• ८ वैशाख २०८१, शनिबार

गह्रौँ प्राथमिक अस्पतालमा शल्यक्रिया मार्फत प्रसूति सेवा

blog

अर्जुन काफ्ले 

स्याङ्जा, जेठ १७ गते । स्याङ्जाको जिल्ला अस्पतालमा पाइने शल्यक्रिया मार्फत प्रसूति सेवा गह्रौँ प्राथमिक अस्पताल वालिङमा पनि दिन थालिएको छ । अस्पतालले पहिलो पटक वडा नं ६ की ३२ वर्षीय महिलाको शल्यक्रिया मार्फत प्रसूति गराएको हो ।  

यहाँका विशेषज्ञ चिकित्सक डा. नारायण बहादुर गोदार र डा. सुरज ढकालको संयुक्त टोलीले शल्यक्रिया गरेको हो । शल्यक्रिया मार्फत प्रसूति गराएर महिलाले स्वास्थ्य बच्चालाई जन्म दिएको र बच्चाको अवस्था राम्रो रहेको प्राथमिक अस्पतालका प्रमुख डा. ढकालले बताउनुभयो । 

अस्पतालमा प्रसूति सेवा सञ्चालनमा आएसँगै धेरै महिलालाई सहज हुने र प्रसूतिको लागि अन्य अस्पतालमा जानुपर्ने बाध्यताको अन्त्य भएको बताउनुहुँदै डा. ढकालले यो सेवालाई अझ सुविधायुक्त बनाउँदै लैजाने बताउनुभयो । 

वालिङ नगरपालिकामा महिलाहरूलाई शल्यक्रियाको लागि पाल्पा र पोखरा धाउनुपर्ने बाध्यता रहेकोमा अब राहत मिलेको वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले बताउनुभयो । आफूले पदभारको दिन वालिङ गह्रौँ प्राथमिक अस्पतालबाट सेवा दिने उद्घोष गरेको र सार्थकता पाएको बताउनुभयो । 

सबै मिलेर काम गरियो भने असम्भव केही नहुने बताउनुहुँदै खाणले जनताले सेवा पाउने गरी काम गर्नुपर्ने बताउनुभयो । 

गह्रौँ प्राथमिक अस्पतालमा अन्य थप अत्यावश्यक  शल्यक्रिया हाइड्रोसिल, हर्निया र एपेन्डिक्सको पनि सेवा प्रवाह भएको छ ।