काठमाडौं, वैशाख १३ गते । वैशाख ३० हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका उम्मेदवारमाथि मङ्गलबार दाबी विरोधको समय निर्धारण गरिएको छ । तर, अधिकांश निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरुको अन्तिम नामावलीको सूची प्रकाशन गर्न ढिलाइ गर्दा दाबी विरोधको उजुरी गर्न पनि समस्या भएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उम्मेदवारहरुको अन्तिम नामावलीको सूची प्रकाशन गर्न समय लाग्ने जानकारी दिनुभयो ।
यसैगरी, आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले उम्मेदवारहरुको नामावलीको सूची प्रकाशन भएपछि उम्मेदवारविरुद्ध दाबी–विरोध र उजुरी दिने समय सुरु हुने जानकारी दिनुभयो । उहाँका अनुसार यो समाचार तयार पार्दासम्म उम्मेदवारीविरुद्ध दाबी–विरोध गर्ने समय सुरु भएको छैन ।
आइतबार र सोमबार ७५३ वटै स्थानीय तहमा मनोनयन दर्ता सम्पन्न भएको छ । मङ्गलबार उम्मेदवारको विरोधमा उजुरी लिने कार्यतालिका यसअघि सार्वजनिक गरिएको थियो ।
आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार सोमबार नै उम्मेदवारहरुको नामावलीको सूची प्रकाशन गर्नुपर्ने थियो । तर, मङ्गलबार दिउँसोसम्म कम्प्युटरमा प्रविष्ट गर्ने कार्य जारी रहेकाले उम्मेदवारहरुको अन्तिम नामावलीको सूची प्रकाशन गर्न समय लाग्ने आयोगले जनाएको छ ।
कुनै पनि उम्मेदवार अयोग्य भएको लागेमा उनीहरुविरुद्ध जो कोही मतदाताले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उजुरी दिन सक्ने कानुनी व्यवस्था छ ।
उम्मेदवारको अयोग्यता
स्थानीय हत निर्वाचन ऐन २०७३ को परिच्छेद ४ मा उम्मेदवारहरुको योग्यता र अयोग्यता निर्धारित छ । जसमा उम्मेदवारी दिएकाविरुद्ध उजुरी दिन सकिन्छ । ऐनमा उम्मेदवारीविरुद्ध उजुरी दिन सकिने आधारहरु पनि उल्लेख छ । 
गैर नेपाली नागरिक भएमा, नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेमा, कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको र निर्वाचनसम्बन्धी प्रचलित कानुन बमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको पाइएमा उजुरी दिन सकिन्छ ।
यसैगरी, भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग गर्ने विरुद्ध पनि उजुरी दिन सकिन्छ । त्यस्तै, अपहरणसम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाएर वा कुनै कसूरमा जन्मकैद वा बीस वर्ष वा सोभन्दा बढी कैदको सजाय पाइ त्यस्तो फैसला अन्तिम भएको व्यक्ति रहेछ भने पनि उजुरी दिन सकिन्छ ।
सङ्गठित अपराधसम्बन्धी कसुरमा कैदको सजाय पाएर वा कर्तव्य ज्यान सम्बन्धी कसूरमा बीस वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको, जातीय भेदभाव तथा छुवाछुत, बोक्सी वा बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको पाइएमा पनि उजुरी दिन सकिन्छ ।
यसैगरी, जातीय भेदभाव तथा छुवाछुत, बोक्सी वा बहुविवाहसम्बन्धी कसूरमा कैदको सजाय पाई त्यस्तो सजाय गरेको मितिले तीन वर्ष पूरा नभएको, प्रचलित कानुन बमोजिम कालोसूचीमा रहेकोमा सो अवधिभर, कैदमा बसेकोमा कैद बसेको अवधिभर, मानसिक सन्तुलन ठीक नभएको र प्रचलित कानुनले अयोग्य भएका उम्मेदवारहरुमाथि दाबी–विरोध गर्न पाइने छ ।
उम्मेदवारी रद्द हुने 
कुनै उम्मेदवार निर्वाचन परिणाम नहुँदै दफा १३ बमोजिम अयोग्य छ वा हुन गएको छ भन्ने प्रश्न उठी तत्सम्बन्धमा आवश्यक छानबिन गरी निर्वाचन अधिकृतले अयोग्य भएको ठहर गरेमा त्यस्तो उम्मेदवारको उम्मेदवारी रद्द हुनेछ । उम्मेदवारी रद्द गर्नुअघि निर्वाचन अधिकृतले सम्बन्धित उम्मेदवारलाई कम्तीमा चौबीस घण्टाको समय दिई आफ्नो सफाइ पेश गर्ने मौका दिनुपर्ने हुन्छ । 
मनोनयनपत्र बदर हुने
संविधान र ऐन बमोजिम उम्मेदवारको योग्यता नभएमा, उम्मेदवार हुने व्यक्तिको मञ्जुरी नभएमा वा निजको वा निजको प्रस्तावक र समर्थकको सहीछाप नभएमा वा कीर्ते सहीछाप भएमा, दफा ५ को उपदफा २ बमोजिम तोकिएको समयभित्र मनोनयनपत्र दर्ता नभएमा, दफा १७, १८ र १९ मा लेखिए बमोजिम मनोनयनपत्र दाखिला नभएमा, दफा ६२ बमोजिमको धरौटी नराखेमा र यस ऐन बमोजिम अन्य रीत नपुगेको भएमा मनोनयनपत्र बदर हुने छ । 
नाम फिर्ता लिने
कुनै उम्मेदवारले आफ्नो नाम उम्मेदवारको नामावलीबाट हटाउनका लागि नाम फिर्ता दिन चाहेमा तोकिएको समयभित्र निर्वाचन अधिकृतलाई लिखित सूचना दिई आफ्नो नाम फिर्ता दिन सक्ने कानुनी व्यवस्था छ ।
नाम फिर्ता लिएको सूचना उम्मेदवार आफैँले वा निजको प्रतिनिधिले दाखिला गर्नुहुर्नेछ, नाम फिर्ता लिएको सूचना निर्वाचन अधिकृतसमक्ष दाखिला भइसकेपछि त्यस्तो सूचना बदर गर्न वा फिर्ता लिन पाउने छैन । साथै दाखिला भएको सूचनाको बारेमा निर्वाचन अधिकृत विश्वस्त भएमा नाम फिर्ता लिने उम्मेदवारको नाम उम्मेदवारको नामावलीबाट हटाउनु पर्ने छ र नाम हटाइएको सूचना निर्वाचन अधिकृतले आफ्नो कार्यालयमा तुरुन्त प्रकाशन गर्नुपर्ने छ ।
त्यस्तै, कुनै दलको तर्फबाट उम्मेदवारी दिएको कुनै उम्मेदवारको सम्बन्धमा तोकिएको पदाधिकारीले निजको नाम फिर्ता लिने गरी निर्वाचन अधिकृतलाई तोकिएको समयभित्र लेखी पठाएमा निजलाई उम्मेदवारको रुपमा कायम राखिने छैन । 
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                