• २१ वैशाख २०८१, शुक्रबार

मतभेदलाई मतैक्यमा बदलेर अगाडि बढेका छौँ

blog

धनकुटाका सात पालिकामध्येको एक पाख्रीबास नगरपालिकामा २२ हजार ७८ जनसङ्ख्या रहेको छ । यो नगरपालिकाको प्रमुखमा ज्ञानबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । पालिका प्रमुखको भूमिकामा उहाँको यो पहिलो अनुभव हो । स्वास्थ्य, शिक्षा, रोजगार, खानेपानीको सुविधा उपलब्ध गराउनु, बसाइँसराइ रोक्नु र पूर्वाधार निर्माण गर्नु यहाँको मुख्य चुनौती हो । कृषि, पर्यटन यो पालिकाको मुख्य आधार हो । यी विषयमा नगरपालिकाका आगामी योजना, नीति रणनीतिका बारेमा नगरपालिका प्रमुख ज्ञानबहादुर गुरुङसँग गोरखापत्र दैनिकका धनकुटा समाचारदाता कविराज घिमिरेले गर्नुभएको कुराकानी :

नगरपालिका प्रमुखमा निर्वाचित भएपछि यहाँको पहिलो वर्षको अनुभव कस्तो रह्यो ?

पहिलो वर्षको अनुभव महìवपूर्ण रह्यो । पालिका बुझ्ने, सिक्ने, नयाँ अनुभव बटुल्ने अवसर पाइयो । यहाँका समस्या बुझ्न पाइयो । 

पहिलो वर्ष के कस्ता उपलब्धि हासिल भए त ?

हामी निर्वाचित भएपछि पालिकामा धेरै महìवपूर्ण कार्यको सुरुवात गरेका छौँ । सबैभन्दा सुरुमा हामीले प्रशासनिक सुधार गर्न लागिप¥यौँ । अघिल्ला वर्षमा सुरुवात गरेका तर पूरा हुन नसकेर अलपत्र परेका योजनालाई पूर्णता दिन लागिप¥यौँ ।  आगामी चार वर्ष के के गर्ने, कसरी गर्ने भन्ने कुराको छनोट गरी त्यसका लागि स्रोत खोजी गरेका छौँ । गाउँ गाउँमा सडक त बनेका थिए तर गाडी गुड्न सक्ने अवस्थामा थिएनन् । नगरपालिका त्यस्ता सडकको स्तरोन्नति गर्न, खानेपानीको समस्या समाधान गर्न लागिपरेको छ । आधारभूत अस्पताल पूरा गरी सञ्चालन गर्ने कार्य पनि भइरहेको छ । यस्तै भौतिक र मानवीय विकासका कामको सुरुवात भएको छ । 

नगरपालिका प्रमुखका रूपमा काम गरिरहँदा यहाँले के कस्ता चुनौतीको सामना गर्नु परेको छ ?

नगरपालिकामा विभिन्न राजनीतिक आस्थाका व्यक्ति जनप्रतिनिधिका रूपमा आएकाले पहिलो वर्ष योजना र नीतिहरू बनाउँदा हामीबिच निकै मतभेद देखिने गरेको थियो तर विस्तारै सबै मतभेदलाई मतैक्यमा बदलेर अगाडि बढेका छौँ ।  अहिले खासै चुनौती छैन । बजेटको कमी, पालिकाको आन्तरिक आय न्यून, भौगोलिक विकटताका कारण पूर्वाधारमा एकै पटक विकास गर्न सकिने अवस्था छैन । सीमित स्रोतसाधनले जनताको असीमित आवश्यकता पूरा गर्नुपर्ने अवस्था छ । यहाँबाट हुने बढ्दो बसाइँसराइलाई रोक्न प्रभावकारी नीति बनाउनुपर्ने छ । कृषि क्षेत्रमा अहिले देखिएको चुनौती भनेको बाँदर नियन्त्रण गर्नु हो । यो ठुलो चुनौतीका रूपमा रहेको छ । हामी यी सबै चुनौतीलाई क्रमशः समाधान गर्ने प्रतिबद्धता अनुसार अगाडि बढिरहेका छौँ ।

नगरपालिकाको प्रमुख भइसकेपछि यहाँले पहिल्याउनु भएका पालिकाका प्रमुख  आवश्यकता के के हुन् ?

अहिले देखिएको प्रमुख आवश्यकता भनेको खानेपानीको उचित व्यवस्थापन गर्नु नै हो । ग्रामीण क्षेत्रको पालिका भएकाले सडक विस्तार र सुधार गर्नु पनि उत्तिकै जरुरी छ । सर्वसुलभ र विश्वसनीय स्वास्थ्यको सुनिश्चितता गर्नु छ । शिक्षामा गुणस्तर वृद्धि गर्दै अगाडि बढ्नुपर्ने छ । व्यावसायिक कृषि तथा पशुपालन पकेट क्षेत्र बनाएर यस पालिकालाई पर्यटनसँग जोड्नुपर्ने जस्ता आवश्यकता हामीले औँल्याएका छौँ ।  

पालिकामा अहिले पहिचान गरिएका समस्यालाई कसरी समाधान गर्ने योजना बनाउनुभएको छ ?

हामी स्थानीय तहको स्रोतसाधनबाट गर्न सकिने काम यहीँबाट गरिरहेका छौँ । यद्यपि हाम्रो आन्तरिक स्रोत निकै कम छ । कतिपय विषयमा प्रदेश र सङ्घीय सरकारसँग समन्वय र सहकार्य गर्नुपर्ने हुनाले सोही अनुरूप गरिरहेका छौँ तर देशमा छिटो छिटो सरकार परिवर्तन भइदिँदा कतिपय हामीले गरेका निर्णय कार्यान्वयन गर्न पनि निकै सकस झेल्नुपर्ने हुँदोरहेछ । 

नगरपालिकाको अबका योजना के के छन् ?

मेरो कार्यकालमा यस नगरपालिकालाई कृषि र पर्यटनसँग जोडेर नमुना पर्यटकीय क्षेत्र निर्माण गर्ने लक्ष्य छ । यसको सुरुवात पनि भइसकेको छ । सबै नगरवासीलाई  खानेपानी सुविधा पु¥याउनु छ । पालिकालाई गाउँ गाउँसम्म जोड्न बाटो बनाउनु र स्तरोन्नति गर्नु छ । समग्रमा पालिकालाई दिगो विकासको बाटोतर्फ उन्मुख गर्ने मुख्य योजना हो । पानी पोखरीहरू निर्माण गरेर पानी संरक्षण गर्ने योजनालाई थप प्रभावकारी बनाउनु छ । यहाँको प्रशासनलाई चुस्त दुरुस्त बनाएर काम गर्न थालिएको छ । कृषकको सम्पत्ति सुरक्षित गर्न पशुधनलाई नगरपालिकाले बिमा गरिदिएको छ । ज्येष्ठ नागरिक, सुत्केरी, अपाङ्गता भएका व्यक्तिलाई एम्बुलेन्स प्रयोगमा छुट दिएका छौँ । यसको दायरा अझै बढाउन जरुरी छ ।