महेन्द्रको शालिक अनावरण
अविनाश चौधरीधनगढी, वैशाख ५ गते । कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरिया चौकमा स्वर्गीय राजा महेन्द्रको शालिक पुनस्र्थापना गरिएको छ । चोकमा रहेको शालिक २०६२–६३ सालको जनआन्दोलनको क्रममा तोडफोड गरिएको थियो । आन्दोलनकारीले महेन्द्रको शालिक तोडफोड गरेको डेढ दशकपछि अत्तरिया चौकमा पुनः शालिक पुनस्र्थापना गरिएको हो । सोमबार एक कार्यक्रमवीच श्री लोमस गिरी महाराजले शालिकको अनावरण गर्नुभयो । यसअघि, अत्तरिया चौकमा २०४३ फागुन ७ गते स्वर्गीय राजा महेन्द्रको शालिक राखिएको थियो । त्यो बेला तत्कालीन राजा स्वर्गीय वीरेन्द्र वीरविक्रम शाहले शालिकको अनवारण गर्नुभएको थियो । जनआन्दोलनका क्रममा शालिक तोडफोड भएपछि स्थानीय राजनीतिक दल, युवा, बुद्धिजीवी, व्यवसायीको अग्रसरतामा पुनः शालिक पुनस्र्थापना गरिएको हो ।
गृहमन्त्री खाणद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे समस्या सुधार्न निर्देशन
गृहमन्त्री खाणले विमानस्थलभित्र रहेका बैंकका एटीएम मिसिन बिग्रिएर यात्रुहरूले दुःख पाइरहेको गुनासो आइरहेको भन्दै तत्काल समस्या समाधानका लागि पनि निर्देशन दिनुभयो ।
मौरीपालनमा रमाउँदै युवा
चित्र मिजारसिन्धुपाल्चोक, वैशाख ४ गते। पछिल्लो समय सिन्धुपाल्चोकका युवा कृषि व्यवसायमा सक्रिय हुन् थालेका छन्। यस्तै वैदेशिक रोजगारमा जान लागेका इन्द्रावती गाउँपालिका–१२ भीमटारका युवा व्यावसायिक मौरीपालनमा लागेका हुन्।स्थानीय ईश्वर खड्का पूर्णरुपमा मौरी पालन व्यवसायमा लाग्नु भएको छ। उहाँको मात्रै ७५ घारमा मौरी पालन गर्नुभएको छ। उहाँले एक सिजनमै पाँच लाखभन्दा बढी आम्दानी गर्नुहुन्छ। खड्का अहिले सिन्धुपाल्चोककै मौरी पालन व्यवसायकै प्रशिक्षकसमेत हुनुभएको छ। परम्परागत खेती छाडेर खड्का वैदेशिक रोजगारीका लागि विदेश जाने तयारीमा हुनुहुन्थ्यो। तर, कोभिड सङ्क्रमणले वैदेशिक रोजगारीमा रोक लगाएपछि उहाँले गाउँमै मौरी पालन व्यवसाय सुरु गर्नुभएको थियो। विदेशमा गएर पसिना बगाउनु भन्दा आफ्नै गाउँमा बसेर काम गर्दा आम्दानी बढेको खड्काले बताउनु भयो। खड्काले मौरीपालन व्यवसायमा राम्रो आम्दानी हात पार्न थालेपछि अहिले सो स्थानका अरु युवासमेत मौरीपालनमा लागेका छन्।
सर्लाहीमा भारतीय मिनी बसको ठक्करबाट साइकलयात्रीको मृत्यु
जनार्जन खत्री सर्लाही, वैशाख ४ गते । नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको चमेलिमाई मन्दिर नजिकै आइतबार दिउँसो भारतीय बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । हरिवनमा तीर्थयात्रीलाई छाडेर सदरमुकाम मलङ्गवातर्फ फर्कदै गरेको बीआर ०६ टि एफ १०७४ नम्बरको मिनी बसले ठक्कर दिँदा साइकल यात्री कविलासी नगरपालिका–९ का ५८ वर्षीय शङ्कर रायको मृत्यु भएको हो । मलङ्गवा नगरपालिका–१२, मा बसले ठक्कर दिँदा गम्भीर घाइते हुनुभएका रायलाई उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल मलङ्गवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ । दुर्घटनापछि बसका चालक फरार छन् । बस प्रहरीको नियन्त्रणमा छ ।