• १३ साउन २०८१, आइतबार

स्वच्छता सामग्री पाउँदा छात्रा खुसी

blog

बाजुरा समाचारदाता

बाजुरा, चैत ९ गते । महिनावारी भएको समय विद्यालयमा समस्या भोग्दै गरेका बाजुराका अधिकांश छात्रा पछिल्लो समय पेन्टी पाउँदा निकै हर्षित बनेका छन् । यहाँका कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्रालाई ग्रिनतारा नेपालले विद्यालयमै पुगेर प्याडसहित भएको पेन्टी अर्थात् महिनावारी स्वच्छता पेन्टी वितरण गरेपछि उनीहरू खुसी बनेका हुन् ।

प्याड नहुँदा महिनावारी भएका बेला विद्यालय पढ्न जाँदा रगत बाहिर बग्छ कि भन्ने डर लाग्ने गरेको खप्तड छेडेदह गाउँपालिका–४ स्थित खापर देवस्थली मावि कक्षा १० मा अध्ययनरत छात्रा शर्मिलाकुमारी धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “महिनावारी भएको बेला सहज हुने गरेर ग्रिनतारा नेपालले महिनावारी स्वच्छता पेन्टी दिएपछि अहिले त्यो डर हटेको छ ।”यो पेन्टी महिनावारी भएको बेला छात्राका लागि निकै सहज हुने भएकाले सुरक्षित साथ विद्यालयमा गएर पठनपाठन गर्न सहज भएको छात्रा धामीले बताउनुभयो ।

बाजुराको खप्तड छेडेदह गाउँपालिकामा रहेका नौ वटा माविमा अध्ययनरत छात्रालाई महिनावारी भएकाले बेला सरसफाइ तथा विद्यालयमा आउन सहज हुने गरेर महिनावारी स्वच्छता पेन्टी वितरण कार्यक्रम सुरु गरिएको ग्रिनतारा नेपालले जनाएको छ । पहिलो चरण खप्तड छेडेदहका काँडाभवानी, मालिका मावि, देवस्थली निमावि, भवानी मावि र खापर देवस्थली माविमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत गर्ने झन्डै ६८० जनालाई महिनावारी स्वच्छता पेन्टी विरतण गरेको ग्रिनतारा नेपालको मातृ तथा नवजात शिशु स्वास्थ्य प्रवर्धन परियोजना संयोजक गोमती कटुवालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो पेन्टीको प्रयोग गर्दा छात्रालाई महिनावारी भएको बेला निकै सहज हुन्छ । जति रगत भए पनि बाहिर नदेखिने र पानीले पखाल्दा पनि राम्रोसँग सफा हुन्छ ।”

यो पेन्टीमा प्याड राखिएको हुन्छ । एक जना छात्राले झन्डै एक वर्षसम्म प्रयोग गर्न सक्छन् । महिनावारी भएको छात्राहरूलाई यो पेन्टी निकै सहज देखिएकाले अहिले प्रत्येक विद्यालयमा वितरण गर्न थालेको संयोजक कटुवालले बताउनुभयो । आर्थिक अभावका कारण प्रायः यहाँका किशोरीहरू महिनावारी भएका बेलामा प्याड किन्न सक्दैनन् । प्याड नहुँदा उनीहरूलाई महिनावारी भएकाले विद्यालयमा गएर पढ्न समस्या हुने गरेको छ ।