भलमन्साको काँधमा वडा हाँक्ने जिम्मेवारी
अविनाश चौधरीधनगढी, जेठ २ गते । कैलालीको भड्री गाउँका भलमन्सा सन्तराम चौधरीलाई वडा हाँक्ने जिम्मेवारी आइलागेको छ । कैलारी गाउँपालिका–३ का वडावासीले भलमन्सा चौधरीलाई वडा अध्यक्षको जिम्मेवारी पनि सुम्पेका हुन । सशस्त्र प्रहरीका पूर्व प्रहरी नायब उपरीक्षकसमेत रहनु भएका चौधरी नेपाली काङ्ग्रेसबाट वडा नम्बर ३ को अध्यक्षमा आफ्नो प्यानलसहित विजयी हुनुभएको छ । उहाँले नेकपा (माओवादी केन्द्र) का कैलाश चौधरीलाई पराजित गरेर वडा अध्यक्षमा जित हासिल गर्नुभएको हो ।विजयी हुनु भएका चौधरीले एक हजार १२ र पराजित हुनु भएका उम्मेदवारले ७४२ मत प्राप्त गर्नुभयो । यसैगरी, जोशीपुर गाउँपालिका–२ को वडा अध्यक्षमा जनता समाजवादी पार्टीका विष्णु चौधरी विजयी हुनु भएको छ । उहाँले ६४२ मत प्राप्त गर्नुभयो । यस्तै, कैलालीको टीकापुर नगरपालिकाको वडा अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीले दोस्रो जित भएको छ । सो पार्टीका लालवीर चौधरी वडा नम्बर ४ को वडा अध्यक्षमा पुनः निर्वाचित हुनु भएको छ । यसैगरी, गोदावरी नगरपालिका–१० को वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका रविन्द्र शाही (गुड्डु) निर्वाचित हुनुभएको छ । उहाँ दोस्रो कार्यकालका लागि वडा अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
भिमदत्त नगरपालिकामा शुरु भएन मतगणना
लक्ष्मण पन्तमहेन्द्रनगर, जेठ २ गते । कञ्चनपुरको भिमदत्त नगरपालिकामा अझै मतगणना शुरु हुन सकेको छैन । वडा नं. १ को मतगणना सम्पन्न गरेर वडा नं. २ को आधा मतगणना हुँदा एक सयको बण्डलमा १ सय २० मत भेटिएपछि विवाद हुँदा आईतबार दिउँसो स्थगित गरिएको मतगणना अझै शुरु हुन नसकेको हो । पटक–पटक बसेको सर्वदलीय बैठक निष्कर्षमा पुग्न नसक्दा मतगणना शुरु गर्न नसकिएको प्रमुख निर्वाचन अधिकृत मदनबहादुर धामीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सहमती जुटेको छैन, फेरि बोलाएको छु, एकै छिनमा बैठक बसेर निष्कर्षमा पुग्छौ ।’
घोडाघोडी १ मा कांग्रेस, ११ मा जसपाको वडाअध्यक्ष विजयी
चाँदनी आचार्यघोडाघोडी (कैलाली), जेठ २ गते । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ र ११ को वडा अध्यक्षको सोमबार विहान अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । १ नम्बर वडा अध्यक्षमा नेपाली कांग्रेसका घनश्याम ओझा विजयी हुनुभएको छ भने वडा नम्बर ११ को वडाअध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार दानसिंह जोगी विजयी हुनुभएको छ । उहाँले ६७२ मत प्राप्ता गर्दै वडा अध्यक्षमा विजयी हुनुभएको हो । जोगीको प्रतिस्पर्धीको रुपमा कांग्रेसका उम्मेदवार राजकुमार कठरियाले ६६९ मत प्राप्त गर्नुभयो । तीन मतको अन्तरले जोगी विजयी हुनुभएको छ । वडा सदस्यमा एक जना जसपाबाट र अन्य तीन जना कांग्रेसबाट विजयी हुनुभएको छ । हारे भनेर घर गएका जोगी एक्कासी जितेको खबर सामाजिक सञ्जालबाट पाएलगतै खुशी हुदै मतगणनास्थल पुग्नुभएको थियो । यसअघिको चुनावमा समेत उक्त वडामा जोगी विजयी हुनुभएको थियो । यता कांग्रेसले वडा नम्बर ११ को पुनः मतगणनाको माग राख्दै प्रदर्शन गरेको छ । मतपरिणाम सार्वजनिक नहुदै कांग्रेसका उम्मेदवार कठरियाको जितको हल्ला चलेको थियो । गौरीगंगामा समाजवादी र कांग्रेसले खाता खोल्यो त्यसैगरी कैलालीको गौरीगंगा नगरपालिकामा सोमवार विहान २ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । वडा नम्बर १ मा कांग्रेसका डबलबहादुर दियाकोटी र वडा नम्बर २ मा नेकपा समाजवादीका जनकबहादुर साउँद विजयी हुनुभएको छ ।समाजवादी र माओवादी केन्द्रको गठबन्धन रहेको उक्त नगरपालिकामा साउँदले ६९३ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले ६७९ मत प्राप्त गर्नुभएको छ । एक खुल्ला सदस्य बाहेक तीन सदस्यमा समेत समाजवादीका उम्मेदवार विजयी हुनुभएको छ । त्यसैगरी वडा नम्बर १ को वडा अध्यक्षमा विजयी दियाकोटीले एक हजार १३१ मत प्राप्त गर्नुभएको छ । उहाँको प्रतिस्पर्धीकोरुपमा रहनुभएका नेकपा एमालेका जुद्धबहादुर साउँदले ८२५ मत प्राप्त गर्नुभयो ।
दार्चुलामा हाइस दुर्घटना हुँदा तीन जनाको मृत्यु
दार्चुलाको शैल्यशिखर नगरपालिका–६ ग्वानीमा हाइस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरबाट पनेबाँजतर्फ जादै गरेको राजेन्द्रसिंह बिष्टको नाममा रहेको म १ ज २७७ नम्बरको हाइस शैल्यशिखर–६ ग्वानीको वडा कार्यालय नजिक रोलाखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जोरायल गाउँपालिकामा पुरानै अनुहार प्रमुखमा निर्वाचित
डोटीको जोरायल गाउँपालिकामा पुरानै जनप्रतिनिधि दोहोरीएका छन् । २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझा र उपाध्यक्ष जमुना बोहरा पुनः निर्वाचित हुनुभएको हो । नेकपा (एमाले)का उमेदवार ओझा ३७ मतका मात्रै अन्तरले विजयी हुनुभएको हो । उपाध्यक्षमा एमालेकै उमेदवार बोहरा पनि थोरै मतान्तरले विजयी हुनुभएको छ ।
दार्चुलाको शैल्यशिखरमा एमाले विजयी
दार्चुलाको शैल्यशिखर नगरपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ । शैल्यशिखरमा जम्मा खसेको दश हजार ७३ मतमध्ये एमाले उम्मेदवार विजयसिंह धामीले पाँच हजार ५०९ मत ल्याउदै नगरप्रमुख पदमा निर्वाचित हुनुभयो ।
आदर्शमा चार वडासहित नेपाली कांग्रेस विजयी
आदर्श गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित ४ वटा वडाहरूमा कांग्रेस विजयी भएको हो । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार गणेशबहादुर खड्का विजयी हुनुभएको छ ।
अछामको ढकारी गाउँपालिकामा कांग्रेस विजयी
नेकपा (एमाले) का उम्मेदवारलाई एक हजार १६३ मतान्तरले कांग्रेसका प्रकाशबहादुर साउँद विजयी हुनुभएको हो ।
लालझाडीमा एमालेका राना निर्वाचित
कञ्चनपुरको लालझाडी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले)का उम्मेदवार निर्मल रानाले चार हजार ५१६ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । गत शुक्रबार सम्पनन स्थानीय तहको निर्वाचन अन्तर्गत उहाँका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार मदनसेन बडायकले दुई हजार ८५८ मत प्राप्त गर्नुभएको थियो । यसअघिको निर्वाचनमा माओवादबाट बडायक गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।