कौशीमा 'उलार' मञ्चन हुँदै
काठमाडौं, वैशाख ८ गते । कौशी थियटरमा नाटक 'उलार' मञ्चन सुरु भएको छ । नयनराज पाण्डेको उपन्यासको नाट्य रूपान्तर 'उलार' बैशाख ६ गतेदेखि मञ्चन भएको हो ।२५ वर्षअघि प्रकाशित नेपालगञ्जको परिवेशमा बुनिएको सीमान्तकृत जनताको संघर्षको कथा हो 'उलार' । उपन्यासमा २०४६ सालको परिवर्तनपछि देखिएको राजनीतिक चरित्र र सीमान्तकृत वर्गको भोगाइलाई देखाइएको छ । यस नाटकमा थिएटर क्वुइन सरिता गिरी, सबिर चरौटे, शेखर चौलागाँई, अरुण शर्मा, सञ्जय गुप्तालगायतका कलाकारहरूले अभिनय देख्न सकिन्छ ।चे शंकरले निर्देशन गर्नुभएको नाटक वैशाख १८ गतेसम्म चल्नेछ ।
केकी अधिकारी विवाह बन्धनमा बाँधिदै
काठमाडौं, वैशाख ८ गते । अभिनेत्री केकी अधिकारी र रोहित तिवारीबीच आज विवाह हुँदैछ । बुधबार सामाजिक सञ्जालमा उहाँहरुको मेहेन्दी उत्सवको तस्बिर सार्वजनिक गरिएको हो ।नायिका केकी अधिकारीले आफ्नो नजिकका साथीभाइलाई भन्ने गर्नुहुन्थ्यो, 'म सुटुक्क बिहे गर्छु । भोज पनि गर्दिन । नरिसाउनुहोला है ।' केकीको पहिलेदेखि नै सुटुक्क विवाह गर्ने योजना थियो । बिहीबार परिवार र निकट आफन्तको उपस्थितिमा केकीको विवाह हुने जनाइएको छ ।एक वर्षदेखिकाे प्रेम सम्बन्धलाई यी दुईले बिहेमा परिणत गर्न लाग्नुभएकाे हाे । रोहित हाम्रो बजार डटकमका सीईओ हुनुहुन्छ ।
'फिल्म साउथ एसिया-२०२२' बिहीबारदेखि
काठमाडौं, वैशाख ७ गते । दक्षिण एसियाली डकुमेन्ट्रीहरुको १३ औं संस्करण महोत्सव 'फिल्म साउथ एसिया-२०२२' बिहीबारबाट ललितपुरको यल माया केन्द्रमा सुरु हुने भएको छ । महोत्सवमा आठ देशका ७१ वटा फिल्म प्रदर्शन हुने तयारीमा रहेको छ ।चारदिनसम्म चल्ने फेस्टिभलको थिम 'सेलेब्रेटिङ द डकुमेन्ट्री' राखिएको छ । महोत्सवमा दक्षिण एसियाली मुलुकका सामाजिक, सांस्कृतिक आन्दोलनसहित मानवअधिकार, वातावरण र मानवीय मूल्यका आयामबारे प्यानल छलफलसमेत आयोजना गरिनेछ । साथै, यसअघि विभिन्न फिल्म महोत्सवमा अवार्ड जितेका नेपाली वृत्तचित्र पनि प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
रोहित शेट्टीको 'इन्डियन पुलिस फोर्स'
काठमाडौं, वैशाख ७ गते । निर्देशक रोहित शेट्टीको निर्देशनमा बनेको 'इन्डियन पुलिस फोर्स' वेब सिरिजको टिजर सार्वजनिक भएको छ ।बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा सिरिजमा प्रहरीको भूमिकामा देखिने भएका छन् । हालै रोहितले सामाजिक सञ्जालमा सेयर गर्नुभएको टिजरमा रोहितले सिद्धार्थको भूमिकालाई उत्कृष्ट शैलीमा प्रस्तुत गर्नुभएको छ ।यो वेब सिरिज आठ एपिसोडको हुनेछ, जसमा सिद्धार्थ मल्होत्राको एक्सन, सस्पेन्स र देशभक्तिपूर्ण शैली देख्न सकिनेछ ।आफ्नो वेब सिरिजको घोषणा गर्दै रोहितले भारतीय पुलिस बल आफ्ना लागि धेरै विशेष रहेको र वर्षौंदेखि यसमा काम गरिरहेको बताउनुभयो ।
'सरुँ सरुँ लाग्यो' म्युजिक भिडियो सार्वजनिक
काठमाडौं, वैशाख ७ गते । निराजन प्रधान र मिरुना मगर अभिनित म्युजिक भिडियो 'सरुँ सरुँ लाग्यो' सार्वजनिक भएको छ । भिडियो देवीथान नामको युट्यबु च्यानलबाट सार्वजनिक गरिएको हो ।राजेश पुमा राईको निर्देशन रहेको गीतमा राजनराज सिवाकोटीको संगीत, स्वर र सुमन योञ्जनको लेखन रहेको छ। भिडियोमा निराजन र मिरुनाको केमेस्ट्री सुन्दर देखिएको छ । कमल राईले कोरियोग्राफी गर्नुभएको गीतमा सुन्दर नृत्य देख्न सकिन्छ । गीतमा उत्सव दाहालको छायांकन रहेको छ भने सम्पादन विकास दाहालले गर्नुभएको हो ।
आकाश र पूजाको ‘स्वर्गकी अप्सरा’
स्वर्गकी अप्सरा बोलको गीत सार्वजनिक भएको छ । गीतमा कलाकार आकाश श्रेष्ठ र पूजा शर्माको अभिनय रहेको छ । कोरियोग्राफर कविराज गहतराजद्वारा निर्देशित गीतमा दुई कलाकार प्रेमिल मुडमा प्रस्तुत भएका छन् ।
'सिल्ली फो' प्रदर्शन मिति सार्वजनिक
काठमाडौं, वैशाख ६ गते । कमेडी विधामा आधारित फिल्म 'सिल्ली फो' प्रदर्शन मिति सार्वजनिक गरिएको छ । निर्माण टिमले फिल्मको पोष्टर सार्वजनिक गर्दै असार ३१ गतेदेखि प्रदर्शनमा आउने जानकारी दिएको हो ।फिल्मको लेखन र निर्देशन राजबहादुर सानेले गर्नुभएको हो । मनोज डिकेले निर्माण गर्नुभएको फिल्ममा विशाल श्रेष्ठ सह–निर्माता हुनुहुन्छ । फिल्म दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेले छायांकन गर्नुभएको हो ।यस्तै, फिल्ममा केकीका साथै धीरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापाको अभिनय रहेको छ ।
'सम्झना-बिर्सना' को ट्रेलर सार्वजनिक
काठमाडौं, वैशाख ६ गते । पूजा शर्मा र आकाश श्रेष्ठ अभिनित फिल्म 'सम्झना-बिर्सना' को ट्रेलर सार्वजनिक गरिएको छ । निमेष प्रधानको निर्देशनमा बनेको यस फिल्मलाई अद्वितीय प्रधान र रेविका प्रधानले निर्माण गर्नुभएको हो । फिल्ममा पूजा र आकाशसँगै सुनिल थापा, छुल्ठिम गुरुङ, शिशिर राणालगायतको अभिनय देख्न सकिन्छ ।फिल्मको संवाद लेखन शिशिर राणाको रहेको छ । आदित्य फिल्म्स्को प्रस्तुति रहेको 'सम्झना-बिर्सना' मा शिव ढकालको छायांकन र तारा थापा 'किम्भे'को सम्पादन छ ।फिल्म जेठ ६ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
'मिस नेपाल २०२२'काे आवेदन खुला
काठमाडौं, वैशाख ६ गते । 'मिस नेपाल २०२२'का लागि आवेदन खुला गरिएको छ । 'द हिडन ट्रेजर'ले सोमबार पत्रकार सम्मेलन गर्दै आगामी नयाँ संस्करणका लागि आवेदन खुला गरेको जानकारी दिएको हो ।प्रतियोगितामा भाग लिनका लागि सोमबारदेखि वैशाख ३१ सम्म मिस नेपालको वेबसाइटमार्फत् निःशुल्क रूपमा आवेदन दिन सकिनेछ । यस्तै, यसको लागि उचाइ ५ फिट ३ इन्च र उमेर ८ देखि २७ वर्ष हुनुपर्ने छ । अडिसन काठमाडौंलगायत धरान, वीरगञ्ज, धनगढी, नेपालगन्ज, पोखरा र सुर्खेतमा हुनेछ । काठमाडौंमा भने वैशाख ९ देखि २७ सम्म अडिसन हुने आयोजकले जानकारी दिएको हो ।'हिडन ट्रेजर'ले 'मिस नेपाल २०२२' को फाइनल भने असार चार मा ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा गर्ने भएको छ ।