• १४ जेठ २०८१, सोमबार

हेलिप्याड गाउँपालिकालाई हस्तान्तरण

blog

सङ्घीय सांसद सीता राना नेपाली सेनाले निमार्ण गरेको हेलिप्याड गाउँपालिकालाई हस्तान्त्रण गर्नुहुँदै । तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट, वैशाख २४ गते ।
 कालीकोटको शुभकालिका वडा नं. ५ सुकाटियामा नेपाली सेनाले हेलिप्याड निर्माण गरेको छ । सेनाले चालु आर्थिक वर्षको शीघ्र प्रभाव आयोजनाअन्तर्गत विनियोजित १० लाख बजेट खर्च गरेर एक महिनाको अवधिमा हेलिप्याड निर्माण गरी गाउँपालिकालाई हस्तान्तरण गरेको हो । जटिल अवस्थाका सुत्केरी महिला तथा विपदमा परेका नागरिकको हवाई उद्धार गर्न नेपाली सेनाको सहयोगले हेलिप्याड निमार्ण भएको हो ।

भरपर्दो सडक यातायात नभएको शुभकालिका ४, ५ र ६ नं वडालाई पायकपर्ने गरी सुकाटियामा निर्माण भएको हेलिप्याड दैलेखकी सङ्घीय सांसद सीता रानामार्फत नेपाली सेनाले गाउँपालिकालाई हस्तान्तरण गरेको छ । शमशेर गुल्म मान्मका गुल्मपति सेनानी रञ्जित कार्कीले एक महिनाको अवधिमा आफ्नै जनशक्ति परिचालन गरेर हेलिप्याड निर्माण गरेर हस्तान्तरण गरेको बताउनुभयो । सेनानी कार्कीले सुकाटियाको डाडो सम्याएर हेलिप्याड बनायौँ, जटिल अवस्थाका सुत्केरी, विपद्का घाइते लगायतको उद्धार गर्न सहज सुनाउनुभयो ।

सेनानी कार्कीले सडकको अवस्था राम्रो नभएको शुभकालिकाबाट आकस्मिकरुपमा घाइते तथा बिरामीको उद्धार गर्न हेलिप्याड उपयोगी हुने बताउनुभयो । गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद आचार्यले नेपाली सेनाले गाउँपालिकाको केन्द्रमा हेलिप्याड निर्माण गरेर ठुलो सहयोग गरेको बताउनुभयो । अध्यक्ष आचार्यले अप्रेसन गर्नुपर्ने खालका सुत्केरी महिला, विपद्बाट घाइते भएकालाई हेलिप्याड सहयोगी हुने सुनाउनुभयो ।

सडकको सहज पहुँच नभएको भए पनि गाउँपालिका भित्रका सुत्केरी वा दुर्घटनामा परेका व्यक्तिलाई अस्पताल पुर्‍याउन ढिलाइ भएर अब कसैको मृत्यु भएको खबर सुन्न नपाइने गाउँपालिकाको विश्वास छ । अध्यक्ष आचार्यले गाउँपालिकाको अनुरोधलाई स्वीकार गरेर सेनाले हेलिप्याड बनाइ दिएकोमा धन्यवाद दिँदै हेलिप्याडको उचित संरक्षण, रेखदेख र मर्मत, सुधार गर्ने प्रतिबद्धता गर्नुभयो । गाउँपालिका उपाध्यक्ष धर्मकला शाहीले हेलिकोप्टर बस्ने ठाउँको अभावले कुनै पनि दिदीबहिनीको ज्यान अब नजाने बताउनुभयो ।

जटिल समस्या भएको स्वास्थ्य शाखा र सम्बन्धित स्वास्थ्यकर्मीले सिफारिस गर्ने बित्तिकै हेलिकोप्टरबाट उद्धार गर्न सिफारिस हुने बताउनुभयो । प्राय जोखिममा रहेका सुत्केरी र गर्भवती तथा विपदमा परेका नागरिकको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर परिचालन हुने भएकाले नेपाली सेनाले स्थानीय सरकारको माग अनुसार हेलिप्याड निमार्ण गदै आएको छ ।