धन गर्नु आवश्यक देखिन्छ । लुम्बिनी विहार क्षेत्रमा वास्तुकला शैलीलाई प्रचार गर्ने, विभिन्न बौद्ध उत्सवमा अन्तर्क्रियात्मक कार्यक्रम, सांस्कृतिक महोत्सव सञ्चालन गर्नु पर्छ । लुम्बिनीमा आउने पर्यटक तथा तीर्थयात्रीले सांस्कृतिक आदानप्रदान र आध्यात्मिक विकास र कल्याण प्राप्त हुन्छ भन्ने ठान्ने हुनाले विहार क्षेत्रको शान्तिमय वातावरणमा नियमित ध्यान कक्षा र विपश्यना कार्यक्रम सञ्चालन गरिराख्नुपर्ने देखिन्छ । लुम्बिनीमा विश्व समुदायलाई आकर्षण गर्नका लागि आधुनिक र प्रभावकारी पूर्वाधार (राम्रो यातायात, पहुँचयोग्य सडक सञ्जाल, गुणस्तरीय आवास र पर्यटक अनुकूलका सेवा),  पर्यावरणमैत्री सुविधा, सुरक्षित वातावरण, आफ्ना आस्था र विश्वास अनुसारका परम्परा र धार्मिक अभ्यासहरूको सम्मान, ऐतिहासिक सम्पदाहरूको सरसफाइ, मिठो आतिथ्य, स्वच्छ भोजन आदिबारे ध्यान दिनु पर्छ । यसले बौद्ध समुदाय, पर्यटक र लगानीकर्तालाई समेत आकर्षण गर्न सक्छ । यस क्षेत्रमा विभिन्न भाषामा पोख्त रहेका टुरिस्ट गाइडहरू नहुँदा यस क्षेत्रको ऐतिहासिक महत्व नै थाहा नपाई पर्यटक फर्कने गरेका हुन्छन् । यस क्षेत्रको वास्तविकतालाई विश्वव्यापी बनाउन आफ्नै सक्षम गाइडहरूको व्यवस्था गर्नुपर्ने देखिन्छ । नेपाल सरकारको आव २०८२/८३ को नीति कार्यक्रममा नेपाललाई ध्यान तथा योग पर्यटनको केन्द्र बनाउने घोषणा गरिएको छ । यसका लागि लुम्बिनी विहार क्षेत्रका विपश्यना तथा ध्यान केन्द्रहरू पर्याप्त पूर्वाधारका रूपमा रहेका छन् । 

लुम्बिनी विहार क्षेत्र विश्व बौद्ध समुदाय र शान्तिप्रेमी मानव जातिकै लागि महत्वपूर्ण सांस्कृतिक धरोहरका रूपमा रहेको छ । यस क्षेत्रको भ्रमणले सिङ्गो बौद्ध संसारलाई एकै ठाउँमा अनुभूत गर्न सकिन्छ । यसैले विश्व सम्पदा क्षेत्रमा सूचीकृत बुद्ध जन्मस्थल लुम्बिनीको ‘ब्रान्डिङ’ सँगै विहार क्षेत्रको मौलिक, सांस्कृतिक र कलात्मक पक्षलाई समेत विश्वसामु प्रचार गरी प्रचुर लाभ लिने वातावरण बनाउनु जरुरी छ ।