काठमाडौँ, चैत २७ गते ।दन्त स्वास्थ्यकर्मीको समूहले माग पुरा नभएको भन्दै शुक्रबार नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
डेन्टल साइन्स हाईजेनिस्ट एसोसिएसन अफ नेपालको अगुवाईमा समूहले अध्यक्ष डा.सुवोधकुमार शर्माको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
एशोसिएसनका अध्यक्ष माइकल देवकोटाका अनुसार नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ अनुसार परिषद् पूर्ण रूपमा गठन हुन नसकेको, समयमै सदस्य नियुक्ति नभएको तथा विभिन्न पेशागत समूहहरूको समावेशी प्रतिनिधित्व नहुँदा परिषद्को नियमित कामकारबाही प्रभावित बनेको छ।
दन्त स्वास्थ्यकर्मीको पेशागत अधिकार, सेवा गुणस्तर तथा आम नागरिकको स्वास्थ्य अधिकारमा समेत असर परेको देवकोटाको भनाइ छ।
एसोसिएसनले दन्त स्वास्थ्य क्षेत्रमा कार्यरत डेन्टल साइन्स, डेन्टल हाइजिनिस्ट, डेन्टल असिस्टेन्टलगायतलाई स्पष्ट मापदण्डका आधारमा दर्ता गरी काम गर्ने वातावरण बनाउनुपर्ने माग पनि अघि सारेको छ।
हाल दर्ता प्रक्रियामा अस्पष्टता रहेको र त्यसले पेशागत अन्योल सिर्जना गरेको उहाँको भनाइ छ । परिषद्मा देखिएको नेतृत्व तथा प्रशासनिक कमजोरीका कारण दर्ता, नवीकरण, व्यावसायिक विकास (सीपीडी) तथा अनुशासनात्मक कारबाहीजस्ता काम प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको एसोसिएसनको आरोप छ। यसले सम्पूर्ण स्वास्थ्य व्यवसायीहरूको पेशागत भविष्य र सेवाको गुणस्तरमा नकारात्मक असर परेको उहाँले जानकारी दिनुभयो ।
परिषद्द्वारा जारी गरिएका लाइसेन्सको प्रतिलिपि उपलब्ध गराउने व्यवस्था मिलाउन, मन्त्रालयसँग भएको सम्झौता कार्यान्वयन गर्न तथा परिषद्माथि छानबिन गर्न एसोसिएसनले माग गरेको छ।
साथै, सम्बन्धित निकायले मागहरू बेवास्ता गरेमा शान्तिपूर्ण आन्दोलनलाई कडा बनाउँदै लैजाने चेतावनी समेत दिएको छ। देवकोटाले मन्त्रालयसँग माघ ४ गते भएको सम्झौता कार्यान्वयन गर्न र परिषद् माथि छानविन गर्न माग गरेको जानकारी दिनुभयो ।
सरकार र सम्बन्धित निकायले समस्याको समाधान नगरे कडा सङ्घर्षका कार्यक्रम घोषण गर्ने उहाँले चेतावनी दिनुभयो ।