कलैया समाचारदाता
बारा, चैत ३ गते । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आउने बजेटमा निजगढ विमानस्थल पहिलो प्राथमिकतामा रहने बताउनुभएको छ । महागढीमाई नगरपालिका–१०, गन्जभवानीपुरमा कलेज निर्माण एवं भूमि संरक्षणका लागि भइरहेकोे लवकुश प्राणप्रतिष्ठा यज्ञको शुक्रबार उद्घाटन गर्दै मन्त्री यादवले यस्तो बताउनुभएको हो । उहाँले बाराको विकासका लागि सङ्घीय सरकारले दुइटा विश्वविद्यालयको बजेटसमेत विनियोजन गरिसकेको बताउनुभयो । राजर्षि जनक आइटी विश्वविद्यालय र कृषि विश्वविद्यालय स्थापना हुने र त्यसका लागि पर्याप्त जग्गाको खोजीको जिम्मा जिल्लाका १६ स्थानीय पालिकालाई समेत दिइसकेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आउने दिनमा बारा सबैभन्दा विकसित जिल्ला हुने छ ।” उहाँले यसै क्षेत्रमा रहेको गढीमाई मन्दिरलाई पर्यटकीय केन्द्र बनाएर स्वदेशी र विदेशी पर्यटक भिœयाउन प्रदेश सरकारले काम गरिरहेको पनि बताउनुभयो ।
मन्त्री यादवले जितपुर सिमरा उपमहानगरपालिकाको एरियामा औद्योगिक कोरिडोर स्थापना अभियानमा केन्द्र सरकार लागेको जानकारी दिनुभयो । उहाँले कृषिको विकासका लागि विद्युतीकरण र मलखादको कारखाना स्थापना गर्न सरकारले पहल गरिरहेको बताउनुभयो ।