• १५ वैशाख २०८१, शनिबार

डढेलो र अन्य कारणले १६ घर जले

blog

पाथीभरा याङ्वरक गाउँपालिकास्थित वनमा लागेको डढेलोले जलेर नष्ट भएको स्थानीयको घर । तस्बिर :चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, चैत ८ गते ।
ताप्लेजुङमा फागुन महिनायता डढेलो र अन्य कारणबाट सोह्र वटा घर जलेर नष्ट भएका छन् । प्रहरीका अनुसार सुख्खा मौसमसँगै वनमा लागेको डढेलो, भान्साकोठा र विद्युत् सर्ट भएरजस्ता कारणबाट आगलागी भई उक्त सङ्ख्यामा घर जलेर नष्ट भएका हुन् ।

सुख्खा मौसमसँगै हिउँदभर वर्षा नभएकाले डढेलो र आलगालीका घटना वृद्धि भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको तथ्याङ्कले देखाएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार फागुनयता मङ्गलबारसम्ममा वनमा लागेको डढेलोको आगोले १२ वटा र अन्य कारणबाट सुरु भएको आगोले चारवटा घर जलेर नष्ट भएका छन् ।

वनमा लागेको डढेलोका कारण चैतको पहिलो साताको अवधिमा मात्र ११ वटा घर जलेर नष्ट भएको प्रहरीको तथ्याङ्क छ । यस्तै चैतमा एक घर अन्य कारणबाट सुरु भएको आगोले जलेको छ भने गएको फागुन महिनामा डढेलोले एक घर र अन्य भान्सा कोठा तथा विद्युत् सर्ट भएर सल्केको आगोले तीनवटा घर नष्ट भएको छ ।

यसरी डढेलो र अन्य कारणले सुरु भएको आगोले झण्डै डेढ दर्जन घर जलेर नस्ट भए पनि मानवीय क्षति भने हुन नपाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले बताउनुभयो । उहाँका अनुसार घरसँगै नजिक रहेका पशुचौपायाका गोठ तथा ग्वालीहरु आगलागी भएका कारण केही पशुपन्छी जलेका छन् । अधिकांस आगलागी घटनाका क्षतिको प्रारम्भिक विवरण आए पनि यथार्थ विवरण आइनसकेको उहाँले जानकारी दिनुभयो ।

यसैगरी फागुनयता विभिन्न क्षेत्रमा गरी करिब एक दर्जन ठाउँका वनमा डढेलो लागेको छ । राष्ट्रिय तथा सामुदायिक वनहरुमा लागेको डढेलोका कारण रुख, बोट, बिरुवा तथा बहुमूल्य जडीबुटी र वनस्पतिमा क्षति पुगेको प्रहरीले जनाएको छ । त्यस्तै वन्यजन्तुलाई असर पुगेको छ भने सूक्ष्म जीवहरु जलेर नष्ट भएका छन् ।

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल ताप्लेजुङका अध्यक्ष सुरज ओझाले भने लामो खडेरीका कारण करिब चार दर्जनको हाराहारीमा विभिन्न क्षेत्रका वनमा डढेलो लागेको बताउनुभयो । उहाँले फागुनदेखि चैत महिनाको पहिलो हप्ता सम्ममा करिब आठ सयदेखि एक हजार हेक्टर क्षेत्रफल बराबरको वन जङ्गलमा डढेलो लागेको जानकारी दिनुभयो । पछिल्लो समय डढेलोका घटना वृद्धि हुने क्रम रहेकोमा मङ्गलबारदेखि पानी पर्न थालेकाले डढेलो नियन्त्रणमा सहयोग पुगेको उहाँको भनाइ छ ।