• १३ साउन २०८१, आइतबार

‘कृषिमा आत्मनिर्भर हुनेगरी बजेट तय हुन्छ’

blog

कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साह । फाइल तस्बिर

काठमाडौं, चैत १२ गते । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे सुझाव दिन सांसदहरुलाई आग्रह गर्नुभएको छ । सोमबार सिंहदरबारमा सांसदहरुसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले सो आग्रह गर्नुभएको हो ।

मन्त्री साहले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने, युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सृजना हुने खालको रणनीतिक योजना सरकारले तय गर्न लागेकाले पनि त्यस सम्बन्धमा सांसदहरुले दिएको सुझाव महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

‘‘मलाई लाग्यो कि आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा समावेश गर्नेगरी माननीयज्यूहरुसँग सुझाव लिँदा राम्रो हुन्छ । हाम्रो देशमा सात वटा प्रदेश छन् । सबै प्रदेशहरु भौगोलिक हिसाबले पनि फरक फरक छन् । हिमालमा यार्सागुम्बा हुन्छ भने, पहाडमा मकै हुन्छ, भटमास हुन्छ । त्यसपछि मधेशमा धान, मकै, गहुँ, माछालगायतका चिजहरु जुन हामीले मधेश, पहाड र हिमालको हिसाबले भौगोलिक हिसाबले पनि बाँड्नुपर्छ ।,’’ उहाँले भन्नुभयो, ‘‘त्यो हिसाबले हामीले कुन बालीलाई प्रोत्साहन दिने, कस्तो बालीलाई प्रोत्साहन दिने, कुन बाली कुन माटोमा हुन्छ, कुन ठाउँमा कस्तो खालको हुन्छ, कस्तो खालको हावा, वातावरण हो ? त्यो हिसावले सुझावहरु आइराख्दा राम्रो हुन्छ ।  माननीयजीहरुले के बुझ्नुपर्छ भने कम्तीमा एउटा माननीयको हिसाबले नीति निर्माण तहमा हामी छौं ।’’

उहाँले भुबनावट अनुसारको योजना तय गरी आयात हुने कृषि उपजहरुलाई प्रतिस्थापन गरी निर्यात व्यापारलाई बढावा दिने काममा सांसदहरुले दिएको सुझाव फलदायी हुने पनि बताउनु भयो । मन्त्री साहले छुर्पी, खुवा, अलैँची, कफीहरुको उत्पादन बढाएर निर्यात गर्नका लागि पनि सरकारलाई सुझाव पनि सम्बन्धित सबै पक्षलाई आह्वान गर्नुभयो ।

‘‘नेपालमा २५ लाख मेट्रिक टनभन्दा बढी दुध उत्पादन हुन्छ । त्यसलाई बढावा दिने गरी बजारीकरण गर्नका लागि हामीले सबै सेक्टरमा माननीयज्युहरुको तर्फबाट आ–आफ्नो जिल्ला, आ–आफ्नो क्षेत्रमा कम्ती त्यो भूमिका निर्वाह गर्नुभयो भने सायद अझ फलदायी हुनेछ भन्ने मेरो मनमा लागेको छ । अर्को कुरा जहाँ बजार छ । जहाँ तरकारी छ । पानी नपुगेको ठाउँमा तरकारी हुने सम्भावना छ । वा माछा उत्पादन हुने सम्भावना छ ।,’’ मन्त्री साहले भन्नुभयो, ‘‘यो चिजहरुलाई पनि क्लियर गर्दाखेरी हामीले अबको रणनीति कस्तो बनाउनु पर्छ, कृषिमा कस्तो खालको भिजन लिएर जाँदाखेरी सबै विषयवस्तु समेटिने गरी कम्तीमा पानी नभएका ठाउँमा कुलो बनाउने कि हामीले बोरिङ गाड्ने कि हामीले । के गर्दा त्यहाँको समस्या हल हुन्छ । यदी त्यहाँ माटो बिग्रेको छ भने त्यसलाई कसरी मुलायम बनाउने ? त्यो खालको कुराहरु पनि तपाईंहरुबाट आउँदा आफ्नो ठाउँबाट राम्रो सुझाव दिनुहुनेछ ।  मलाई अझ थप ऊर्जा प्राप्त हुनेछ भन्ने विश्वास गरेको छु ।’’

मन्त्री साहले सिँचाइका असुविधाहरु भएको ठाउँमा देखिएको समस्या हल गर्ने कुरामा पनि सांसदहरुले दिएको सुझाव सरकारका लागि धेरै उपयोग हुने स्पष्ट पार्नुभयो ।