• ११ पुस २०८१, बिहिबार

डढेलोको दुष्परिणाम

blog

मानवीय जीवनमा अपरिहार्य तापीय तथा इन्धनको स्रोतका रूपमा प्रयोगमा आएको आगोको दुरुपयोग हुँदाको दुष्परिणाम कति घातक हुन्छ भन्ने अनुभव विश्वजगत्ले गर्दै आएको छ । आफ्नै अधीनको वस्तु नियन्त्रणबाहिर गयो भने प्रयोगकर्ता मात्रै नभएर सम्पूर्ण वातावरणका निम्ति अभिशाप बन्छ । एउटा रुखबाट लाखौँ सलाईका काँटी बन्दछन् तर एउटै सलाईको काँटीले लाखौँ रुख भएको जङ्गल सखाप बनाइदिन्छ । वनजङ्गलका साथै मानव बस्तीमा सल्किएको आगोले सिङ्गो गाउँलाई नै क्षणभरमा खरानी बनाइदिएको दुःखद समाचार प्रायः आउने गरेका छन् । यसरी आगलागी हुनमा ९६ प्रतिशत मानवीय कारण नै हुने गरेको अनुसन्धानहरूले देखाएका छन् । बाँकी ४ प्रतिशतमा १ प्रतिशत प्राकृतिक कारण र ३ प्रतिशत रहस्यपूर्ण हुने गरेका छन् । प्रायःजसो सुक्खायाममा लाग्ने डढेलो र आगलागीका कारण बर्सेनि मानवीय क्षतिका साथै अर्बौं रुपियाँको भौतिक संरचना एवं वन पैदावर नष्ट हुने गरेको तितो यथार्थ नेपालले भोग्दै आएको छ ।

यस वर्ष पनि सुक्खा मौसम सुरु भएसँगै मुलुकभरका वनजङ्गल र मानव बस्तीमा आगलागी भएका सयौँ घटना सार्वजनिक भइरहेका छन् । मुलुकको कुल क्षेत्रफलको करिब ४५ प्रतिशत भू–भाग ओगटेको वन तथा बुट्यान क्षेत्रमा जताततै डढेलो लागेको छ । ‘हरियो वन, नेपालको धन’ भनिए पनि डढेलोका कारण जीवजन्तुका साथै वनपैदावरमा पुगेको क्षतिको आकलन गर्न सकिने अवस्था देखिँदैन । वर्षा कमी हुँदा गत फागुनदेखि सुरु भएको डढेलो र आगलागीका घटना चिन्ता र चुनौती भएको छ । 

देशव्यापी रूपमा फैलिएको डढेलोको असर हिमाली क्षेत्रमा समेत देखिएको वातावरणविद्ले औँल्याएका छन् । डढेलोबाट उत्सर्जित धुवाँ तथा कार्बनले हिउँ पग्लन थालेको छ । जलवायु परिवर्तनले बढेको तापमान र डढेलोको धुवाँले हिमाल नाङ्गिने र हिमनदी विलीन हुने खतरा देखिएको छ । तापक्रम वृद्धिका साथै श्वासप्रश्वासमा अपरिहार्य वायु नै प्रदूषित बनेपछि मानव स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न हुनु स्वाभाविक हो । वायुको गुणस्तर मापन गर्ने संस्थाहरूले सार्वजनिक गरेको प्रतिवेदनमा खास गरी काठमाडौँ उपत्यका र मुलुकका अन्य प्रमुख सहरहरूको प्रदूषण अधिक देखाएका छन् । अन्तर्राष्ट्रिय वायु गुणस्तर सूचकाङ्क (एक्युआई) अनुसार, एक्युआई शून्यदेखि ५० सम्मलाई स्वस्थकर मानिन्छ । यसै गरी ५१ देखि सयसम्मलाई मध्यम, सयदेखि १५० सम्मलाई अस्वस्थकर र १५० देखि दुई सयसम्मलाई अति अस्वस्थकर मानिएको छ । गतसाता काठमाडौँ उपत्यकाको एक्युआई १८४ पुगेको सार्वजनिक भएकोमा पोखराको एक्युआई २०८ पुगेर काठमाडौँलाई उछिनेको देखिएको थियो । तुवाँलोका कारण वायु प्रदूषण वृद्धि भएर मानव स्वास्थ्यमा प्रत्यक्ष असर पुगिरहेको जनस्वास्थ्यविद्को भनाइ र अस्पतालमा आँखा तथा श्वासप्रश्वासका बिरामीको चाप देखिनुले यसतर्फ सचेत रहन आवश्यक छ ।

वन जङ्गलमा होस् कि घरमा, आगो आफैँ उब्जिने होइन । वन पैदावरको चोरी पैठारी तथा नयाँ घाँस पलाउने लोभले वन जङ्गलको आसपासका स्थानीयले डढेलो लगाउने गरेको समेत सार्वजनिक हुने गरेको छ । केटाकेटीले अनजानमा तथा चुरोट बिँडी खानेका कारण पनि आगो लाग्ने गरेको छ । वन जङ्गलमा वन हेरालुको व्यवस्था गर्ने, सुरक्षाकर्मीको नियमित गस्तीका साथै अग्नि नियन्त्रण रेखा कायम गर्ने हो भने डढेलोका घटनामा कमी आउने वातावरणविद्को भनाइलाई सम्बन्धित निकायले ध्यान दिन आवश्यक छ । विपत् आइपरेपछि मात्र चासो देखाउने तर बेलैमा सचेतना तथा सुरक्षाका उपायहरू अवलम्बन नगरिने प्रवृत्तिको अन्त्य गरी वातावरण विनाश तथा जनधनको क्षति हुनबाट जोगाउन सबै पक्षले सतर्कता अपनाउन जरुरी छ । 

‘आगलागी झुपडी त डेढघडी भद्रा’ भन्ने लोकोक्ति समाजमा निकै प्रचलित छ । आगो लागिसकेपछि नियन्त्रणमा आवश्यक उपाय अपनाउन कत्ति पनि ढिला गर्न नहुने यसको तात्पर्य भए पनि सम्बन्धित निकायहरूले तदारुकता नदेखाउँदा परिणाम गम्भीर हुने गरेको छ । त्यसो त वनजङ्गलमा डढेलो लगाउनेलाई कानुनी कारबाही हुने व्यवस्था वन ऐन, २०७६ मा उल्लेख छ । राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुने कुनै कार्य गरेमा क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा ६० हजार रुपियाँ जरिवाना अथवा दुवै सजाय हुन सक्ने व्यवस्था भए पनि अहिलेसम्म दोषीलाई कानुनी दायरामा ल्याइएको पाइएको छैन । आगलागीका घटना न्यूनीकरण तथा नियन्त्रणमा स्थानीयस्तरमा सचेतना अभियान सञ्चालन गर्नुका साथै सम्बन्धित निकायबिच समन्वय र सक्रियता हुन आवश्यक छ । देशका तीन तहकै सरकार, अझ स्थानीय सरकार गम्भीर भई डढेलोविरुद्ध निर्मम हुनु वाञ्छनीय छ ।