• १२ वैशाख २०८१, बुधबार

अन्नपूर्ण आधार शिविरमा खानेपानी र सञ्चारको समस्या

blog

अन्नपूर्णको आधार शिविरमा पाल टाँगेर बसेका पर्यटक । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी (बेनी), जेठ १७ गते ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङ स्थित अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरमा खानेपानी र सञ्चार सेवाको सुविधा नहुँदा पदयात्रामा पुगेका पर्यटकलाई समस्या हुने गरेको छ। 

हिमाल आरोहणका लागि आधार शिविरमा बसेका आरोही र पदयात्राका लागि पुगेका पर्यटकलाई खानेपानीको सुविधा र सञ्चार सेवा नहुँदा समस्या भएको मौरिस हर्जोग टे«क व्यवस्थापन समितिका अध्यक्ष तेज गुरुङले बताउनुभयो। सञ्चार स्विधा नहुँदा समस्यामा परेका पर्यटकको उद्धारमा समेत कठिनाइ हुने गरेको उहाँको भनाइ छ। आधार शिविरमा खानेपानी र सञ्चार सुविधाका लागि सम्बन्धित निकायमा पहल भइरहेको मौरिस हर्जोग ट्रेक व्यवस्थापन समितिका अध्यक्ष तथा नारच्याङका पर्यटन व्यवसायी गुरुङले बताउनुभयो। रिले स्टेसन राखेर सञ्चार सुविधाको वैकल्पिक व्यवस्थापन गर्न सकिने बारेमा छलफल भइरहेको उहाँले बताउनुभयो। 

चार हजार १९० मिटरको उचाइमा रहेको आधार शिविरमा क्याम्प खडा गरेर बसेका पर्वतारोहीले खानेपानी र सञ्चार सेवाको व्यवस्थापन गरेमा आरोहणका लागि आएका पर्यटकलाई सहज हुने बताएका छन्। पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा आधार शिविर विकास हुन थालेको छ। आधार शिविरमा स्वदेशी तथा विदेशी पर्यटकको वृद्धि हुन थालेको छ। आधार शिविर पुगेका पर्यटकलाई कुनै समस्या भएमा तत्काल खबर गर्न सञ्चार सुविधा नभएको सेभेन समिट ट्रेक्सका पथप्रदर्शक रवि तामाङले बताउनुभयो। उहाँले भन्नुभयो, “हामी तीन महिनादेखि यहाँ बसेका छौँ। खाद्यान्न सकियो भने खबर गर्न सञ्चार सुविधा छैन। स्याटेलाइट फोनले काम गर्दैन। यहाँ आएका पर्यटकमार्फत खबर पठाउनु पर्दछ।” सञ्चार सुविधा नहुँदा घरपरिवार र आफन्तसँग लामो समयसम्म सम्पर्कविहीन भएर बस्नुपर्ने बाध्यता छ। आरोहीको व्यवस्थापनका लागि तीन महिनादेखि सेभेन समिटले आधार शिविरमा क्याम्प खडा गरेको छ। खानेपानीका लागि दुई घण्टाको दूरीमा रहेको तालमा पुगेर पानी बोकेर ल्याउनुपर्ने बाध्यता रहेको तामाङले बताउनुभयो। पथप्रर्शक तामाङले भन्नुभयो, “यहाँदेखि करिब तीन सय मिटर उचाइमा पानीको मुहान छ। पाइपबाट पानी ल्याउन सकिने सम्भावना छ। पानीको व्यवस्थापन गरिदिए यहाँ आउने पर्यटकका लागि निकै सहज हुने थियो।” 

खानेपानीका हकमा आधार शिविरदेखि माथि रहेको पानीको मुहानलाई व्यवस्थापन गरिदिन गाउँपालिकासँग अनुरोध गरेको उहाँले बताउनुभयो। हिमाल आरोहण गर्न र आधार शिविरमा घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेकाले गाउँपालिकाले खानेपानीको व्यवस्थापन, सञ्चार सुविधा, गोदाम घर निर्माण र थप आश्रयस्थलको आवश्यकता महसुस गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो।