• १३ असोज २०८१, आइतबार

तीन हजार बढी मुस्लिमद्वारा सामूहिक रोजा इफ्तार

blog

वडा –५ मा सामुहिक रोजा इफ्तार गर्दै नेपालगन्जका मुस्लिमहरु । तस्विरः सिराज खान

सिराज खान 

नेपालगन्ज, चैत १० गते । मुस्लिम समुदायको पवित्र महिना रमजानको अवसरमा नेपालगन्जमा तीन हजार बढी जनाले एकै ठाउँमा सामूहिक रोजा इफ्तार गरेका छन् । रमजान महिनाको ११ औँ दिनको बेलुका शुक्रबार साँझ साढे ६ बजे नेपालगन्जका तीन हजार बढी इस्लाम धर्मावलम्बीले वडा ५ स्थित वडा प्रहरी कार्यालयनजिकको सडकमा सो सामूहिक इफ्तार गरेका हुन् । 

नेपालगन्जमा यो नै हालसम्मको सबैभन्दा धेरै जना सहभागी भएको इफ्तार कार्यक्रम भएको जनाइएको छ । नेपालगन्ज उपमहानगरपालिका–५ का वडा अध्यक्ष सराफत हुसेन शेषको नेतृत्वमा सो सामूहिक इफ्तार कार्यक्रम गरिएको थियो । 

इफ्तार कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य आदेश अग्रवाल, नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्ट, उपमेयर कमरुद्दीन राई, वडा २० का वडा अध्यक्ष कौशल धोबीलगायतको सहभागिता थियो । 

सो अवसरमा प्रदेश सभा सदस्य अग्रवालले सामूहिक इफ्तार कार्यक्रमले समुदायमा मात्र नभई विभिन्न धर्मावलम्बीमा पनि एकता र सदभाव रहेको सन्देश दिएको बताउनुभयो । 

सोही प्रकारले नेपालगन्जका मेयर विष्टले यति धेरै जना सहभागी सामूहिक इफ्तार कार्यक्रमले नेपालगन्जलाई सामाजिक एवम् धार्मिक सद्भावको सहरको रूपमा विश्वभर चिनाउन मद्दत गरेको बताउनुभयो । 

यस्तै, नेपालगन्जका उपमेयर राईले रमजानको महिना प्रेम, सदभाव र त्यागको महिना भएकाले यो महिनाभरी गरिने हरेक कार्य सराहनीय हुने बताउनुभयो । इफ्तार कार्यक्रमका आयोजक वडा ५ का वडा अध्यक्ष शराफत शेषले सामूहिक रोजा इफ्तारका लागि नजिक कुनै ठुलो खाली ठाउँ नरहेकोले सडकको छेउमा गर्नु परेको जनाउँदै यसबाट कसैलाई भएको कुनै अवरोध बाधाप्रति दुःख व्यक्त गर्नुभयो । 

इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान फागुन २९ गतेदेखि सुरु भएको छ । एक महिनासम्म मुस्लिम समुदायले बिहान सूर्य उदाउनुभन्दा पहिलेदेखि बेलुका सूर्य अस्ताउने समयसम्म पानी नखाई निराहार व्रत बस्ने गरेका छन् ।