• ५ जेठ २०८१, शनिबार

समन्वय समिति अछाममा गठबन्धन र एमालेको उम्मेदवारी

blog

शिवराज ढुंगाना

अछाम, जेठ १८ गते । अछाममा प्रमुखसहित सदस्यमा नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को गठबन्धनले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा (एमाले) ले प्रमुखसहित सबै पदमा उम्मेदवारी दर्ता गराएका हुन् । 

जिसस सदस्यमा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) लाई एक–एक सदस्य दिएर नौ पदमा मनोनयन दर्ता गराएको काँग्रेस नेता बम स्वारले जानकारी दिनुभयो । काँग्रेसबाट साँफेबगर नगरपालिका–८ चण्डिकाका वडा सदस्य ललितबहादुर कुँवरको उम्मेदवारी परेको हो । उपप्रमुखमा पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थान निवासी दानमती बम शाहीको काँग्रेसबाट उम्मेदवारी दर्ता भएको छ । 

एमालेतर्फबाट जिल्ला समन्वय समितिको प्रमुखमा मंगलसेन नगरपालिका–६ तेसिङ्गेका वडा सदस्य दुर्गाप्रसाद भण्डारीको उम्मेदवारी परेको छ । एमालेबाटै उपप्रमुखमा साँफेबगर नगरपालिका –६ भागेश्वरकी वडा सदस्य पुतली रावललाई उम्मेदवार बनाएको छ । जिसस सदस्य पदमा सात जनाको उम्मेदवारी दर्ता गराएको एमाले अछामका सचिवालय सदस्य लिलाराज केसीले जानकारी दिनुभयो । 

काँग्रेस, माओवादी र समाजवादी गठबन्धन र एमालेको गरेर १८ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नारायण पौडेलले जानकारी दिनुभयो । उम्मेदारलाई आउँदो शनिबारमा गाउँ तथा नगरका प्रमुख तथा अध्यक्ष, उपाध्यक्ष र उपप्रमुखले मतदान गर्नेछन् । 

जिसस अछाम निर्वाचनका क्रममा जम्मा २० मतभारमध्येमा काँग्रेसका ११, एमालेको छ, माओवादी केन्द्रका दुई र समाजवादीका एक मतभार छन् । काँग्रेस, माओवादी र समाजवादी मिल्दा १४ मतभार हुनेछ । यसअघिको जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख काँग्रेस र माओवादी केन्द्र गठबन्धन गरिएको थियो । प्रमुख र उपप्रमुखमा पुरुष नै रहनुभएको थियो ।