• ५ जेठ २०८१, शनिबार

रेसुङ्गामा आवधिक योजनासम्बन्धी छलफल

blog

रमेश विश्वकर्मा 

गुल्मी, जेठ १८ गते । गुल्मीमा पहिलो पटक रेसुङ्गा नगरपालिकामा आवधिक योजनासम्बन्धी छलफल गरिएको छ । रेसुङ्गा नगरपालिकाको सभाहलमा यस नगरपालिकाको आवधिक योजनाको अन्तिम मस्यौदासम्बन्धी अन्तरक्रिया गरिएको नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो । 

पञ्चवर्षिय योजना निर्माण गरी यसैका आधारमा आगामी पाँच वर्षसम्म विकासात्मक र प्रशासनिक गतिविधि सञ्चालन गर्ने नगरप्रमुख पन्थीले बताउनुभयो । बिहीबारसम्म चल्ने गोष्ठीमा नगरप्रमुख पन्थीले रेसुङ्गा नगरपालिकालाई आगामी पाँच वर्षमा कुन अवस्थामा विकास गर्ने विषयमा योजनाबद्ध रुपमा छलफल थालिएको उल्लेख गर्नुभयो । 

नगरप्रमुख पन्थीले भन्नुभयो, ‘अहिले हामी कुन अवस्थामा छौं, पाँच वर्षमा नगरपालिकालाई कुन अवस्थामा पु¥याउने विषयमा सरोकारवाला पक्षकाबीच समुह बनाई छलफल गर्छौं ।’ छलफल कार्यक्रमले रेसुङ्गा नगरपालिकाको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बतानुभयो । 

अन्तरक्रियाको माध्यमबाट गहिरो अध्ययन गरेर अगाडि बढ्ने उहाँले बताउनुभयो । नगरप्रमुख पन्थीले दीर्घकालीन सोंचकासाथ अगाडि बढ्ने बताउँदै दिगो विकासको अवधारणाअनुरुप अगाडि बढ्ने बताउनुभयो । क्षणिक र अल्पकालिन विकासले लक्ष्यमा पुग्न नसकिने उहाँले बताउनुभयो । 

विज्ञलाई सहभागी गराइएको अन्तरक्रिया छलफलमार्फत् आवधिक योजनामा प्राथमिकताकासाथ समेटिनुपर्ने सामाजिक विकास, आर्थिक विकास, वन तथा वातावरण, पर्यटन लगायतका विषयबारेमा नगरपालिकावासीबाट सुझाव लिइएको नगरप्रमुख पन्थीले बताउनुभयो । 

पूर्वाधार विकास, सामाजिक विकास, कृषि विकासलगायतका योजनासम्बन्धी छलफल एवम् सल्लाह, सुझावका आधारमा अल्पकालिन र दीर्घकालिन योजनाको प्राथमिकीकरण गर्दै आवधिक योजनालाई अन्तिम टुङ्गो लगाइने उहाँले बताउनुभयो । 

प्रदेश सरकार र रेसुङ्गा नगरपालिकाको लागत सहभागितामा योजना निर्माण भइरहेको प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिनुभयो । अन्तरक्रिया गोष्ठीको माध्यमबाट सो नगरपालिकालाई आगामी पाँच वर्षमा कस्तो बनाउने भनेर नेपाल सरकारको राष्ट्रिय योजना आयोगले निर्धारण गरेको फर्मेटका आधारमा आवधिक योजना निर्माण गरिने मरासिनीले बताउनुभयो । गोष्ठीमा रेसुङ्गा नगरपालिकाका जनप्रतिनिधि, सामाजिक संघ संस्थाका प्रबुद्ध व्यक्तिहरु, उद्योगी, व्यवसायी लगायतको सहभागिता छ ।