आधारभूत सुविधा सबल बनाउने गरी बजेट ल्याउन सांसदको सुझाव
काठमाडौं, जेठ ६ गते। सांसदले आगामी बजेटमा जनताका आधारभूत सुविधालाई सबल र सर्वसाधारणको सहज पुहँच पुग्ने गरी कार्यक्रम ल्याउन सुझाव दिनुभएको छ। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उहाँहरुले मुलुकको वर्तमान आर्थिक सङ्कटलाई मध्यनजर गर्दै बजेटमा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभएको हो।छलफलमा सहभागी सांसद देवप्रसाद तिमिल्सिनाले कडा र जटिल रोगका उपचारका लागि सर्वसाधारण जनतालाई सहज सुविधा प्रदान गर्नुपर्ने व्यवस्था गर्न माग गर्नुभयो। उहाँले द्रुत मार्ग समयमै निर्माण गरेमात्र देशले फड्को मार्ने बताउँदै किसानलाई दिने भनिएको सहुलियत टाठाबाठाले पाउने गरेका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसद यज्ञराज सुनुवारले मुलुकको अर्थतन्त्र सङ्कटमा परेको विषयलाई आफ्नो पार्टीले गम्भीररुपमा लिएर दायित्व बोध गर्दै संसद्को अवरोध एकतर्फीरुपमा हटाई सङ्घर्षको स्वरुप परिवर्तन गरेको बताउनुभयो। उहाँले संसद्मा जारी यो छलफल औपचारिकताका लागि मात्र नहोस् भन्दै सांसदले उठाएका विषयलाई बजेटमा समेट्नुपर्ने बताउनुभयो।सांसद छक्कबहादुर लामाले कृषि, ग्रामीण विकास र पिछडिएका क्षेत्रलाई आगामी बजेटमा प्राथमिकतामा राख्न सुझाव दिँदै समाजिक न्यायको क्षेत्रमा न्यायोचित वितरणमा ध्यान दिन आग्रह गर्नुभयो। सांसद मीना सुब्बाले किसानलाई समयमै बीउबिजन, मलखादको व्यवस्था तथा अन्य सुविधा प्रदान गर्नसके मुलुक खाद्यान्नमा आत्मनिर्भर हुने धारणा व्यक्त गर्नुभयो। स्वास्थ्य, शिक्षा क्षेत्रमा बजेट बढाउन माग गर्दै उहाँले सांसदका सुझाव कार्यान्वयन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो।सांसद खेमप्रसाद लोहनीले आगामी आवको विधेयकका सिद्धान्त र प्राथमिकता राम्रो भएको उल्लेख गर्दै कार्यान्वयन पक्ष प्रभावकारी बनाउन सुझाव दिनुभयो। उहाँले बजेटमा कृषिलाई आत्मनिर्भर बनाउन र शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सुविधालाई सर्वसुलभ बनाउने कार्यक्रम ल्याउन सुझाव दिनुभयो। सांसद रङ्गमति शाहीले उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिँदै सरकारले प्रदान गर्ने सहुलियतमा वास्तविक किसानको पहुँच पुग्न नसकेका सन्दर्भमा यो विषय बजेटको प्राथमिकताको विषय हुनुपर्ने बताउनुभयो।बजेटमा उद्यमशीलता कार्यक्रम ल्याई रोजगारी सिर्जना गर्ने विषयमा जोड दिनुपर्ने उहाँको भनाइ थियो।रासस
कृष्णनगर नगरपालिका प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी
नारद कोहारतौलिहवा, जेठ ६ गते । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । नगर प्रमुखमा रजतप्रताप शाह र उपमेयरमा कांग्रेसकै आरती चौधरी निर्वाचित हुनुभएको हो ।कृष्णनगरको मेयरमा निर्वाचित शाहले राप्रपाका उम्मेदवार दीपक रजौरीयालाई १ हजार ४९४ मतले पराजित गर्नुभयो । शाहले ५ हजार ६०६ मत ल्याउँदा राप्रपाका रजौरीयाले ४ हजार ११२ मत प्राप्त गर्नुभएको हो । निर्वाचित भएका शाह २०७४ को निर्वाचनमा स्वतन्त्रबाट नगर प्रमुखमा विजयी हुनुभएको थियो । शाह केही महिना पहिले नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको हो ।उपप्रमुखमा निर्वाचित कांग्रेसकी चौधरीले ५ हजार ६९१ मत ल्याउदा उहाँको निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)की आरती सिंह यादवले ३ हजार २८२ मत प्राप्त गर्नुभएको हो । कृष्णनगर नगरपालिकामा १२ वटा वडा छन् । जसमध्ये कांग्रेसले तीन, एमाले तीन, जसपाले दुई, माओवादीले दुई, राप्रपा र बहुजन शक्ति पार्टी एक–एक वडामा विजयी भएका छन् ।
विर्तामोड नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी
झापाको विर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेद्वार विजयी भएका छन्। नगर प्रमुखमा पवित्रा महतारा (प्रसाईं) र उपमेयरमा एमालेकै नगेन्द्र संग्रौला निर्वाचित हुनुभएको हो।
निर्यातमा वृद्धि, आयात अचाक्ली वृद्धि हुँदा अर्थतन्त्रमा चाप : सांसद पुन
नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले चालू आवमा निर्यातमा वृद्धि भएको देखिए पनि आयात अचाक्ली वृद्धि हुँदा त्यसले अर्थतन्त्रलाई चापमा पारेको बताउनुभयो ।
पीडकलाई कारवाहीको दायरामा ल्याउन सभामुखद्वारा सरकारलाई निर्देशन
सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसाबारे पछिल्ला दिनमा सार्वजनिक घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै यसका दोषीलाई कानूनी कारवाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
राष्ट्रिय उद्योग उत्पादनको प्रवर्धन गर्न विशेष योजना आवश्यक : सांसद थापा
नेपाली कांग्रेसका सांसद गगन थापाले राष्ट्रिय उद्योग प्रवर्धन गर्न एउटा विशेष योजना आवश्यक रहेको बताउनुभएको छ । शुक्रबारको प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९–८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि जारी छलफलमा भाग लिनुहुँदै सांसद थापाले सो कुरा बताउनुभएको हो ।
प्रतिनिधि सभा बैठक (लाइभ)
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा प्रतिनिधि सभाको बैठक सुरु भएको छ । शुक्रबारको बैठकमा पनि आर्थिक वर्ष २०७९–८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहने छ ।
कर्णाली प्रदेशसभाको १०औँ अधिवेशन आह्वान
कर्णाली प्रदेशसभाको १०औँ अधिवेशन जेठ १० गते दिउँसो २ बजे बोलाइएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले अधिवेशन आह्वान गर्नुभएको हो ।
मधेस प्रदेश सभा १९ गते आह्वान
बैठकले जेठ १९ गते दिउँसो १ बजे प्रदेश सभाको नवौं अधिवेशन आह्वान गर्ने निर्णय गरेको प्रदेश सरकारको प्रवक्ता एवम् अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिनुभयो ।