अनेक धातुबाट निर्मित मेसिनरी चिजलाई पनि राम्रोसँग सञ्चालन गरिएन भने जुनसुकै बेला बिग्रिन सक्छ भने अन्नपानीको मानवीय शरीरलाई सन्तुलनमा राख्नु त झनै अपरिहार्य हुन्छ । थोरै मात्र लापरबाही गरियो भने जुनसुकै बेला बिरामी पर्ने सम्भावना हुन्छ । हाम्रो शरीर सञ्चालनका महत्वपूर्ण अङ्गमध्ये कुनै एक अङ्गले काम गर्न छोडिदियो भने अन्य सबै अङ्ग तन्दुरुस्त हुँदाहुँदै पनि दीर्घरोगी बन्ने मात्र नभएर मृत्युको मुखमा पुग्न सक्छौँ । ‘हाम्रो स्वास्थ्य हाम्रै हातमा’ छ भन्ने जान्दाजान्दै पनि आहारबिहारमा ध्यान नपुर्याउँदा अनेक रोगको सामना गर्नु परिरहेको हुन्छ । पछिल्लो समयमा विश्वमै गम्भीर समस्या बन्दै गएको मिर्गौलासम्बन्धी रोगले नेपालमा पनि विकराल रूप लिन थालेको देखिएको छ । कुल जनसङ्ख्याको १० प्रतिशत अर्थात् करिब ३० लाख मानिसमा कुनै न कुनै रूपको मिर्गौलासम्बन्धी रोग भएको विभिन्न अध्ययनबाट देखिनुले समस्याको जटिलतालाई पुष्टि गर्छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को अध्ययन प्रतिवेदन अनुसार विश्वमा ८५ करोड मानिस मिर्गौलासम्बन्धी रोगबाट पीडित छन् । मिर्गौलासम्बन्धी रोगको बढ्दो अवस्थालाई दृष्टिगत गर्दै संयुक्त राष्ट्रसङ्घले प्रत्येक वर्षको मार्च १४ तारिखलाई अन्तर्राष्ट्रिय मिर्गौला दिवसका रूपमा मनाउन थालेको विदित छ । विश्वभर सचेतना अभियानका रूपमा मनाइने कार्यक्रमको यस वर्षको नारा ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ रहेको छ । यो नाराले रोग लागिसकेपछिको उपचार र पथ पहरेजलाई जोड दिएको भए पनि मुख्य कुरा त रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै महìवपूर्ण हुन आउँछ । यसै तथ्यलाई हृदयङ्गम गरेर नै हाम्रो स्वास्थ्य, हाम्रै हातमा भनिएको हो । कम्तीमा वर्षमा एक पटक स्वास्थ्य परीक्षण गर्ने, उच्च सोडियमयुक्त खानेकुरा (तारेको, भुटेको, मैदायुक्त खाना, जङ्कफुड) नखाने, शारीरिक सक्रियता कायम राख्ने, दुखाइ कम गर्ने पेनकिलर औषधीहरू सेवन नगर्ने, धूमपान तथा मद्यपान नगर्ने, मोटोपना हुनबाट सतर्क रहने तथा मधुमेह र उच्च रक्तचाप भएको खण्डमा उपचारमा लापरबाही नगर्ने हो भने मिर्गौला रोग लाग्नबाट जोगिन सकिने चिकित्सकको भनाइलाई ध्यान दिनु जरुरी छ ।
शरीरमा दुई वटा मिर्गौला हुने भए पनि रोग लागिसकेपछि दुवैले काम गर्न छोड्छन् । मिर्गौलाले शरीरमा तरल पदार्थ र लवणको मात्राको सन्तुलन कायम राख्नुका साथै शरीरलाई आवश्यक अनेकथरी तìवको मात्रा मिलाउने जिम्मेवारी बहन गरिरहेको हुन्छ । पानीको मात्रालाई सन्तुलन मिलाउने, रगत शुद्धीकरण गर्ने र पिसाबको माध्यमबाट विकारलाई बाहिर पठाउने महìवपूर्ण जिम्मेवारी बहन गरिरहेको हुन्छ । रक्तचाप नियन्त्रण, भिटामिन डी र रातो रक्तकोषिका निर्माण गर्ने जस्ता जटिल कार्य कुशलतापूर्वक गर्ने कर्मी स्वयम् अस्वस्थ भएको खण्डमा उसको बेलैमा उपचार गर्नुपर्नेतर्फको सचेतना अभियान नै दिवसको मूल मर्म भएको बुझ्न आवश्यक छ ।
मिर्गौला रोगसँग सम्बन्धित चिकित्सकका अनुसार सानोतिनो समस्याको बेलैमा पहिचान हुनासाथ उपचार गर्न सकियो भने रोगलाई नियन्त्रणमा राख्न नसकिने होइन । जटिल अवस्थामा पुगिसकेपछि मात्र उपचार खोजियो भने रोकथामका लागि अपनाइने विधि भनेको डायलायसिस मात्रै हो । यो रोगको स्थायी निदान भनेको त प्रत्यारोपण मात्रै भएको चिकित्सकहरूको भनाइ छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार नेपालमा हरेक वर्ष तीन हजार नयाँ मिर्गौलाका बिरामी थपिने गरेका छन् भने वर्षमा तीन सय बिरामीको मात्र मिर्गौला प्रत्यारोपण सम्भव हुने गरेको छ । अर्कोतर्फ मिर्गौलासम्बन्धी उपचार हुने सरकारी अस्पतालमा डायलायसिसका लागि पालो पाउनै मुस्किल छ ।
बिरामीको चाप, जनशक्ति र डायलायसिस मेसिनको कमीका कारण सरकारी अस्पतालमा धेरै समय कुर्नुपर्ने बाध्यताका कारण निजी अस्पतालमा चर्को मूल्य तिर्न बिरामी बाध्य छन् । सन् २००८ को अन्त्यतिर वीर अस्पताल र त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालबाट मिर्गौला प्रत्यारोपणको सुरुवात भएसँगै विस्तार भएको प्रत्यारोपणले सन् २०१३ मा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको स्थापनापछि थुप्रै पीडितले जीवनदान पाउन सकेका छन् । पछिल्लो समयमा आएर देशभर डायलायसिस र प्रत्यारोपण विस्तार गर्ने कार्यले तीव्रता पाउन थालेको विदित हुन्छ । मुलुकका ९० भन्दा बढी केन्द्रमा डायलायसिस सेवा विस्तार भएर करिब आठ हजार बिरामीले नियमित डायलायसिस गराइरहेका छन् । प्रत्येक नागरिकको स्वास्थ्य सेवामा समान पहुँचको संवैधानिक हक कायम गर्ने कार्यलाई सरकारले प्राथमिकतामा राखे अनुरूप सातै प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवा विस्तार गर्ने कार्य भइरहेको सार्वजनिक हुनुले देशभरका मिर्गौला रोगीमा आशा जागृत गराएको छ ।