• १३ साउन २०८१, आइतबार

मधेशबाट ८१ हजार ७६८ विद्यार्थी एसईई दिने

blog

फाइल तस्बिर

विजयकुमार साह 

ढल्केबर, चैत ६ गते । मधेश प्रदेशबाट यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा क ८१ हजार ७६८ जना विद्यार्थी सहभागी हुने भएका छन् । एसइई चैत १५ गतेदेखि सुरु हुनेछ । 

शिक्षा विकास निर्देशनालय जनकपुरका अनुसार आठ जिल्लामा गरी २९५ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ भने २९५ केन्द्राध्यक्ष, ५३० सहायक केन्द्राध्यक्ष, चार हजार ९२ निरीक्षक, ८०७ परीक्षा सहायक, एक हजार ६३९ जना कार्यालय सहयोगी गरी जम्मा सात हजार ६५८ जना कर्मचारी खटाइने छ । 

परीक्षामा मधेश प्रदेशको आठ जिल्लामध्ये सबभन्दा बढी विद्यार्थी धनुषामा छन् । यहाँ ४८९ जना प्रविधिक तर्फका गरी १२ हजार २१४ जना विद्यार्थी एसईई दिने शिक्षा विकास निर्देशनालय जनकपुरले जनाएको छ । धनुषामा परीक्षार्थीका लागि ४३ वटा परीक्षा केन्द्र तोकिएको छ । 

यसै गरी, सबभन्दा कम विद्यार्थी सङ्ख्या सप्तरीमा छ । यहाँ नौ हजार ३२३ जना विद्यार्थी एसईईमा सामेल हुने भएका छन् । त्यस्तै, सिराहामा १० हजार ९२३, महोत्तरीमा नौ हजार ४३१, सर्लाहीमा १० हजार ८९६, रौतहटमा ९ हजार ४६९, बारामा नौ हजार ४४४ र पर्सामा १० हजार ६८ विद्यार्थीले एसईईमा सहभागी हुने छन् । 

शिक्षा विकास निर्देशनालय जनकपुरका निर्देशक दिलीपकुमार ठाकुरले परीक्षाका लागि आवश्यक तयारी भइरहेको बताउनुभयो । आवश्यक तयारी करिब तयारी पुरा भएका बताउँदै मधेश प्रदेशका सबै जिल्लामा शिक्षा विकास तथा समन्वय इकाई कार्यालयमा उत्तरपुस्तिका र प्रश्नपत्र जिल्लास्थित जिल्ला प्रहरी कार्यालयमा पठाइएको जानकारी दिनुभयो । 

निर्देशक ठाकुरले परीक्षालाई मर्यादित, अनुशासित र निष्पक्ष रुपमा सम्पन्न गराउन आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला परीक्षा समन्वय समितिले निरीक्षण, अनुगमन गरिने बताउनुभयो । त्यस्तै, मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्रालय, शिक्षा विकास निर्देशनालय, शिक्षा तालिम केन्द्रलगायतका निकायलाई समेटेर प्रदेशस्तरीय अनुगमन टोली बनाएर अनुगमन गरिने जानकारी दिनुभयो ।