• २१ पुस २०८१, आइतबार

रोगबाट बच्न मुखको नियमित परीक्षण

blog

काठमाडौं,चैत ७ गते । मुख शरीरको प्रवेशद्वार मात्र नभई ऐना पनि हो । मुख स्वास्थ्यको सरसफाइ सम्बन्धी जनचेतना नहुँदा धेरै जटिल स्वास्थ्य समस्या निम्तने चिकित्सक बत्ताउँछन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीका अनुसार ओठदेखि भित्र घाँटीसम्मको भागलाई मुख भनिन्छ । दाँत, गिजा, भित्री गाला, भित्री ओठ, तालु, जिब्रो, च्यापु, मुख खोल्न वा बन्द गर्ने जोर्नी मुखभित्र पर्छन् । डा.बुढाथोकीले मुखमा विभिन्न सामान्यदेखि जटिल स्वास्थ्य समस्या देखिने बताउनुहुन्छ । 

दाँत किराले खाने, दाग देखिने, गिजा सुनिने, दाँत कमजोर हुने, घाउ खटिरा आउने, गिजाबाट रगत आउने, गालामा दाग धब्बा देखिने, गिजा माथि सर्ने, दाँत खिइने र मुखको क्यान्सर हुने जस्ता मुखमा समस्या देखिने डा.बुढाथोकी बताउनुहुन्छ । 

 मुखमा रोग ९५ प्रतिशत मुखको रोग सरसफाइको कमीले गर्दा लाग्ने र पाँच प्रतिशत मुखका रोग वंशाणुगत हुने डा. बुढाथोकी बताउनुहुन्छ । 

विश्वका ८० देखि ९० प्रतिशत स्कुले विद्यार्थीमा दन्त सडन भएको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कमा उल्लेख छ । कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्रले उपत्यकाका  ६८ वटा विद्यालयमा गरेको अनुसन्धानका क्रममा ७३ प्रतिशत बालबालिकामा दाँत किराले खाने समस्या देखिएको पाइएको हो । नेपालमा २० देखि २५ प्रतिशतमा दाँत खिइने समस्या देखिने गरेको डा.बुढाथोकी बताउनुहुन्छ । मुखको क्यान्सर सबै भन्दा बढी देखिने क्यान्सर मध्ये एक हो । मुखको स्वास्थ्यले अन्य अङ्गको स्वास्थ्यलाई पनि असर पार्ने हुँदा मुखको ख्याल गर्न डा. बुढाथोकीको सुझाव छ ।  

मुख स्वास्थ्य ख्याल नगर्दा कस्ता समस्या हुन्छन् ?

डा. बुढाथोकीका अनुसार मुख स्वास्थ्यको हेलचेक्राई गर्दा मुखका साथै अन्य अङ्गमा पनि असर गर्छ । मुख अस्वास्थ्य भएमा मुखमा भएको फोहोर र कीटाणु खानाको माध्यमबाट पेटमा गई विभिन्न अङ्गमा असर गर्ने डा.बुढाथोकी बताउनुहुन्छ ।

मुख स्वास्थ्यको हेलचेक्राई गर्दा मुटु जन्य रोग जस्तै,  हृदयाघात, स्ट्रोक, उच्चरक्तचाप, मधुमेह जस्ता समस्या, देखिन्छन् । त्यसका अलावा मिर्गौला, कलेजो सम्बन्धी समस्या निम्तने उहाँ बताउनुहुन्छ । 

त्यस्तै, गर्भवतीको दाँत तथा मुख स्वास्थ्य राम्रो नभएमा समय अगावै बच्चा जन्मिने, गर्भपतन हुने, जन्मिएको बच्चामा विभिन्न समस्या देखिने, कम तौलको हुने जस्ता समस्या देखिने डा.बुढाथोकी बताउनुहुन्छ । 

स्वादका लागि नखाऔँ

बुढाथोकीले जिब्रोको स्वादका जे मन लाग्यो त्यही खानेकुरा नखान सुझाव छ । उहाँले भन्नुभयो, “मुख शरीरको प्रवेशद्वार हो । मुख अस्वास्थ्य हुँदा शरीरका अन्य अङ्गमा असर गर्छ त्यसैले जिब्रोको स्वादका लागि जे पायो त्यही खानेकुरा खानु हुँदैन।” 

उहाँका अनुसार मुखबाट खाएको खानेकुराले फोक्सो, मस्तिष्क, मिर्गौला, मुटुमा लगायतका अङ्गमा असर गर्ने गर्छ । अन्य स्वास्थ्य समस्या निम्तन नदिन स्वास्थ्यकर खानेकुरा खानुका साथै मुख स्वास्थ्यको स्याहार गर्न उहाँको सुझाव छ । 

 नियमित मुख परीक्षण गर्दा धेरै रोग पत्ता लाग्छ 

धेरै रोगको लक्षण मुखबाट पत्ता लाग्ने हुँदा मुख स्वच्छतामा ध्यान दिन उहाँले आग्रह गर्नुभयो । आम मानिसमा जनचेतनाको अभावले गर्दा मुखको स्वास्थ्य ख्याल नगर्दा विभिन्न अन्य अङ्गमा असर परिरहेको उहाँको भनाइ छ

उहाँ भन्नुहुन्छ, “मुख शरीरको ऐन हो । मुखको सरसफाइ ध्यान दिइयो भने धेरै रोग लाग्नबाट बच्न सकिन्छ । नियमित मुखको परीक्षण गरियो भने मुखबाट नै शरीरका अन्य अङ्गमा रोग लागे नलागेको पत्ता लगाउन सकिन्छ ।” 

शरीरका विभिन्न अङ्गमा असर गरेमा पनि मुख गन्हाउने समस्या निम्तने डा. बुढाथोकी बताउनुहुन्छ । उहाँका अनुसार शरीरका अङ्गहरूमा भएको असर अनुसार सासको गन्ध पनि फरक फरक हुने गर्छ । 

 मुखको स्वास्थ्य कसरी स्याहार गर्ने ?

मुख स्वास्थ्यको सरसफाइमा ख्याल राख्ने हो भने ९५ प्रतिशत समस्याबाट छुटकार पाइन्छ ।खाना खाइसकेपछि बिहान बेलुका दुई पटक दाँत माझ्नुपर्छ । अन्य समयमा खाना खाइसकेपछि सफा पानीले कुल्ला गर्न उहाँको सुझाव छ । 

दाँत माझ्न नजान्दा दाँत तथा मुखमा समस्या निम्तने गर्छ । कुनै पनि खानेकुरा दाँतमा अड्किएपछि दन्त बिग्रन आठदेखि १० घण्टा लाग्ने गर्छ । दाँत माझ्न प्रयोग गर्ने मन्जन फोलोराइड युक्त प्रयोग गर्न डा.बुढाथोकीको सुझाव छ । 

डा.बुढाथोकीका अनुसार फोलोराइडले दाँतको सुरक्षा गर्नुका साथै दाँतलाई बलियो बनाउनुका साथै किरा लाग्नबाट बच्चाउने गर्छ । 

सानो बच्चालाई सानो केराउको दाना र ठुलो मानिसले ठुलो केराउको दाना जति मन्जन ब्रसमा राख्न उहाँको सुझाव छ । उहाँ भन्नुहुन्छ, “मन्जन प्रयोग गर्दा ब्रस पहिलो पानीले भिजाउने, त्यसपछि केराउको दाना जति मन्जन राख्ने र औलाको सहायताले मन्जनलाई ब्रस भित्र छिराउने । तर तलमाथि गरेर ब्रस गर्ने । ”

मुख स्वास्थ्यको ख्याल राख्न खैनी, चुरोट, गुट्खा बढी सेवन नगर्न र धेरै साह्रो खानेकुरा नखान डा.बुढाथोकीको सुझाव छ । 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।