• १३ साउन २०८१, आइतबार

एकै पटक रोपियो सात हजारभन्दा बढी स्याउका बोट

blog

बडीमालिका समाचारदता

मार्तडी, चैत ९ गते । बाजुरामा एकै पटक सात हजार बढी स्याउका बोट रोपिएको छ । बुढीनन्दा नगरपालिका–९, अँगाउपानीमा ११५ जना परिवारको सहभागितामा एकै पटक सात हजार तीन सयभन्दा बोट स्याउ रोपेर सामुदायिक बृहत् स्याउ बगैँचा स्थापना गरिएको हो । कृषि ज्ञान केन्द्र बाजुराको बृहत् विशेष उत्पादन कार्यक्रम अन्तर्गत बुढीनन्दा नगरपालिकाले करिब २५ हेक्टरको एउटै क्लस्टरमा स्याउ रोपेर सामुदायिक स्याउ बगैँचा स्थापना गरेको हो ।  

सोही स्थानमा आगामी वर्ष थप सात हजार सात सय बोट थप गरेर १५ हजार बोटको स्याउ बगैँचा स्थापना गर्ने लक्ष्य रहेको निमित्त कार्यालय प्रमुख मीनप्रसाद जैसीले बताउनुभयो । 

सोही बृहत् स्याउ बगैँचाबाट अबको पाँच/छ वर्षपछि एक बोटबाट ३० किलोग्राम मात्रै स्याउ फलेमा पनि चार हजार पाँच सय क्विन्टल स्याउ उत्पादन भएर किलोको एक सय रुपियाँका दरले बिक्री गर्न सकेमा करिब चार करोड ५० लाख रकम ११५ कृषक परिवारको हातमा पर्ने कृषि ज्ञान केन्द्र बाजुराको अनुमान छ । अँगाउपानी मार्तडी–कोल्टी सडकको आसपासको क्षेत्र भएकाले कृषि पर्यटनमार्फत निकै नै लाभ लिन सकिने कृषि ज्ञान केन्द्र बाजुराको बृहत् विशेष उत्पादन कार्यक्रम कार्यान्वयन गरेर कृषकलाई आत्मनिर्भर बनाउन लागिएको वडाध्यक्ष मानबहादुर रावतले बताउनुभयो । 

उहाँले भन्नुभयो, “यहाँका अधिकांश कृषकले स्याउ खेती गर्ने गरेको भए पनि व्यावसायिक रूपमा थोरैले मात्रै सो खेती गर्ने गरेको र सो क्षेत्र कृषि प्राविधिकको जाँचबुझ र आवश्यक परामर्शबाट खेती गरेर कृषकले मनग्गे आम्दानी लिन सक्ने भएकाले कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो ।” 

‘फलफूल रोपौँ, कृषक पेन्सन कार्यक्रममा सहभागी बनौँ’ भन्ने अभियानका साथ आफूहरू अगाडि बढेको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक बोहराले बताउनुभयो ।  बृहत् स्याउ बगैँचा स्थापनाका लागि बृहत् विशेष उत्पादन क्षेत्र सञ्चालक समिति, हरित स्वयंसेवक, वडाध्यक्षलगायत जनप्रतिनिधि, कृषि विकास शाखा बुढीनन्दालगायत स्थानीय कृषकलाई सक्रिय रूपमा परिचालन गरिएको छ ।