चिटिक्क बेनीको कोतघर
सदरमुकाम बेनीस्थित पुरानो कोतघरको पुननिर्माण गरिएको छ । संरक्षणको अभावमा जिर्ण अवस्थामा रहेको कोतघरको पुनरनिर्माण गरिएपछि चिटिक्क बनेको हो ।
मरस्याङ्दी एक हजार ३ सय ६ घरमा खानेपानी
लमजुङको मस्र्याङदी गाउँपालिकाले पाँच बर्षे अवधीमा एक हजार ३ सय ६ घरधुरीमा खानेपानीको सुविधा पुगेको जनाएको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७४/७५ सालदेखि हालसम्म ३४ वटा योजना निर्माण गरी सो घरधुरीलाई खानेपानीको व्यवस्था गरेको हो ।
स्थानीय जागरुक नभए जंगल सखाप हुन्छ : मन्त्री धामी
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीले वन तथा बातावरण बचाउन स्थानीय बासिन्दा जागरुक हुनुपर्ने बताउनुभएको छ । विश्व वातावरण दिवसको अवसरमा गोदावरी नगरपालिका –२ अत्तरियामा रहेको शान्ति पार्कमा आयोजित वृक्षारोपण कार्यक्रममा मन्त्री धामीले सो कुरा बताउनुभयो ।
भरतपुर अस्पतालमा विरामीको चाप धान्न कठिन
स्वास्थ्य विमाको कार्यक्रमलाई स्थानीय पालिकाले प्राथमिकतामा राखेर विमित गराउँदा त्यसको असर भरतपुर अस्पतालमा परेको छ । नव निर्वाचित पालिका प्रमुख र विगतका पालिका प्रमुखहरुले आफ्नो कार्य क्षेत्रमा रहेका सेवाग्राहीलाई विमित कार्यक्रम प्राथमिकतामा राखेका थिए । चितवन बाहिर पनि यो कार्यक्रम जोडतोडकासाथ जनप्रतिनिधिले राखेका छन् । विमा गरेकाहरु उपचारका लागि भरतपुर अस्पताल आउने गरेका छन् ।
पोखरामा अन्तर्राष्ट्रिय कला कार्यशाला हुने
गोरखापत्र समाचारदाताकाठमाडौँ, जेठ २२ गते । अन्तर्राष्ट्रिय जलरंग समाज (आइडब्लूएस) नेपालको आयोजनामा ‘पोखरा आर्ट क्याम्प’ गरिने भएको छ । भदौ ३१ गतेदेखि असोज ४ गतेसम्म पोखरामा हुने कला कार्यशालामा विश्वका ख्यातीप्राप्त कलाकारसहित नेपाली कलाकारको सहभागिता हुनेछ । ‘पोखरा घुमेर प्राकृतिक सौन्दर्यलाई चित्रण गरौं’ नारालाई सार्थक तुल्याउँदै नेपाल, भारत, बङ्गलादेश र इरानका कलाकारले आ–आफना अनुभूतिलाई क्यानभासमा उतार्नेछन् । आइडब्लूएस नेपालले पत्रकार सम्मेलन गरी सो कार्यशालाबारे जानकारी दिएको हो । कार्यशालामा सामूहिक कला सिर्जना, कलाको प्रत्यक्ष चित्रण र सिकाई तथा पोखराको रमणीय स्थानको भमण गरी कलामा चित्रण गरिने जनाइएको छ । आइडब्लूएस नेपालका अध्यक्ष एनबी गुरुङले भन्नुभयो, “कार्यशालाले नेपाली प्राकृतिक सौन्दर्यलाई विश्व कला माझ अझ बढी चिनाउन मद्दत पुर्याउने छ ।”उहाँका अनुसार आइडब्लूएसले यसअघि घान्द्रुक र लुम्बिनीमा अन्तर्राष्ट्रिय कला कार्यशाला गरिसकेको छ ।
वैदेशिक रोजगारबारे जनप्रतिनिधिहरुलाई सचेत
वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित गराउने उद्देश्यले बागलुङका जनप्रतिनिधिलाई ‘वैदेशिक रोजगारबारे सचेत गराइएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार बागलुङमा नवनिर्वाचित जनप्रतिनिधिसँग वैदेशिक रोजगार व्यवस्थापनका विविध पक्षबारे अन्तरक्रिया तथा छलफल गरेर जनप्रतिनिधिलाई सचेत गराएको हो ।
रानीवनमा वृक्षारोपण
विश्व बातावरण दिवसको अवसरमा नेपाली सेनाको बराह दल गुल्म रानीवनमा वृक्षारोपण गर्ने कार्यक्रम भएको छ । रानीवनको खाली पाखो क्षेत्रमा बिभिन्न जातका वृक्षारोपण गरिएको हो ।
इलेक्ट्रोनिक्स पसलमा आगलागी
विष्णुप्रसाद पोखरेलदमक, जेठ २२ गते । झापाको मेचीनगर नगरपालिकामा आइतबार विहान एक इलेक्ट्रोनिक्स पसलमा आगलागी भएको छ । मेचीनगर–१० धुलाबारीमा रहेको न्यू पाथीभरा भेराइटिज स्टोरमा विहान १० बजेतिर शुरु भएको आगलागी मध्यान्ह १२ बजे नियण्त्रणमा आएको प्रहरीले जनाएको छ ।स्थानीय व्यवसायी ज्योति कोइराला सञ्चालन गर्नुभएको उक्त पसलमा विद्युत सर्ट भई आगलागी भएको र करिब एक करोडको क्षति भएको बताइएको छ । इलाका प्रहरी कार्यालय धुलाबारीकाअनुसार आगलागी नियत्रणका लागि मेचीनगर, भद्रपुर, दमक र विर्तामोड नगरपालिकाको दमकल बोलाइएको थियो ।पसलमा रहेका फ्रिज, इन्डक्सन, राइस कुकर, प्रेसर कुकर, हिटर, कुलरलगायतका सम्पूर्ण सामानहरु जलेर खरानी भएको बताइएको छ । क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ । बजारको बीच भागमा आगलागी भएका कारण स्थानीय व्यवसायीहरु त्रसित हुनुभएको थियो ।
जनताले अनुभूति गर्ने खालका कामहरु गर्न जरुरी : वरिष्ठ नेता पौडेल
अमरराज नहर्की तनहुँ, जेठ २२ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले जनताले अनुभूति गर्ने खालका काम गर्न जरुरी रहेको बताउनुभएको छ । तनहुँको व्यास नगरपालिकाले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्राथमिकीकरण अभ्यास कार्यशालाको उद्घाटन गर्दै नेता पौडेलले, विगतका भन्दा राम्रो कार्य गरेर जनताको मन जित्न ध्यान दिनुपर्ने बताउनुभयो । ‘जनताको माग र आवश्यकतालाई सर्वोपरी थानी जनप्रतिनिधिहरुले अहोरात्र खटेर काम गर्नुपर्छ’ वरिष्ठ नेता पौडेलले भन्नुभयो । जनताको इच्छाअनुसारको काम गर्न सके मात्रै जनप्रतिनिधिहरुको हाइहाइ हुने उहाँको भनाइ थियो । । ‘जनप्रतिनिधिहरु शासक हैन, जनताका सेवक बन्नुपर्छ’ नेता पौडेलले भन्नुभयो । साथै, वरिष्ठ नेता पौडलेले जनताको आम्दानी वृद्धि हुने र रोजगारी सिर्जना हुने योजना बनाउन ध्यान दिनुपर्ने बताउनुभयो ।