घोडाघोडीमा नेकपा एसका रावत विजयी
कैलालीको घोडाघोडी नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । विहीबार पालिकाको मतगणना समापन भएसँगै गठबन्धनका उम्मेदवार नेकपा (समाजबादी)का खडक रावत प्रमुखमा विजयी हुनुभएको हो ।
डडेल्धुरामा कांग्रेसको शानदार जित
सातवटा स्थानीय तह रहेको डडेल्धुराका पाँच स्थानीय तहमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । यहाँका दुई नगरपालिका र तीन गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । अघिल्लो निर्वाचनमा यहाँ नेकपा (एमाले) ले २ र माओवादीले एक स्थानीय तह जितेका थिए । यसपालि एमालेले सबै तह गुमाएको छ भने माओवादीले दुई स्थानीय तह हात पारेको छ ।
टीकापुर प्रमुखमा नागरिक उन्मुक्ति पार्टीका थारु निर्वाचित
कैलालीको टीकापुर नगरपालिकाको प्रमुखमा नागरिक उन्मुक्ति पार्टीका रामलाल डङ्गौरा थारु निर्वाचित हुनु भएको छ । गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेदवार नवराज रावललाई पराजित गरेर उहाँ प्रमुखमा विजयी हुनु भएको हो ।
गोरखापत्रसँग साझेदारी गर्न तयार छौं : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकार गोरखापत्र संस्थानसँग साझेदारी गर्न तयार रहेको बताउनु भएको छ । बुधबार गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गर्नु भएको भेटको क्रममा मुख्यमन्त्री भट्टले प्रदेश सरकार गोरखापत्र संस्थानसँग साझेदारी गरेर अगाडि बढ्न तयार रहेको बताउनु भएको हो ।
हिमालीको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमाले विजयी
बाजुराको हिमाली गाउँपालिकाको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा नेपाली काँग्रेसका गोविन्द्रबहादुर मल्ल थापा र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार राजकला सार्की विजयी हुनुभएको हो ।
दोधारा चाँदनीमा प्रमुखमा एमाले र उपप्रमुखमा काँग्रेस विजयी
लक्ष्मणदत्त पन्तमहेन्द्रनगर, जेठ ४ गते । कञ्चनपुरको महाकाली पारि रहेको एकमात्र पालिका दोधाराचाँदनी नगरपालिकामा एमालेले नगरप्रमुख र काँग्रेसले उपप्रमुखमा जित हासिल गरेको छ । प्रमुखमा विजयी एमालेका किशोरकुमार लिम्बुले ७ हजार १०४ मत पाउनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्द्वी काँग्रेसका गोपालदत्त भट्टले ६ हजार १७२ मत प्राप्त गर्नुभयो । कैची चुवाउचिन्ह लिएर चुनावी मैदानमा आउनुभएका स्वतन्त्रका उम्मेदवार भिमबहादुर कुमाल एक हजार ९३४ मतका तस्रो स्थानमा उभिनुभएको छ । यसैगरी, उपप्रमुखमा ६ हजार ३६५ मत प्राप्त गरेर काँग्रेसकी गंगादेवी जोशी निर्वाचित हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी एमालेकी खिमा चन्दले ५ हजार ८२६ मत प्राप्त गर्नुभयो । माओवादीका उम्मेदवारले २ हजार ३४९ मत पाएका निर्वाचन अधिकृत कृष्णदत्त भट्टले बताउनुभयो । जम्मा १० वडा रहेको उक्त पालिकामा ६ वडामा एमाले, २ मा राप्रपा, १ वडामा काँग्रेस र १ वडामा माओवादीले जित हात पारेको छ ।
मोहन्याल गाउँपालिका अध्यक्षमा माओवादीका उपाध्याय विजयी
कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का देवीदत्त उपाध्याय (हिमशिखर) विजयी हुनुभएको छ । गठबन्धनबाट चुनाव लड्नु भएका उपाध्यायले नेकपा (एमाले) का उम्मेदवार धर्म थापालाई ४०९ मतान्तरले पछिपार्दै विजयी हुनुभएको हो ।
मङ्गलसेन नगरपालिकामा नेकपा (एमाले) विजयी
अछाम सदरमुकास्थित मङ्गलसेन नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ । प्रमुखको पदमा दोहोरिएका बोहराले ७३५ को मतान्तरमा विजयी हासिल गर्नुभएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत नारायण पौडेलले जानकारी दिनुभयो ।
त्रिवेणी प्रमुख र उपप्रमुखमा काँग्रेसको विजय
बाजुराको त्रिवेणी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । नगरप्रमुखमा कर्णबहादुर थापा र उपमेयरमा कमला न्यौपाने विजयी हुनु भएको हो ।