मानवीय जीवन सधैँ सङ्कट र त्रासको सेरोफेरोमा गुज्रिरहेको हुन्छ । एकाएक आउने प्राकृतिक विपत्तिका कारण मात्र नभएर आफ्नै असावधानीका कारण पनि सधैँ असुरक्षाको जोखिम हुन्छ । भूकम्पीय जोखिमको त कुरै भएन, वर्षामा बाढीपहिरोको त्रास, हिउँदमा सुक्खा र खडेरीको त्राससँगै आगलागीबाट हुने अकल्पनीय जनधनको क्षतिका कारण बाह्रै महिना जस्तै असुरक्षाको अवस्था छ । प्राकृतिक विपत्तिलाई त टारौँ भनेर पनि टार्न सकिन्न तर बेलैमा सावधानी अपनाइयो भने क्षति न्यूनीकरण गर्न भने सकिन्छ । मानवीय असावधानीका कारण हुने घटनाबाट जोगिन भने सावधानी अपनाइँदा जोगिन सम्भव हुन्छ । प्रायः हिउँददेखि वसन्त ऋतु वरपर हुने आगलागीका कारण बर्सेनि मानवीय क्षतिका साथै अर्बौं रुपियाँको भौतिक संरचना एवं वनपैदावार नष्ट हुने गरेको छ । यस वर्ष पनि सुक्खा मौसम सुरु भएसँगै पहाड तथा मधेश/तराईमा आगलागीका सयौँ घटना सार्वजनिक भइसकेका छन् । यी घटनामा परेर मानवीय क्षति हुनुका साथै सयौँ परिवार घरबारविहीन भएका छन् ।
मुलुकको कुल क्षेत्रफलको करिब ४५ प्रतिशत भूभाग ओगटेको वन तथा बुट्यान क्षेत्रमा यतिबेला जताततै डढेलो लागेको समाचार सार्वजनिक भइरहेका छन् । ‘हरियो वन, नेपालको धन’ भनिए पनि डढेलोका कारण जीवजन्तुका साथै वनपैदावरमा पुगेको क्षतिको आकलन गर्न सकिने अवस्था देखिँदैन । यस पटक हिउँदे वर्षामा कमी हुँदा गत फागुनदेखि सुरु भएको डढेलो र आगलागीका घटना देशव्यापी रूपमा विस्तार हुनु आमनेपालीका लागि चिन्ताको विषय बनेको हो । पछिल्लो २४ घण्टामा मात्रै आगलागीका ५५ वटा घटना भएका छन् । यी घटनामा परेर तीन जनाको ज्यान जानुका साथै केही घाइते पनि भएका छन् ।
लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा १२ दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । नेपाली सेनाले निभाउने प्रयास गरिरहे पनि जटिल भूबनोटका कारण डढेलो नियन्त्रणभन्दा बाहिर फैलिरहेको छ । पाल्पाका पाँच वटा सामुदायिक वनमा सात दिनदेखि लागेको डढेलो पनि नियन्त्रणमा आउन सकेको छैन । मोरङ, रङ्गेलीको बाबुसाहेब टोलमा भएको आगलागीमा परेर २८ घरपरिवारको बिचल्ली भएको समाचारले उद्वेलित बनाइरहेको छ । विद्युत् प्रसारण लाइनका तार एकापसमा ठोक्किँदा विद्युत् सर्ट भई तारमुनिको घरमा आगो सल्किएको स्थानीयको भनाइ छ । यसै गरी पाँचथरको फाल्गुनन्द गाउँपालिकाको पञ्चमी बजारमा भएको आगलागीमा तीन वटा घर नष्ट भएका छन् । तेह्रथुमको फेदापमा जङ्गलबाट सल्केको आगो बस्तीमा आइपुगेर २० घर नष्ट भएका छन् । झापामा एक साताको अवधिमा १७ वटा आगलागीको घटनामा करोडौँको भौतिक क्षति भएको प्रारम्भिक मूल्याङ्कन गरिएको छ । यी त सार्वजनिक भएका प्रतिनिधि घटना मात्र हुन् । हिउँद लागेसँगै आगलागी र डढेलोसम्बन्धी विपत्का घटना बढ्ने भए पनि बेलैमा आवश्यक सावधानी नअपनाउँदा बर्सेनि क्षतिको दर वृद्धि भइरहेको देखिन्छ ।
विगत १२ वर्षको तथ्याङ्कलाई हेर्दा आगलागीकै कारण ठुलो सङ्ख्यामा मानवीय र आर्थिक क्षति मुलुकले बेहोरेको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको तथ्याङ्कमा उल्लेख भए अनुसार यस अवधिमा २५ हजार २४० वटा आगलागी र डढेलोका घटना भएका छन् । यी घटनामा परेर एक हजार एक सयभन्दा बढीको ज्यान गएको देखिन्छ । मानवीय क्षति मात्रै नभएर औसतमा एक वर्षमा दुई अर्ब रुपियाँभन्दा बढीको आर्थिक क्षति आगलागीका कारण हुने गरेको छ । यस अवधिमा तीन हजार ३२६ जना घाइते तथा ३३ हजार १७५ घरपरिवार प्रत्यक्ष प्रभावित बनेका छन् ।
वनजङ्गलमा होस् कि घरमा, आगो आफैँ उब्जिने होइन । दाउरा तथा घाँसको लोभले वनजङ्गल आसपासका स्थानीयले डढेलो लगाउने गरेकोसमेत सार्वजनिक हुने गरेको छ । केटाकेटीले अनजानमा तथा चुरोट, बिँडी खानेका कारण पनि आगो लाग्ने गरेको छ । घरमा ग्यास चुहिएर, विद्युत् सर्ट भएर हुने गरेका आगलागीका घटना पनि उत्तिकै छन् । वनजङ्गलमा वन हेरालुको व्यवस्था गर्ने, सुरक्षाकर्मीको नियमित गस्तीका साथै अग्नि नियन्त्रण रेखा कायम गर्ने हो भने डढेलोका घटनामा कमी आउने वातावरणविद्को भनाइलाई सम्बन्धित निकायले ध्यान दिन आवश्यक देखिन्छ । विपत् आइपरेपछि मात्र चासो देखाउने तर बेलैमा सचेतना, सावधानी तथा सुरक्षाका उपाय अवलम्बन नगरिने प्रवृत्ति अन्त्य गरी जनधनको क्षति हुनबाट जोगाउन सबै पक्षले सतर्कता अपनाउन जरुरी छ ।