• ४ असार २०८२, बुधबार

‘स्वदेश फर्केर उद्यम गर्नेलाई सरकारको सहयोग रहन्छ’

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असार ४ गते । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैदेशिक रोजगारीका क्रममा आर्जित सिप र अनुभवलाई स्वदेशमा फर्किएर उद्यममा रूपान्तरण गर्नेलाई सरकारको सहयोग रहने बताउनुभएको छ । उद्यमशीलता प्रवर्धन सरकारको मुख्य लक्ष्य भएको स्पष्ट पार्दै उहाँले अन्तर्राष्ट्रिय तहमा सिकेको सिप, आर्जन गरेको अनुभव र सङ्कलन गरेको पुँजी नेपाली अर्थतन्त्र विकासको आधार हुन सक्ने स्पष्ट पार्नुभयो । 

वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा काम गरी फर्किएर उद्यमी बनेका नेपालीको सफल कथा समेटिएको पुस्तक “तपाईं पनि मालिक बन्न सक्नुहुन्छ’ को मङ्गलबार काठमाडौँमा सार्वजनिक कार्यक्रममा मन्त्री पौडेलले उद्यमशीलताबाटै अर्थतन्त्र समृद्धि बन्न सक्ने बताउनुभयो । 

प्राकृतिक सम्पदाले भरिपूर्ण भएर पनि त्यसलाई आर्थिक अवसरमा रूपान्तरण गर्न अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै उहाँले दक्षिण कोरियामा आर्जित सिप, पुँजी, ज्ञान र अनुभवले नेपालमा सफल उद्यमी बन्नु अरूका निम्ति समेत उदाहरणीय काम भएको बताउनुभयो । 

कार्यक्रममा मन्त्री पौडेल र नेपालका निम्ति दक्षिण कोरियाका राजदूत पार्क थेयङले पुस्तकको संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो । त्यस अवसरमा राजदूत पार्कले नेपालको समृद्धि लक्ष्यमा पुग्न दक्षिण कोरियाले साझेदारी गर्न चाहेको बताउनुभयो । उहाँले विगत दई दशकमा झन्डै एक लाख नेपाली श्रमका निम्ति दक्षिण कोरिया पुगेको जानकारी दिँदै त्यहाँबाट फर्किएका श्रमिकलाई नेपालमै सफल उद्यमीका रूपमा हेर्न चाहेको बताउनुभयो । त्यसका निम्ति ज्ञान, तालिमलगायतका सहयोग अगाडि बढिरहेको बताउँदै उहाँले यो पुस्तकले दुई देशका श्रम र उद्यमशीलता साझेदारीलाई पनि सम्बोधन गर्न सकेको स्पष्ट पार्नुभयो ।

दक्षिण कोरियाबाट फर्किएर उद्यम गरिरहेका ५० जना  उद्यमीको सफलताको कथा सङ्कलन गर्न पाउँदा आफूलाई खुसी लागेको पुस्तकका लेखक शिवप्रसाद पोखरेलले जानकारी दिनुभयो । त्यस अवसरमा उद्यमीको प्रतिनिधित्व गर्दै सुरेशबहादुर क्षेत्री र धर्मराज जोशीले दक्षिण कोरियाको श्रम बजारले रोजगारी मात्र दिने होइन, उद्यमी बन्न सक्ने उत्साह र हौसलासमेत दिएको स्वअनुभव सुनाउनुभयो । 

त्यस अवसरमा नेपालका लागि दक्षिण कोरियाको राजदूतावासले ५० जना सफल उद्यमीलाई सम्मान गरेको थियो ।