• १७ वैशाख २०८१, सोमबार

एसइई परीक्षाका लागि १७ वटा केन्द्र निर्धारण

blog

सदरमुकाम फुङ्लिङस्थित शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत ८ गते । ताप्लेजुङमा यही चैत १५ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि १७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका अनुसार एसइई परीक्षा सञ्चालनका लागि नयाँ एक समेत १७ वटा केन्द्र निर्धारण गरिएको हो ।

यस वर्ष नयाँ परीक्षा केन्द्रका रूपमा फक्ताङ्लुङ गाउँपालिकास्थित सरस्वती माध्यमिक विद्यालय तापेथोकलाई थप गरिएको छ । बाँकी पुरानै विद्यालयलाई परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईले जानकारी दिनुभयो । इकाई प्रमुख भट्टराईका अनुसार फुङ्लिङ नगरपालिकामा भानुजन माध्यमिक विद्यालय, युवा वर्ष माध्यमिक विद्यालय, बाल सुबोधिनी संस्कृत माध्यमिक विद्यालयलाई परीक्षा केन्द्र निर्धारण गरिएको छ । 

यस्तै फुङ्लिङ नगरपालिकामा सिद्धकाली माध्यमिक विद्यालय र जनता माध्यमिक विद्यालयमा केन्द्र निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो । फक्ताङ्लुङ गाउँपालिकाको सिँवा माध्यमिक विद्यालय, मिक्वाखोला गाउँपालिकाको मोती माध्यमिक विद्यालय, मेरिङ्देन गाउँपालिकाको त्रिभुवन माध्यमिक विद्यालयलाई केन्द्र तोकिएको छ । सिरिजङ्घा गाउँपालिकास्थित सिनाम माध्यमिक विद्यालय, तेल्लोक माध्यमिक विद्यालय र गणेश माध्यमिक विद्यालयमा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

पाथीभरा याङ्वरक गाउँपालिकाको थेचम्बु माध्यमिक विद्यालय, सिदिङ्वा गाउँपालिकाको भन्ज्याङ माध्यमिक विद्यालय, मैवाखोला गाउँपालिकाको मैवाखोला माध्यमिक विद्यालयलाई परीक्षा केन्द्र तोकिएको छ । आठराई त्रिवेणी गाउँपालिकाको सरस्वती माध्यमिक विद्यालय र दुर्गा माध्यमिक विद्यालयमा परीक्षा केन्द्र निर्धारण गरिएको छ । 

यता ताप्लेजुङबाट एक हजार ६९५ जना नियमित, ग्रेडवृद्धि तर्फका ६९ र प्राविधिक धारका १२६ गरी कुल एक हजार ८९० जना विद्यार्थीले यस वर्ष एसइई परीक्षामा सहभागिता जनाउने छन् । परीक्षा सञ्चालनका लागि सम्बन्धित विद्यालयका प्रधानाध्यापक वा वरिष्ठ शिक्षकलाई केन्द्राध्यक्षको जिम्मेवारी दिइने तयारी रहेको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।