लेक लागेर प्रहरीको मृत्यु
नविन शाहीसुर्खेत, जेठ १८ गते । यार्सा संकलन सुरक्षामा खटिएका सहायक प्रहरी हवल्दारको लेक लागेर मृत्यु भएको छ । दैलेखको महाबु गाउँपालिका –४ स्थायी ठेगाना भई हाल कोहलपुर नगरपालिका –११ बाँके घर भएका सहायक प्रहरी हवल्दार राजबहादुर सिंहको उपचारका क्रममा मृत्यु भएको हो । मृतक सिंह मुगुको मुगुम कार्मारोङ गाउँपालिका –२ ठूलिकोशी रिमारस्थित यार्सा संकलन सुरक्षामा खटिनुभएको थियो । ड्युटिका क्रममा मंगलबार विहानदेखि टाउको दुख्ने र स्वास प्रश्वासमा समस्या भएपछि बुधबार हेलिकप्टरमार्फत उहाँलाई कोहलपुर मेडिकल कलेज लगिएको थियो ।उपचारकोक्रममा दिउँसो २ बजे उहाँलाई चिकित्सकले मृत घोषणा गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मृतक सिंह २०६७ सालमा प्रहरी जवान पदमा भर्ना भई जिल्ला प्रहरी कार्यालय मुगुमा कार्यरत हुनुहुन्थ्यो ।
३५० केजी गाँजा बरामद
भोटराज राईउदयपुर, जेठ १८ गते । उदयपुरको बेलका नगरपालिकास्थित सशस्त्र प्रहरी बल रामपुर बेस क्याम्पले आज ठूलो मात्रामा गाँजा बरामद गरेको छ । सप्तकोशीको किनारमा बालुवाभित्र लुकाई राखेको अबस्थामा ३५० केजी गाँजा बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक लिगम राईले बताउनुभयो । उहाँकाअनुसार सुनसरीको बराहा नगरपालिका –२ चतराको खयरटप्पु भन्ने ठाउँमा लुकाई राखिएको गाँजा फेलापरेको हो । मानिस हिडेको पाईतलाको गोहोबाट शंकास्पद देखिएपछि खोजी गर्दैजाँदा पुरेको अबस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ ।सशस्त्र प्रहरीको गस्तिटोलीले विहान ९ः०० बजेतिर शंकास्पद अबस्था देखेर बालुवा खोतल्दा गाँजा फेला परेको जनाएको छ । गाँजा तस्करले भारततर्फ लैजान पहाडि क्षेत्रबाट ल्याएर त्यहाँ गाँजा लुकाएको हुनसक्ने सशसत्र प्रहरीको अनुमान रहेको छ । बरामद गाँजा थप अनुसन्धानको लागि सुनसरी जिल्ला प्रहरी कार्यालय ईनरुवामा पठाईने प्रनि राईले बताउनुभयो ।
नदीमा डुबेर बालकको मृत्यु
जानु पाण्डेकपिलवस्तु, जेठ १८ गते । कपिलवस्तुको वाणगंगा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महाराजगन्ज नगरपालिका २ पडेरीयाका १० वर्षीय बालक अहमद रजा रहेका छन् । नदीमा नुहाउन गएकोबेला रजाको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक जेसी शाहले बताउनुभयो । मृतक वालकको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
नगरप्रमुख तथा उपप्रमुखबाट पदभार ग्रहण
उदयपुरको त्रियुगा नगरपालिकाका नवनिर्बाचित नगर प्रमुख वसन्तकुमार वस्नेत तथा उपप्रमुख महेश्वरी राईले बुधवार पदभार ग्रहण गर्नुभएको छ । नवनिर्बाचित नगर प्रमुख वस्नेतले उदयपुरका मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालबाट पद तथा गोपनियताको सफथ लिएपछि नगरपालिकामा गएर पद वहाली गर्नुभएको हो ।
रेसुङ्गामा आवधिक योजनासम्बन्धी छलफल
गुल्मीमा पहिलो पटक रेसुङ्गा नगरपालिकामा आवधिक योजनासम्बन्धी छलफल गरिएको छ । रेसुङ्गा नगरपालिकाको सभाहलमा यस नगरपालिकाको आवधिक योजनाको अन्तिम मस्यौदासम्बन्धी अन्तरक्रिया गरिएको नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो ।
कृषकलाई सहुलियत दरमा उन्नत जातको धानको बिउँ वितरण
धनुषाको मिथिला नगरपालिकाले नगर क्षेत्रभित्रका किसानलाई सहुलियत दरमा उन्नत जातको धानको बिउँ वितरण शुरु गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा धानको बिउँ वितरण शुरु गरेको हो ।
कालीगण्डकीमा जल प्रकोप उद्धार नमूना अभ्यास
नवीन शिशिर विक बागलुङ, जेठ १८ गते । वर्षाको समय नजिकिँदै गर्दा नेपाली सेनाले कालीगण्डकी नदीमा विपद् व्यवस्थापनसम्बन्धी नमूना अभ्यास गरेको छ । आन्तरिक मामिला मन्त्रालय गण्डकी प्रदेशको वार्षिक विकास कार्यक्रम अन्तरगत श्री श्रीमेहर गणको आयोजनामा विपद व्यवस्थापनसम्बन्धी जल प्रकोप उद्धारको नमूना अभ्यास गरिएको हो । अभ्यासमा नेपाली सेनाको जनशक्तिले प्राकृतिक प्रकोपहरुमा सर्वसाधारणलाई सुरक्षित तवरले उद्दार गर्ने कार्यको अभ्यास गर्नुका साथै जिल्लामा रहेका अन्य सरोकार निकायहरुसँगको समन्वयमा विपद व्यवस्थापन कार्य प्रभावकारीरुपमा सम्पादन गर्ने विषयमासमेत अभ्यास गरिएको थियो । नेपाली सेनाले विपद् पूर्वका कार्यहरु, विपद्को समयमा गरिने उद्धार कार्यहरु र विपद्पश्चात् गरिने कारवाहीहरु समावेश गरी व्यवस्थापनमा लागू हुने पूर्ण चक्रमा आधारित रहेर सञ्चालन गरिएको थियो । अभ्यासमा श्री श्रीमेहर गणका सकलदर्जालगायत श्री नम्बर २ विपद् व्यवस्थापन गणका जल उद्धार समूह, श्रीमहाविर गण रेञ्जरको विपद उद्धार समूहको सहभागिता थियो । नमूना अभ्यास र विपद व्यवस्थापनबारे श्री नम्बर २३ बाहिनीपति सहायकरथी रामप्रसाद अधिकारीले सरोकारवाललाई जानकारी गराउनुभएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री दोवाटे विपद व्यवस्थापन गर्न सुरक्षा निकाय र नागरिकको समन्वय बलियो हुनुपर्नेमा जोडदिनुभयो । नमूना अभ्यासले विपद् व्यवस्थापन कार्यमा नेपाली सेनाका सकल दर्जाले थप दक्षता हासिल गरेको र समग्रमा सैनिक नागरिक सम्बन्धमा बलियो बनाउन सहयोग पुगेको श्रीमेहर गण घोडाबाँधेका गणपति प्रमुख सेनानी देवभक्तमणी श्रेष्ठको भनाइ छ ।
कृषि एम्बुलेन्स सञ्चालन गर्दै भूमे गाउँपालिका
राजु लामिछाने रुकुम पूर्व, जेठ १८ गते । रुकुम पूर्वको भूमे गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्न एउटा गाडी खरिद गरेको छ । उक्त गाडीलाई कृषि एम्बुलेन्सका लागि प्रयोग गर्नेगरी पहिलो गाउँ कार्यपालिका बैठकले निर्णय समेत गरेको छ । कार्यपालिका बैठकले गाउँपालिकाको स्वीकृत वार्षिक कार्यक्रम बमोजिम स्थानीय कृषि उपज संकलन तथा बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालन गर्न खरिद गरिएको चारपांग्रे गाडीलाई स्थानीय उपज संकलन तथा बजारीकरणका लागि प्रयोग गर्ने निर्णय गरेको हो । यसका लागि उक्त गाडी भूमे गाउँपालिका २ को मारिङ बहुउद्देश्यीय सहकारी संस्थालाई हस्तान्तरण गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले जानकारी दिनुभयो । गाउँपालिकामा उत्पादन हुने कृषि उपज अव उक्त कृषि एम्बुलेन्सले बजारसम्म पु¥याउने छ । एम्बुलेन्स संचालन गर्ने जिम्मा पाएको मारिङ बहुउद्देश्यीय सहकारी संस्थाले भूमे २ को खावाङ बगरमा सहकारी बजार पनि संचालन गर्दै आइरहेको छ । कृषकले उत्पादन गरेका कृषि उपजलाई सहजै बजारसम्म पु¥याउने उद्देश्यले कृषि एम्बुलेन्स संचालन गर्न लागिएको गाउँपालिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै, गाउँकार्यपालिका बैठकले चुनवाङ स्वास्थ्य चौकीका लागि खरिद गरिएको एम्बुलेन्स उक्त स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्ने पनि निर्णय गरेको छ । एम्बुलेन्स स्वास्थ्य चौकी व्यवस्थापन समितिले नै सञ्चालन तथा व्यवस्थापन गर्ने गरी हस्तान्तरण गर्ने निर्णय भएको अध्यक्ष श्रेष्ठको भनाइ छ । गाउँपालिकाले यसअघि पनि एम्बुलेन्स संचालन गर्दै आइरहेको छ । अव गाउँपालिकामा दुई वटा एम्बुलेन्सहरु रहने भएका छन् । यसले विरामीलाई स्वास्थ्य संस्थाहरुमा पु¥याउन थप सहज हुने विश्वास गरिएको छ ।
बजारको खोजीमा ४० हजार सुन्तलाका विरुवा
ठाकुरप्रसाद आचार्य म्याग्दी, जेठ १८ गते । मंगला गाउँपालिका ४ बरङ्जाका कृषक रेशम बुढाथोकीको नर्सरीमा ४० हजार सुन्तलाका विरुवा विक्रीका लागि तयारी अवस्थामा रहे पनि आशा गरे अनुसार विक्री नभएको बताइएको छ । अघिल्ला वर्ष विरुवा सहजै विक्री हुनेगरेका थिए यसपाली विक्री नभएकाले परिश्रम खेरजाला जस्तो भएको उहाँले गुनासो गर्नुभयो । साढे एक रोपनीको जग्गामा संचालन भएको नर्सरीमा सुन्तलाका साथै ओखर, कागती र टिमुरका विरुवाहरु पनि उत्पादन भएका छन् । १८ महिनाका २५ हजार र ३२ महिनाका करिव १५ हजार सुन्तलाका विरुवा विक्रीका लागि तयारी अवस्थामा रहेको बुढाथोकीले बताउनुभयो । नर्सरीमा लोकल बाँसखर्क जातको सुन्तलाका विरुवा छन् । नर्सरीमा उत्पादन गरिएका सुन्तलाका विरुवाको परीक्षण (पिसिआर)पनि गरिएको छ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेबाट विज्ञको टोली ल्याई परीक्षण गर्दा विरुवामा कुनै प्रकारको रोग नदेखिएको उहाँले बताउनुभयो । एकहजार ६३० मिटरको उचाईमा उत्पादन गरिएको विरुवा भएकाले उत्पादन राम्रो दिने उहाँको भनाइ छ । २०६९ सालदेखि व्यवसायिक कृषि पेशा अंगालेका बुढाथोकीको नर्सरीमा हाल सुन्तला सँगै ओखरका विरुवा १२ सय, कागतीका विरुवा चा हजार, टिमुरका विरुवा चार हजार डालेघाँसलगायतका विरुवाहरु तयारी अवस्थामा रहेका छन् । बरंजा नर्सरी तथा पशुपंक्षीपालन फर्म दर्ता गरी व्यवसायिक कृषि पेशामा लाग्नुभएका बुढाथोकीको नर्सरीमा हालसम्म करिव ४० लाख रुपियाँ लगानी पुगेको छ । गत आर्थिक वर्षमा कृषि ज्ञानकेन्द्र बेनीबाट प्राप्त ५ लाख अनुदानले दुई वटा ग्रीनहाउस निर्माण गरेको बुढाथोकीले बताउनुभयो । त्यस्तै, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेबाट दुई लाख ५० हजार बराबरको कृषि सामाग्री सहयोग प्राप्त भएको उहाँको भनाइ छ । ‘करिव १५ हजार सुन्तलाका विरुवा गत वर्षकै छन्, यी सबै पोहोर नै विक्री भइसक्नु पर्ने थियो, तर अहिलेसम्म पनि कोही खोज्न आएका छैनन्’, बुढाथोकीले भन्नुभयो, “वडा, पालिका तथा अन्य कार्यालयले जिल्ला बाहिरबाट सस्तोमा विरुवा लिएर वितरण गर्दा मलगायत यहाँका नर्सरी कृषकहरु प्रत्यक्ष मारमा परेका छौँ” । उहाँले नर्सरीबाट वार्षिकक रुपमा पाँच लाख रुपियाँ आम्दानी गर्दै आउनुभएको छ ।