कैलाली र कन्चनपुरमा बसोबास गर्ने रानाथारु अहिले होरी पर्वको रौनकमा छन् । अहिले रानाथारु गाउँ होरीको ढोल र गीतले गुन्जयमान बनेको छ । महिला नयाँ–नयाँ लुगा गहना सिल्ने बनाउने र पुराना गरगहना सफा गरेर चम्काउने तयारीमा छन् । रानाथारुको महान पर्व होरी (होली) माघ पूर्णिमाको दिनदेखि सुरु भई फागु पुर्णिमा पछिको आठ दिनसम्म (१ महिना ८ दिन) मनाइने ठुलो पर्व हो । रानाथारु होरी दुई प्रकारले मनाइन्छ ‘जिन्दा र मरी’ होरी ।
जिन्दा होरी
होरी पर्व माघ महिनाको पूर्णिमाको दिन गाउँका मानिस पधना वा भल्मन्साको घरमा जम्मा भई गाउँको दक्षिणपट्टि भुइया (रानाथारु गाउँको देवथान) नजिक गएर होरी राख्ने गर्दछन् । काठको खम्वा गाडी दाउरा, सुकेको मकैको डाँठ, तोरीको डाँठ र गोबरका गुइठा आदि राखी जम्मा गरी होरी राख्ने प्रचलन छ । होरी अगियारी (होम) गरी राख्ने चलन रहिआएको छ । अगियारी गर्दा सतनजा (सात प्रकारको अन्न) सबैका घर–घरबाट उठाउने गर्दछन् । जसलाई ‘भेट’ भनिन्छ । भेट राखी पूजा गरिन्छ । सो दिन होरी राखेको स्थानमा होरी खेल्छन र पधनाको घरमा होरीको सुरुवात गर्ने गर्छ ।
होरीमा यस्तो गीत गाउने गरिन्छ –
ललारे लला मथुरासे होरि आइ.........२
लल खेलत गोपी ग्वाल, मथुरासे होरी आइ......२
ललारे लला कौन नाचै कौन गाबए,
लल कौन नाचै कौन गाबए कौन बजाबए ढोल,
लल मथुरासे होरि आइ....२
लल राधा नाचै गोपि गाबए,
लल राधा नचै गोपि गाबए, ढोलिया बजाबए ढोल,
लल मथुरासे होरि आइ.......२
त्यस दिनदेखि प्रत्येक दिन राति पुरुषले दाउरा, मकै र तोरीका डाँठ, गुइठा (कन्डा) जस्ता बस्तुहरु बटुल्दै होरी राख्छन् । साथै प्रत्येक दिन क्रमशः पधनाको घर, भल्मन्साको घर, चाकर (चौकिदार) को घर र त्यसपछि पालैपालो अरुको घरमा होरी (होली) नाच नाच्छन् । एक महिना फागुनमा राति होरी नाच्छन् । जसलाई जिन्दा होरी भनिन्छ । होरी फागुन पुर्णिमा होलिका दहन गरिसकेपछि दिउँसो ८ दिनसम्म होरी नाच नाच्ने गर्दछन् । जसलाई मरी होरी भनिन्छ ।
मरी होरी
फागु पूर्णिमाको दिन राति पधना, भल्मन्सा, गौटेहर (मूख्य भर्रा), भर्रा र गाउँका सबै मिलेर जम्मा गरेको होरीमा महिलाको ड्रेस लगाइ होलिकाको पुतला बनाइ दिन्छन् । आजभोलि विभिन्न रङका चिरहरु (धजा) बनाइ अगियारी (होम) गरी पूजा गर्छन् । जसमा गाउँका सबै घरबाट भल्मन्सा भेट (पूजा सामग्री) उठाउने सतनजा (सात किसीमको अन्न), ल्वाङ्ग, घिउ, फूल, चामल, जौ, तिल, अगरबत्ती उठाइ गुलियो पूरी पकाउँछन । पूजा गरी सकेपछि होरीमा आगो लगाइ जलाउँछन् । होली जलाउँदा यस प्रकारको गीत गाउने गर्छन् ।
अरे मोहे नन्दलाल बर्ष दिन होरी आइ....२
बर्ष दिन गुजरिया रे दुध बेंचन जाँए,
अधबिच मिलगओ कन्हैया दुध लैकि नाए,
छिन छिन दुध खाइ, खाइ जसोदाको लाल,
बर्ष दिन होरी आइ.........२
होरी जलाएर सोहि दिन साँझ त्यहाँबाटै गीत गाउँदै पधना वा भल्मन्साको घरमा आएर होरी (नाच) नाच्छन् । दिउँसो गाउँका सबै मिलि गाउँको ताल अथवा नदीमा गई माछा मार्ने चलन रहिआएको छ । त्यस दिनदेखि गोई बन्द गर्ने वा हलो जोत्न, गोरु गाडा चलाउन पाइदैन । कसैले चलाएमा जरिवाना लिने चलन छ । भोलिपल्ट विहान उठी सबै दाजुभाइ दिदी बहिनी आफ्ना घरमा मिठा पक्वान पकाइ खान्छन् । रंग अविर खेल्छन् । भिनाजु (जिजा) आफ्ना सालीका घरमा रङ खेल्न जान्छन् र सालीलाई फगुहा (उपहार) दिइ रंग अविर खेल्छन् ।
भिनाजु (जिजा) आफ्ना सालीका घरमा रङ खेल्न जान्छन् र सालीलाई फगुहा (उपहार) दिइ रंग अविर खेल्छन् ।
भिनाजुले सालीलाई मात्र नभइ सालाको श्रीमती र जेठानको श्रीमतीलाई पनि रंग अविर खेलाइ उपहार दिने चलन रहिआएको छ । सो उपहारलाई फगोहा भनिन्छ । यस पर्वलाई रंगिविरंगी हर्ष, उल्लासको पर्वको रुपमा लिइएको छ । आधा दिनसम्म रंग खेल्छन् । त्यसपछि नुहाइ नयाँ कपडा गहना लगाई होरी दहन भएको ठाउँमा गई होरी दहन भएको टीका (बिभुती) लगाउँछन् ।
होरी नाच्ने समुह त्यहीबाट गीत गाउँदै पधना वा भल्मन्साको घर आउँछ । होरी नाच्न थाल्छन् । त्यसको टीका लगाएपछि रोगव्याधीबाट बच्न सकिन्छ भन्ने परम्परागत मान्यता छ ।
टीका लगाउँदा गाउने गीत
लल रामचन्दर पतिया लिखओ......२
अरे हमए शिब जुहारनरे,
कुइ रन बन चलिअओ लडनेको,
अरे हरे सिताराम .........२
लल रामचन्दर........... २
कए मन लोह तुरइ,
कए मन लोह तुरइ,
अरे कए मन तिर बाँध बन रे,
कुइ रन बन चलिअओ लडनेको,
अरे हरे सिताराम.........२
होरीको टीका पधना, भल्मन्सा, चाकर गाउँका अन्य पुरुषहरु होरीमा चामल राख्दै टीका लगाउँछन् । गला मिल्ने रामराम गर्ने चलन रहिआएको छ । होरी नाच्नेहरु पनि टीका लगाउन जान्छन् । त्यहीबाट होरीको गीत गाउँदै पधनाको घरमा आइ होरी नाच्न सुरु गर्दछन् । होरी तीन प्रकारले नाचिन्छ । ठढौवा, लोहकौवा, खिचडी । नाच्ने तरिका, गीतको राग पनि फरक हुने गर्छ । ठडौवा र लोहकौवा महिला मात्र नाच्ने गर्छन् भने खिचडी पुरुष र महिला मिली नाच्ने गर्छन् । टीका लगाएर फर्किनेबेला पधना, पधनियालाई, भलमन्सा भलमन्सनियालाई जिस्काएर गीत गाउने चलन छ ।
टीका लगाएर फर्किनेबेला बाटोमा गाइने मतबरिया गीत
मतबरिया भए मेरे लाल मतबारो.......२
कौनत बोबए गेंहु चनारे गेंहु चनारे,
और कौन बोबए भाँग मए मतबारो,
मतबारो भओ मेरे लाल मए मतबरिया...२
लोगत बोमए गेंहु चनारे,गेंहु चनारे,
और भंगिया बोबए भाँग मए मतबारो,
मतबारो भओ मेरे लाल मए मतबारो....२
यसैगरी पधनाको घरमा पुगिसकेपछि यस प्रकारले गीत गाउने गर्छन् ।
राजा नलके दुवारे मचि होरी........२
कौन नाचए कौन गाबए, कौन बजाबए ढोल,
राजा नलके दुवारे मचि होरी ........२
राधि नचए गोपि गाबए, कृष्ण बजाबए ढोल,
राजा नलके दुवारे मचि होरी..........२
होरी खेल्नेहरुका लागि २ भेलिमिठाइ र सबै होरी नाच्नेहरुका लागि घरमा रातिको खाना खुवाउने चलन छ । यसरी ८ दिनसम्म क्रमशः पधना, भल्मन्सा, चाकर, मान्यजनका घरमा दिनदिनै होरी नाच्ने चलन छ ।
खकडेहरा
टीकाको आठौं दिन खकडेहरा फुटाइ होरी समापन गर्ने चलन छ । खकडेहराको दिन विहानै घरका महिला तथा पुरुषहरु सातवटा काचो माटोको डल्लो बनाउने, कपासको वीऊ, फुटेका गाग्रोको टुक्राहरु, सात रंगका कपडा आदि लिई आफ्नो गाउँभन्दा बाहिर दक्षिणतिर खकडेहरा पधनाले हलोको परिह्यारीले विहान अन्धयारोमै फुटाउने चलन रहिआएको छ ।
गाउँका सबै मिलेर हिरणय कस्यपले आफ्नो छोरा प्रल्हादलाई मार्न आफ्नी बहिनी होलीकालाई पठाएको बेलामा होलीका अग्नीमा नजल्ने बरदान पाएकी थिइन् । उनमा आफू नजल्ने घमण्ड रहेको हुनाले आफ्नो भदु प्रल्हादलाई आफ्नो काखमा राखी दहन हुनेबेला होलिका जलेर राख भएकी थिइन् । प्रल्हादलाई कुनै पनि प्रकारको क्षति भएन । कारण, वालक प्रल्हाद विष्णुका भक्त थिए । यसरी पाप गर्न खोजे पापी आफै नष्ट हुन्छ । सत्यको जहिले पनि विजय हुन्छ भन्ने हेतुले रानाथारु यस पर्वलाई सत्यको विजयी पर्वको रुपमा मनाउने गर्छन् ।
रानाथारुको प्रत्येक गीत, कथा, परम्परागत चलन कृष्णलिला चरित्र, रामायण, महाभारतसँग जोडिएको देखिन्छ ।
त्यसैगरी रानाथारुको प्रत्येक गीत, कथा, परम्परागत चलन कृष्णलिला चरित्र, रामायण, महाभारतसँग जोडिएको देखिन्छ । खकडेहरा फुटाइ सकेपछि त्यहीबाट पानी र रङसँग होली खेल्छन् । सबै मिलि थोर पैसा उठाउँछन् । मान्यजनको घरबाट पैसा (फगुहा) उठाउने र खसी काट्ने, मिठाइ किनेर खाने र पधना वा भलमन्साले आफ्नो घरबाट भात ख्वाउने चलन छ । यस पर्वमा आफ्ना मान्यजन, आफन्त, इष्टमित्र, मित, मितनी, फगुहा दिएका भिनाजु सबैलाई हटकना (खानाको निमतो) गरी खाना खान बोलाउने चलन छ ।
खाना खान आएका पाहुनासँग फेरि रंग खेल्ने चलन रहेको छ । पुरुष पाहुनाले घर फर्कनेबेला ढोगभेट (पाए लगौनी) भनेर उपहार वा पैसा दिने गर्छन् । महिलाले प्रायः उपहार दिने चलन रहेको छ । यसरी होरी पर्व सकिन्छ । होरी चाहिँ चैतको चराइको दिन मात्र सेलाउने चलन छ ।
(लेखक संस्कृतिका जानकार हुनुहुन्छ ।)