प्रधानमन्त्री देउवालाई भ्रातृशोक
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका सहोदर भाइ प्रेमबहादुर देउवाको ६७ बर्षको उमेरमा आज बिहान २ बजे निधन भएको छ । प्रधानमन्त्रीका निजी सचिव भानु देउवाका अनुसार, उहाँको उपचारको क्रममा वीर अस्पतालमा निधन भएको हो ।
कैलालीमा पहिलो महिला वडा अध्यक्ष
स्थानीय तहको निर्वाचनमा कैलालीमा पहिलो महिला वडा अध्यक्ष निर्वाचित हुनुभएको छ । नागरिक उन्मुक्ति पार्टीबाट जोशीपुर गाउँपालिका–३ को वडा अध्यक्षमा रेणुकुमारी चौधरीले आफ्नो प्यानलसहित निर्वाचित हुनु भएको हो ।
अछामको तुर्माखाँद गाउँपालिकामा एमाले विजयी
पूर्वी अछामको तुर्माखाँद गाउँपालिकामा नेकपा (एमाले) का उम्मेदवार डम्बर बीसी अध्यक्षमा र विमला शाही उपाध्यक्षमा विजयी हुनुभएको छ । मंगलबार सार्वजनिक गरिएको मतपरिणाम अनुसार कांग्रेसका उम्मेदवार भन्दा ३० मतको अन्तरमा विजयी हुनुभएको हो ।
अछाम मेल्लेखको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी
मेल्लेख गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार ज्वालासिंह साउँद विजयी हुनुभएको छ । सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार साउँदले पाँचहजार १४४ मत ल्याएर विजयी भएका हुन् । उपाध्यक्ष पदमा नेपाली कांग्रेसका नृपबहादुर खड्काले चारहजार ४८४ मत प्राप्त गरेर विजयी भएका छन् ।
अमरगढी नगरपालिकामा काँग्रेस विजयी
जिल्ला सदरमुकामको अमरगढी नगरपालिका प्रमुख उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । यसअघि २०७४ सालको निर्वाचनमा एमालेले जितेको अमरगढीमा काँग्रेस अत्यधिक बहुमतका साथ विजयी भएको छ ।
रामारोशन गाउँपालिकाको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी विजयी
रामारोशन गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मानबहादुर साउँद र उपाध्यक्षमा माओवादी केन्द्रका सिर्जना बुढा विजयी भएका छन् । अध्यक्ष पदमा साउँदले तीनहजार १२७ मतले विजयी भएका हुनुभएको छ ।
बत्तीस पालिकाको अन्तिम परिणाम सार्वजनिक
सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ८८ स्थानीय तहमध्ये सोमबार दिउँसोसम्म ३२ पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको परिणामअनुसार नेपाली काँग्रेसले १५, नेकपा (एमाले) ले ११ र नेकपा माओवादी केन्द्रले छ स्थानमा प्रमुख पद जितेको छ । यस्तै उपप्रमुखमा काँग्रेसले १६, एमालेले १२, माओवादीले तीन र नेकपा (एकीकृत समाजवादी) का एक जना निर्वाचित भएका छन् ।
सायलमा कांग्रेस उम्मेदवार विजयी
डोटीको सायल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका धर्मराज जोशी निर्वाचित हुनुभएको छ । एमालेका उम्मेदवार तेजबहादुर डुम्रेललाई पराजीत गर्दै जोशी निर्वाचित हुनुभएको हो ।
दार्चुलाका सबै स्थानीय तह प्रमुखमा कम्युनिष्ट विजयी
चार गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । दुई नगरपालिका र दुई गाउँपालिकामा एमाले उम्मेदवार विजयी भएका छन् ।