साधन घर्ती
म्याग्दी (दरबाङ),जेठ १६ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका –४, दग्नाममा परम्परागत रुपमा प्रकृतिलाई खुसी बनाउन गरिने भुमे पूजाको अवसरमा आयोजित लिङ्गो जुधाउने प्रतियोगितामा दुवै गाउँ बराबरी भएका छन् ।
दुई गाउँबीच मङ्गलबार भएको लिङ्गो जुधाउने प्रतियोगितामा गैरी गाउँ र कान्छी गाउँबाट अग्ला लिङ्गो जुधाइएको थियो । यो वर्ष समान उचाइका दुई वटै गाउँका लिङ्गो बराबरी भएका वडा अध्यक्ष पविन गर्बुजाले बताउनुभयो ।
हरेक वर्षको जेठ महिनामा मनाइने भुमे पूजाको अवसरमा यो प्रतियोगिता सञ्चालन गरिन्छ । करिब चार सय वर्ष पुरानो इतिहास रहेको मानिने लिङ्गो जुधाउने कार्यक्रमलाई यो वर्ष पनि दग्नामवासीले निरन्तरता दिएका हुन् । विशेष गरी प्रकृति पूजाको रूपमा चिनिने भुमे देवतालाई खुसी बनाउन दग्नाममा दुई गाउँबीच लिङ्गो जुधाउने गरिन्छ । दग्नामको भुमे पूजाको मुख्य आकर्षणको रूपमा रहेको लिङ्गो जुधाउने प्रतिस्पर्धामा दग्नामको गैरी गाउँ र कान्छी गाउँले सहभागिता जनाउँदै आएका छन् ।
प्रकृतिको पूजा स्वरूप मङ्गलबार दग्नाममा भुमे पूजा पर्वको अवसरमा दुई गाउँका स्थानीयले मुल्का डाँडामा ध्वजा पतकाले सिँगारिएको बाँसको लिङ्गो प्रतिस्पर्धा गराएका थिए । वडा अध्यक्ष गर्बुजाले भुमे पूजाको अवसरमा मेला समेत सञ्चालन गरिएको जानकारी दिनुभयो । दग्नाम गाउँदेखि माथि शिरमा रहेको डाँडामा निकै रोचक तवरले आयोजित लिङ्गो जुधाइको अवलोकनका लागि गाउँदेखि टाढा तथा प्रवासमा रहेका दग्नामवासी लगायत अन्य छिमेकी गाउँका सर्वसाधारणको समेत बाक्लो उपस्थिति रहेको थियो ।
प्रतियोगिताको अवलोकन गर्न पुग्नुभएका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले परम्परागत मौलिक संस्कृतिलाई संरक्षण र प्रवर्द्धन गर्न आवश्यक रहेको बताउनुभयो । स्थानीय पुर्ख्यौली गीत, नृत्य, पञ्चेबाजाको रमाइलो उत्सवका बीच स्थानीयले बिहान भुमे देवताको पूजा गरेपछि दिउँसो भुमे देवतालाई खुसी बनाउनका लागि लिङ्गो जुधाएको जनता माविका प्रअ गुन पुनले जानकारी दिनुभयो । ‘‘लिङ्गो जुधाई प्रतियोगिता संस्कृतिसँगै हाम्रो पहिचान हो, यसलाई निरन्तरता दिन हामी लागिरहन्छौँ,’’ प्रअ पुनले भन्नुभयो ।
केही वर्ष अगाडिसम्म दुई गाउँबीच प्रतिष्ठालाई बढवा दिएर लिङ्गो जुधाउने गरिने भए पनि पछिल्लो समय भने रमाइलो, खुसीयाली र भावनात्मक प्रतिष्पर्धाको रूपमा लिङ्खो जुधाउने गरिएको छ । खेती किसानी गर्ने परम्परागत पेसा अङ्गालेका मगर समुदायले वन, जङ्गलको छेउछाउमा बसोबास गर्ने भएकाले प्रकृतिलाई खुसी बनाएर कुनै प्राकृतिक प्रकोप र विपत्ति नहोस् भन्ने महोकाङ्क्षाले भुमे पूजा गर्न सुरु गरेको पाइन्छ ।