राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित
राष्ट्रिय जनमोर्चाले बागलुङबाट प्रतिनिधिसभा सदस्यमा जितको सुरुवात गरेको छ । जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी बागलुङ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
गण्डकी प्रदेशका ३६ क्षेत्रमध्ये हालसम्म १५ निर्वाचन क्षेत्रमा टुङ्गो
प्रतिनिधिसभा तथा प्रदेशसभा अन्तर्गतमा मङ्सिर ४ गते भएको निर्वाचनको परिणाम तीव्र गतिमा आउन थालेको छ । गण्डकी प्रदेशको १८ संघीय निर्वाचन क्षेत्रमध्ये मुस्ताङ, मनाङ र तनहुँ –२ को नतिजा कांग्रेसको पक्षमा आइसकेको छ भने अन्य स्थानको मतगणना अन्तिम स्थानमा पुगेको छ ।
कास्की प्रदेश सभा २ (क) मा एमालेका कार्की विजयी
कास्की क्षेत्र नम्बर २ प्रदेश सभा (क) मा नेकपा (एमाले) का उम्मेदवार विजयी हुनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारलाई पराजित गर्दै एमालेका भीमबहादुर कार्की प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो । विजयी कार्कीले १० हजार ५३१ मत प्राप्त गर्नुभयो ।
मुगुमा मतगणना सुरु
निर्वाचन सम्पन्न भएको दुई दिनपछि मुगुमा मतगणना सुरु भएको छ । सबै मतदानस्थलबाट मतपेटिका आइसकेपछि बुधबार बिहानबाट मतगणना सुरु भएको हो ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)–२ को दुवै प्रदेशमा एमाले विजयी
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)–२ को प्रदेशसभा (क)मा नेकपा (एमाले)का पदमा जिसी श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले १९ हजार ३९६ मत पाउनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का सौगमकुमार सिरपालीले १४ हजार ७५८ मत ल्याउनुभएको छ ।
तनहुँ २ (क) मा एमालेका महत विजयी
तनहुँ निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा (क) मा नेकपा (एमाले) का श्यामराजा महत निर्वाचित हुनुभएको छ ।
तनहुँ २ प्रदेशसभा (ख) मा कांग्रेसका आले विजयी
तनहुँ–२ को प्रदेशसभा निर्वाचन क्षेत्र २ (ख) मा नेपाली कांग्रेसका जिल्ला सभापति जीतप्रकाश आले विजयी हुनुभएको छ ।
लमजुङमा देव र पृथ्वीसुब्बा गुरुङबीच कडा प्रतिस्पर्धा
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को मतगणनामा प्रतिनिधि सभातर्फ नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ र नेकपा माओवादी केन्द्रमा देवप्रसाद गुरुङबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
बागलुङ प्रदेश सभामा कांग्रेसका थापा विजयी
ढोरपाटन, मङ्सिर ७ गते । बागलुङ क्षेत्र नं.–१ (क) मा नेपाली कांग्रेसका दीपेन्द्रबहादुर थापा विजयी हुनुभएको छ । थापाले नेकपा (एमाले) का उम्मेदवार हीराबहादुर केसीलाई एक हजार चार सय ७८ मतान्तरले पराजित गर्नुभएको हो । थापाले १३ हजार आठ सय ८४ मत ल्याउँदा केसीले १२ हजार चार सय पाँच मत प्राप्त गर्नुभएको छ । थापा पाँचदलीय गठबन्धनका साझा उम्मेदवार हुनुहुन्थ्यो । यस क्षेत्रमा थापा र केसीसहित पाँचजनाको उम्मेदवारी परेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका डिल्लीप्रसाद आचार्य एक हजार चार सय ५०, सामाजिक एकता पार्टीका भक्तबहादुर विक तीन सय सात र स्वतन्त्र उम्मेदवार दीपेन्द्र हमालले एक सय सात मत प्राप्त गर्नुभएको छ ।बागलुङ नगरपालिकाका ११ वडा र काठेखोला गाउँपालिका पर्ने यस क्षेत्रमा ५० हजार दुई सय ८० मतदाता रहेकामा २८ हजार आठ सय २५ मत खसेको थियो । जसमा छ सय ३२ मत बदर भएको छ । रासस
बागलुङ–२ (क) मा कांग्रेसका शेरचन विजयी
बागलुङ क्षेत्र नं. –२ (क) मा नेपाली कांग्रेसका जितबहादुर शेरचन विजयी हुनुभएको छ ।
ललितपुर–१ मा कांग्रेसका उदयशम्शेर विजयी
ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर राणाले जित हासिल गर्नुभएको छ ।
स्याङ्जा २ मा सुरु भएन मतगणना, कांग्रेस–एमाले धर्नामा
स्याङ्जा क्षेत्र नं. २ को मतगणना मङ्गलबार अबेरसम्म सुरु हुन सकेको छैन । चार बुथमा धाँधली गरी बुथ कव्जा भएको नेकपा (एमाले) ले आरोप लगाउँदै पुनः मतदानको माग गरेको छ । कांग्रेसले तत्काल मतगणनाको माग गर्दै धर्ना बसेको छ ।
म्याग्दीमा कांग्रेसको ८ सय मतको अग्रता
म्याग्दीमा जारी मतगणनाअनुसार मङ्गलबार दिउँसो साढे ३ बजेसम्म नेपाली कांग्रेसका खमबहादुर गर्बुजाले अग्रता कायम राख्नुभएको छ । प्रदेश निर्वाचन क्षेत्र नं. २ को धवलागिरि र मालिका गाउँपालिकाको मतगणना सकिँदा गठबन्धनका साझा उम्मेदवार गर्बुजाले ६ हजार तीनसय ७० मत ल्याउनुभएको छ ।
स्याङ्जा क्षेत्र नं. १ मा अग्रता बढाउँदै कांग्रेसका थापा
मङ्सिर ४ गते भएको निर्वाचनको मतगणनामा स्याङ्जा क्षेत्र नं. १ मा नेपाली काग्रेसका उम्मेदवार राजु थापाले अग्रता बढाउँदै जानु भएको छ ।
एमाले उम्मेदवार राना कांग्रेस नेता पौडेलभन्दा अगाडि
तनहुँ –१ को प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार एकबहादुर रानाले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पछाडि पार्नुभएको छ ।
पूर्वी नवलपरासी क्षेत्र १ र २ मा कांग्रेसको अग्रता
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत पूर्वी नवलपरासीमा क्षेत्र नं १ र २ मा गठबन्धनबाट नेपाली कांग्रेसको अग्रता कायम छ । क्षेत्र नं १ मा नेपाली कांग्रेसका डा. शशाकंले छ हजार १३५ ल्याउँदा नेकपा एमालेका उम्मेदवार कृष्ण पौडेलले चार हजार ४४४ मत ल्याउनुभएको छ । दुई उम्मेदवारबीचको मतान्तर एक हजार ६८९ रहेको छ ।
तनहुँको दुवै निर्वाचन क्षेत्रमा कांग्रेस उम्मेदवारको अग्रता
तनहुँको दुई वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले अग्रता लिएको छ । प्रतिनिधि सभा सदस्यमा क्षेत्र नम्बर १ मा झिनो मतान्तरले अग्रता लिएको छ भने क्षेत्र नम्बर २ मा फराकिलो मतान्तरले अगाडि छ ।
गाेरखा २ मा प्रचण्डकाे अग्रता, निकटतमभन्दा पाँचहजार १२८ मत बढी
प्रतिनिधिसभा सदस्यकाे लागि भएकाे निर्वाचनमा गाेरखा २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सात हजार ५७ मतसहित प्राप्त गर्नुभएकाे छ ।
म्याग्दीमा मतगणना पुन : सुरु
म्याग्दीमा मतगणना पुन : सुरु गरिएको छ । मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र फेला परेपछि स्थगित भएको मतगणना फेरी सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिनुभयो ।
स्थगन भएका मतदानस्थलमा आज पुनः मतदान हुँदै
यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक विवादका कारण स्थगन मतदानस्थलमा आज पुन मतदान भइरहेको छ ।
स्याङ्जामा कांग्रेसको अग्रता
स्याङ्जा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार राजु थापाले झिनो मतान्तरले अग्रता लिनुभएको छ । पाँच हजार ६३३ मत गणना हुँदा थापाले दुई हजार ४५५ मत हात पार्नुभएको छ भने नेकपा एमालेका नारायण मरासिनीले दुई हजार २५५ मत हात प्राप्त गर्नुभएको हो ।
म्याग्दीमा मतगणना स्थगित
म्याग्दीमा मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र फेला परेपछि मतगणना स्थगित भएको छ । मालिका गाउँपालिका ५ देवस्थान केन्द्रको मतगणनाका क्रममा प्रतिनिधिसभा तर्फका एकसय २ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको फेला परेको हो ।
पर्वतमा मतगणना जारी, कांग्रेसको अग्रता
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनअन्तर्गत पर्वतको मतगणनामा जारी छ । पछिल्लो मतपरिणाम अनुसार गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका अर्जुन प्रसाद जोशीको अग्रता रहेको छ ।
लमजुङमा एमालेको अग्रता
लमजुङमा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङकै अग्रता कायम छ । १७ हजार ९ सय २८ मतगणना गर्दा एमालेका गुरुङले ९ हजार १ सय ९ मत ल्याएका छन् । सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी) केन्द्रका देवप्रसाद गुरुङले ७ हजार २०० मत पाएका छन् ।