सुदूरपश्चिमका सात जिल्ला सञ्चारविहीन
बैतडीसहित सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला सञ्चारविहीन भएका छन् । अत्तरिया–डडेल्धुरामा रहेको अप्टिकल फाइबरमा समस्या आएपछि मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द भएको छ ।
पुनः चुनाव हुने भएपछि खुसीसँगै चिन्ता
अर्कैले मतदान गरिदिने गरेको बाजुराको बूढीगङ्गा नगरपालिकामा पुनः चुनाव हुने भएपछि यहाँका अधिकांश वडाका स्थानीयमा हौसला सँगसँगै उम्मेदवारमा चिन्ता थपिएको छ ।मतदाता नामावली सूचीमा भए पनि कहिल्यै मतदान गर्न नपाएका मतदाताले फेरि चुनाव हुँदा स्वविवेकपूर्ण तरिकाले मतदान गर्न पाउने भएपछि उनीहरूमा हौसला थपिएको छ तर कडा सुरक्षाका साथ मतदाताले स्वविवेक प्रयोग गरी मतदान गर्न पाउने भएपछि आफू हार्छु कि भन्ने चिन्ता केही उम्मेदवारलाई छ ।
‘समानुपातिक रुपमा बजेट वितरण’
प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले समानुपातिक रुपमा बजेट वितरण गरिएको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालय र प्रदेश प्रशिक्षण केन्द्र कलवलगुढी झापाद्वारा मङ्गलबार यहाँ आयोजित सङ्घीयता कार्यान्वयनका सन्दर्भमा अन्तर तह समन्वय विषयक छलफलमा उहाँले समानुपातिक रुपमा बजेट वितरण गरेकाले दुर्गम क्षेत्रका जनताले विकासको अनुभूति गरेको धारणा राख्नुभयो । “विकासलाई विकेन्द्रीकरण गर्न प्रदेश सरकारले सन्तुलित रुपमा बजेट वितरण गरेको हो”, उहाँले भन्नुुभयो ।
चिकित्सकले तीन महिना दुर्गममा सेवा गर्नुपर्ने
लुम्बिनी प्रदेशका स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित थारूले सरकारी सेवामा कार्यरत चिकित्सकले कम्तीमा तीन महिना रूपमा दुर्गम क्षेत्रमा सेवा प्रवाह गर्नुपर्ने बताउनुभएको छ ।
स्वास्थ्य शिविर सञ्चालन
जाजरकोटको शिवालय गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटले आयुर्वेद तथा योगसम्बन्धी निःशुल्क स्वाथ्य शिविर सञ्चालन गरेको हो । शिविरमा २५० जनाले स्वाथ्य परीक्षण गराएका छन् ।
सात प्रकारका क्यान्सरको अनुसन्धान हुँदै
क्यान्सर रोगको पहिचान र उपचार कसरी गर्ने गरिएको छ भन्ने विषयमा अनुसन्धान सुरु भएको छ ।स्थानीय तहका स्वास्थ्य संस्था, बिरामीदेखि विशेषज्ञ अस्पतालका चिकित्सकले रोग भए नभएको कसरी पत्ता लगाउने गरिएको छ भन्ने विषयमा अनुसन्धान सुरु भएको हो । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर र डब्लूएचओअन्तर्गत आईएआरसी संस्थाको संयुक्त प्रयासमा अनुसन्धान सुरु भएको हो ।
बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु
शालिग्राम नेपाल चितवन, जेठ २४ गते । चितवनमा बाघको आक्रमणबाट एक जना महिलाको ज्यान गएको छ । भरतपुर महानगरपालिका–२३ घैलाघारी सामुदायिक वनमा निउरो टिप्न गएका ५० वर्षीया महिलाको मंगलबार दिउँसो बाघको आक्रमणबाट ज्यान गएको हो । चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीका अनुसार मंगली बोटेसहित चार जना निउरो टिप्न जाँदा बोटेको ज्यान गएको जानकारी दिनुभयो । घटनाको बारेमा पुष्टि भएपछि चारवटा हात्ती प्रयोग गरेर बोटेको खोजी भइरहेको जानकारी दिनुभयो ।
जानकी मन्दिरमा जुत्ताचप्पलको व्यवस्थापन
जनकपुरधाम, जेठ २४ गते । जनकपुरधामको जानकी मन्दिर प्राङ्गणमा जुत्ताचप्पलको व्यवस्थापन शुरु गरिएको छ । केही वर्षयता व्यवस्थापन नहुँदौ मन्दिर परिसरबाट जुत्ताचप्पल हराउने र चोरी हुने समस्या रहँदै आएको थियो ।जनकपुरधाममा महिनापिच्छे हुने धार्मिक तथा साँस्कृतिक उत्सवका बेला जानकी मन्दिर दर्शन गर्न हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्ने गर्छ । मन्दिर परिसरभित्र प्रवेश गर्नुअघि नै जुत्ताचप्पल फुकाल्नुपर्ने हुन्छ । तर, केही वर्षयता जुत्ताचप्पल व्यवस्थापन कार्य अवरुद्ध रहँदा मन्दिरको मूल भवनबाहिर नै यत्रतत्र जुत्ताचप्पल छाड्नुपर्ने दर्शनार्थीको वाध्यता रहेको थियो । स्थानीय समाजसेवी वैद्यनाथप्रसाद साहका अनुसार फलामको स्ट्यान्ड बनाई जुत्ताचप्पल राख्ने व्यवस्थापन कार्य गर्न थालेपछि श्रद्धालुहरूलाई सजिलो भएको छ । श्रद्धालुहरू जुत्ताचप्पल फुकाएर स्ट्यान्डमा राख्न थालेपछि उहाँहरूलाई राहतको अनुभूति भएको हो । मधेश प्रदेशको चलचित्र तथा लोकसञ्चार बोर्डका अध्यक्ष धर्मेन्द्र मोरवैताले भिडभाड भएका बेला मन्दिरबाहिर जुत्ताचप्पल छरिने र अन्य बेला पनि साटिने गरेको समस्या यसको व्यवस्थापनपछि समाप्त भएको बताउनुभयो ।
भानुभक्त प्राणी उद्यान विस्तार गरिँदै
तनहुँको व्यास नगरपालिका–१२ छिर्कनस्थित भानुभक्त प्राणी उद्यानभित्र १३ प्रजातिका स्तनधारी वन्यजन्तु भेटिएका छन् । प्राणी उद्यानले ओगटेको वन क्षेत्रभित्र १३ प्रजातिका स्तनधारी भेटिएका हुन् ।