मध्यरातसम्म नेपालगञ्ज उपमहानगरमा ७७९ जनाको विभिन्न पदमा उम्मेदवारी दर्ता
नेपालगञ्ज, वैशाख १३ गते । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बाँकेको नेपालगञ्ज उपमहानगरमा ११७ वटा विभिन्न पदका लागि ७७९ जनाको उम्मेदवारी दर्ता भएको छ । नेपालगञ्ज उपमहानगरको निर्वाचन अधिकृतको कार्यालयका अनुसार मनोनयन दर्तामा अत्यधिक उत्साह देखिएको थियो भने मनोनयन दर्ता गर्ने कार्य सोमबार राति १२ बजेसम्म चलेको थियो । निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नगेन्द्र चौलागाईले मेयरका लागि १८, उपमेयरका लागि १०, २३ वटा वडा अध्यक्षका लागि १६६ जनाले मनोनयन पत्र दाखिला गर्नुभएको बताउनुभयो । उहाँले खुला सदस्यमा सबैभन्दा बढी ३०२ जना, महिला सदस्यका लागि १४९ जना र दलित महिला सदस्यका लागि १३४ जनाले मनोनयन पत्र दर्ता गराउनुभएको बताउनुभयो । सहायक निर्वाचन अधिकृत चौलागाईंले वडामध्ये वडा नम्बर ५ मा सबैभन्दा बढी ११ जनाले मनोनयन दर्ता गराउनुभएको र सबैभन्दा कम वडा नम्बर १०, १२ र १३ मा ५–५ जनाले उम्मेदवारी दिनुभएको बताउनुभयो । ठूला दलहरुलाई उम्मेदवारी दर्ता गराउने समयमा उहाँहरु नपुग्दा र सबैजना एकै पटक पुग्दा मनोनयन दर्तामा ढिलाइ भएको र राति १२ बजेसम्म पनि दर्ता गर्नुपरेको निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जले जनाएको छ । उपमहानगरको प्रमुखमा पाँच जनाले स्वतन्त्र उम्मेदवारी र १३ जनाले विभिन्न दलबाट उम्मेदवारी दिएका छन् । यसैगरी उपप्रमुखमा भने एक जनाको मात्र स्वतन्त्रमा उम्मेदवारी परेको छ भने नौ जनाले विभिन्न पार्टीको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनबाट प्रमुखमा नेपाली काँग्रेसका प्रशान्त विष्ट र उपप्रमुखमा जनता समाजवादी पार्टीका कमरुद्दीन राईले उम्मेदवारी दर्ता गराएका छन् । मेयर उपप्रमुख नपाएपछि गठबन्धनबाट बाहिरिएको घोषणा गरेको नेकपा माओवादी केन्द्रबाट टङ्क धामीले मेयरमा र तारा रोकायाले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् । सोही प्रकारले राप्रपाबाट प्रमुखमा नन्दलाल वैश्य र उपप्रमुखमा बिन्दु चर्तिमगरले उम्मेदवारी दर्ता गराएका छन् भने नेकपा एमालेको तर्फबाट प्रमुखमा पशुपतिदयाल मिश्र र उपप्रमुखमा शान्ति ढकालले उम्मेदवारी दर्ता गराएका छन् । मङ्गलबार दावी विरोध गर्ने दिन रहेको भए पनि यो समाचार तयार पारुन्जेलसम्म कसैले पनि दावी विरोध नगरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उम्मेदवारको सूची सार्वजनिक नहुँदा दाबी विरोधमा समस्या
वैशाख ३० हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका उम्मेदवारमाथि मङ्गलबार दाबी विरोधको समय निर्धारण गरिएको छ । तर, अधिकांश निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरुको अन्तिम नामावलीको सूची प्रकाशन गर्न ढिलाइ गर्दा दाबी विरोधको उजुरी गर्न पनि समस्या भएको छ ।
पाल्पामा दुई जना सदस्य निर्विराेध निर्वाचित, घाेषणा हुन बाँकी
पाल्पा, वैशाख १३ गते । पाल्पामा दुई जना सदस्य पदका लागि नेकपा एमालेको तर्फबाट मात्र उम्मेदवारी परेको छ । पूर्वखोला गाउँपालिकाको वडा नं. २, जल्पामा महिला सदस्य र वडा नं. ५ वीरकोटमा दलित महिला सदस्यकाे मात्र उम्मेदवारी परेको बताइएकाे छ। वडा नं. २ मा महिला सदस्यका लागि भिमीसरा आले र वडा नं. ५ मा दलित महिला सदस्यको लागि पार्वती हिताङ उम्मेदवारी परेको थियो । दुबै जनाले उम्मेद्वारी दिनुभएको पदमा मनोनयन दर्ता गर्ने अवधिसम्ममा अरु कसैको पनि उम्मेदवारी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका १३ जिल्लामा मतपत्र ढुवानी
निर्वाचन आयोगले कर्णाली र सुदूरपश्चिम प्रदेशमा मतपत्र पठाएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले कर्णाली र सुदूरपश्चिम प्रदेशमा मङ्गलबार मतपत्र पठाएको हो । आयोगमा सहसचिव तुलसीबहादुर श्रेष्ठले मङ्गलबार कर्णाली र सुदूरपश्चिम प्रदेशका १३ जिल्लामा मतपत्र ढुवानी गरिएको जानकारी दिनुभयो ।
एक लाख ४४ हजार मनोनयन दर्ता
स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ४४ हजार ४१६ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले मङ्गलबार मध्याह्न साढे १२ बजे सार्वजनिक गरेको तथ्याङ्कनुसार पालिकाको प्रमुख पदमा तीन हजार ३७५ र उपप्रमुख पदमा दुई हजार ६९ जनाको मनोनयन दर्ता भएको छ ।
उम्मेदवारी दर्ता सङ्ख्यामा एमाले सबै दलभन्दा अगाडि
आसन्न बैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष तथा वडा अध्यक्ष पदमा सबैभन्दा बढी उम्मेदवारी नेकपा (एमाले) बाट परेको छ । निर्वाचन आयोगको उम्मेदवारी लगत विवरणअनुसार अन्य दलभन्दा एमालेबाट उम्मेदवारी दर्ताको संख्या बढी देखिएको हो ।
एक लाख ४१ हजार मनोनयन दर्ता
स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ४१ हजार ४६८ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले मङ्गलबार बिहान १० बजेर १५ मिनेटमा सार्वजनिक गरेको तथ्याङ्कनुसार पालिकाको प्रमुख पदमा तीन हजार ३१८ र उपप्रमुख पदमा दुई हजार ३६ जनाको मनोनयन दर्ता भएको छ ।
चुनावी माहौल बढ्यो तर महिलाको उम्मेदवारी भने घट्यो
यस पटकको स्थानीय निर्वाचनमा महिलाको प्रतिनिधित्व अघिल्लो निर्वाचनको भन्दा कम हुने देखिएको छ । स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये एक पदमा महिला हुनुपर्ने व्यवस्था गठबन्धनबाट उम्मेदवारी दिँदा लागू नहुने भएपछि महिलाको प्रतिनिधित्व घट्ने देखिएको हो । महानगर र उपमहानगरमा गठबन्धनबाट उम्मेदवारी दिँदा दुबै पदमा पुरुष परेका छन् । तर दुबै पदमा महिला भने कतै परेका छैनन् ।
भक्तपुरमा ३४ दलबीच प्रतिस्पर्धा हुने
वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचन आयोगको कार्यतालिकाअनुरुप वैशाख ११ र १२ गते उम्मेदवार मनोनयन दर्ताको क्रम जारी छ । भक्तपुर जिल्लामा भक्तपुर नगरपालिका, चाँगुनारायण नगरपालिका, मध्यपुर थिमि र सूर्यविनायक नगरपालिका गरी जम्मा चार स्थानीय पालिका छन् । जिल्ला निर्वाचन कार्यालय भक्तपुरका अनुसार स्थानीय निर्वाचनमा भक्तपुर जिल्लाबाट एक लाख ८४ हजार पाँच सय ८९ मतदाता संख्या रहेको छ ।