नेपालगञ्ज र कोहलपुरमा दाजुभाइको मनोनयन
नेपालगञ्ज, वैशाख १४ गते । नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा एकै घरका दुई दाजुभाइले मनोनयन दर्ता गर्नुभएको छ । उपमहानगरपालिका–१ मा फरक–फरक पार्टीबाट दाजुभाइले उम्मेदवारी दर्ता गराउनुभएको हो । सो वडाको वडाध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट विनोद रिजाल र नेकपा (एमाले)को तर्फबाट प्रमोद रिजालले उम्मेदवारी दिनुभएको छ । काँग्रेसबाट उम्मेदवारी दिनुभएका विनोदले २०४६ देखि विद्यार्थी राजनीति सुरु गर्नुभएको हो । उहाँ हाल तरुण दल बाँकेको सचिव हुनुहुन्छ । विनोदका प्रतिस्पर्धी आफ्नै सहोदर भाइ प्रमोद अघिल्लो कार्यकालको पनि वडाध्यक्ष हुनुहुन्छ । । उहाँ उपमहानगरपालिकाको प्रवक्तासमेत हुनुहुन्थ्यो । वडाध्यक्ष हुनुअघि प्रमोद कानुन व्यवसायी हुनुहुन्थ्यो त्यस्तै कोहलपुर नगरपालिकामा पनि दुई सहोदर दाजुभाइबीच प्रतिस्पर्धा हुने भएको छ । नगरपालिकाको वडा नं ३ मा भाइ माधव रिजाल र दाजु तारकेश्वर रिजालबीच प्रतिस्पर्धा हुने भएको छ । माधव २०७४ सालमा निर्वाचित वडाध्यक्ष हुन् भने दाजु तारकेश्वर त्यतिबेला उहाँसँग ६५ मतले पराजित हुनुभएको थियो । माधव एमालेबाट तथा तारकेश्वर नेकपा (माओवादी) केन्द्र)बाट वडाध्यक्षका लागि भिड्दै हुनुहुन्छ । जिल्लाको आठ स्थानीय तहमा ४२१ पदका लागि दुई हजार ३२९ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन सुरक्षा व्यवस्थापन संवेदनशील
गोरखापत्र समाचारदाता काठमाडौँ, वैशाख १४ गते । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन लक्षित शान्ति सुरक्षा व्यवस्थापनसम्बन्धी चुनौती एकपछि अर्को गर्दै थपिन थालेका छन् । निर्वाचन सुरक्षामा राजनीतिक दल र कार्यकर्ता मुख्य चुनौतीका रूपमा देखिएको सुरक्षा अधिकारी बताउँछन् । यही ३० गते हुने निर्वाचनका लागि सोमबार र मङ्गलबार उम्मेदवारी मनोनयन पत्र दर्ता सम्पन्न भएको छ । नेपाल प्रहरीका अनुसार उम्मेदवारी मनोनयन पत्र दर्ताकै क्रममा एक दर्जन स्थानीय तहहरूमा दलकै कार्यकर्ताहरूबीच कुटाकुट भएको छ । पूर्वप्रहरी नायव महानिरीक्षक हेमन्त मल्ल भन्नुहुन्छ– निर्वाचनको सुरुवाती चरणमा नै कुटाकुट हुनु राम्रो होइन । निर्वाचनमा होमिएका पक्ष–प्रतिपक्षभन्दा दलभित्रकै गुटबीच कुटपिटका घटना भएको उहाँले स्मरण गराउनुभयो । मुलुकमा गणतन्त्र आइसकेपछि एक अर्को पार्टी र कार्यकर्ताबीचको झगडा भने घट्दै गएको पाइन्छ । यसमा राजनीतिक चेतना र शिक्षासँगै कठोरता हट्दै गएको देखिएको भन्दै उहाँले थप्नुभयो– “अहिलेसम्म कति जना घाइते भइसक्थे होलान् । तर त्यस्तो अप्रिय घटना भएको छैन । यसमा सुरक्षाकर्मीले अपनाएको उच्च सुरक्षा सतर्कता पनि महìवपूर्ण पक्ष हो ।” उम्मेदवारी मनोनयन पत्र दर्तादेखि चुनाव प्रचारप्रसार तथा सभासमारोहका क्रममा हुनसक्ने सम्भावित झडप, कुटाकुट, मतदानको दिन मतदातालाई तर्साउने, दबाब दिने, फर्जी मत हाल्ने र बुथ कब्जा गर्ने जस्ता चुनौती चुनावमा देखिन्छन् ।“यस्ता विषयका सम्बन्धमा शान्तिसुरक्षा चुनौती विश्लेषण मतदान स्थलमै तत्कालै गरी आवश्यक सुरक्षा प्रबन्ध मिलाउनुपर्ने हुन्छ,” उहाँले सुझाव दिँदै भन्नुभयो– “मतदानअघि गरेको सुरक्षा चुनौती विश्लेषणले कहिलेकाहीँ धोका दिनसक्छ ।” त्यस्तै मतगणनाका क्रममा मतपत्र च्यात्ने, चपाउने, मसी छर्किने, जबर्जस्ती बदर गराउने, मतपेटिका तोडफोड गर्ने, निर्वाचान टोली र सुरक्षाकर्मीमाथि धावा बोल्ने, वैध तथा अवैध हतियार देखाई मतदाता तर्साउने जस्ता चुनौती दोहोरिन दिन नहुने सुझाव उहाँको छ । “निर्वाचनलाई शान्त, स्वतन्त्र, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न राजनीतिक दलको नै मुख्य जिम्मेवारी हुन्छ,” सुरक्षा विश्लेषक नारायणबाबु रेग्मी भन्नुहुन्छ– “पार्टीगत तथा व्यक्तिगत स्वार्थभन्दा स्वस्थ प्रतिस्पर्धामा विश्वास गर्नुपर्छ ।” प्रजातन्त्र र लोकतन्त्रको सुनौलो पक्ष यही हो, स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व छान्न आवश्यक छ । आस्था, विचार र पार्टी फरक भए पनि नेता कार्यकर्ताहरूबीच दुस्मनी साँध्ने काम सुरक्षा चुनौतीका रूपमा देखिएको उहाँले बताउनुभयो । निर्वाचन आयोग र सुरक्षा निकायहरूको भूमिका प्रभावकारी बनाउन दलहरू नै जिम्मेवार र प्रतिबद्ध हुन जरुरी छ । उहाँका अनुसार निर्वाचन आचारसंहिता कार्यान्वयमा प्रतिबद्धता, राजनीतिक इमानदारी र आचरण सुधार जरुरी छ । निर्वाचन अयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल आसन्न स्थानीय तह निर्वाचन स्वच्छ, शान्त, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार, सुरक्षा निकाय, राजनीतिक पार्टी, नागरिक समाज, पर्यवेक्षकलगायत सबैसँग सहयोग गर्न आह्वान गरिएको बताउनुभयो ।
स्थानीय निर्वाचन : एक लाख ५० हजार ४७९ उम्मेदवार
काठमाडौं, वैशाख १३ गते। वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि एक लाख ५० हजार ४७९ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। देशभरका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका प्रमुख र उपप्रमुखसँगै वडाअध्यक्षदेखि सदस्यसम्मले आइतबार र सोमबार मनोनयन दर्ता गराएका हुन्।निर्वाचन आयोगका अनुसार स्थानीय तहको चुनावका लागि देशभरबाट महानगर, उपमहानगर र नगरपालिका प्रमुखका लागि ३४ सय बढीले उम्मेदवारी दर्ता गराएका छन्। देशभर ३४ सय ६६ जनाले प्रमुख (मेयर) पदका लागि उम्मेदवारी दर्ता गराएको आयोगले उल्लेख गरेको छ। त्यसैगरी उपप्रमुख पदमा २१ सय ३५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। सँगै गाउँपालिका अध्यक्षका लागि ३३ सय ७८ जनाले मनोनयन दर्ता गर्दा उपाध्यक्ष पदमा २३ सय ९२ जनाले मनोनयन दर्ता गराएका छन्। आयोगले सार्वजनिक गरेको बुलेटिन अनुसार वडाध्यक्षका लागि ३४ हजार ९४२ जनाले मनोनयन दर्ता गरेका छन्। महिला सदस्यका लागि २६ हजार ६१, दलित महिला सदस्यका लागि २३ हजार ४५६ र खुला सदस्यका लागि ५४ हजार ६४० जनाले उम्मेदवारका लागि मनोनयन दर्ता गराएका छन्। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले आइतबार र सोमबार दुई दिन समय दिएको थियो।
काठमाडौं महानगर प्रमुखमा ५६ जनाको उम्मेदवारी : आठ जना महिला
सपना थामीकाठमाडौं, वैशाख १३ गते। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको प्रमुख पदमा ५६ जनाको उम्मेदवारी दर्ता भएको छ। काठमाडौंमा उपप्रमुख पदका लागि ३३ जनाको उम्मेदवारी रहेको मुख्य निर्वाचन कार्यालय, काठमाडौंका शाखा अधिकृत प्रेमकुमार श्रेष्ठले जानकारी दिनुभयो। शाखा अधिकृत श्रेष्ठका अनुसार प्रमुख पदमा उम्मेदवारी दिएकामध्ये २१ जना राजनीतिक दल र ३५ जना स्वतन्त्र उम्मेदवार छन्। काठमाडौंको मेयर पदमा आठ जना महिलाले उम्मेदवारी दर्ता गर्नुभएको छ। नेपाली काँग्रेसकी सिर्जना सिंह, नेकपा एमालेका केशव स्थापित, लोकतान्त्रिक समाजवादी पार्टीका दानिन्द्र जोशी, राष्ट्रिय यथार्थवादी पार्टी नेपालका आनन्दराज जोशी, नेपाल कम्युनिष्ट पार्टी समाजवादीका काजीलाल श्रेष्ठ, सचेत नेपाली पार्टीका डिल्लीराम राजभण्डारी, नेपाली जनता दलका निश्चल जोशी, नेपाल परिवार दलका पियरत्न महर्जन, उन्नत लोकतन्त्र पार्टीका प्रेमसागर कर्मचार्य, नेपाली काँग्रेस (बीपी)का भक्तराज भुषाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठ, मौलिक जरोकिलो पार्टीका मनोजराज आचार्य, नेपाल समावेशी पार्टीका रामबहादुर खड्का, आमुल परिवर्तन मसिहा पार्टी, नेपालका रुपा सुवाल, नेपाः राष्ट्रिय पार्टी स्वतन्त्रका विजयप्रकाश सैजु, विवेकशील साझा पार्टीकी समीक्षा देवकोटा, नेपाल जनता पार्टीकी सरिता घिमिरे, मंगोल नेशनल अर्गनाइजेसनका सीता तामाङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सुरज श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका सुरेन्द्र महर्जन, आधुनिक नेपाल समाजवादी पार्टीका सुरेशरत्न बज्राचार्यले काठमाडौं महागर प्रमुख पदका लागि उम्मेदवारी दर्ता गर्नुभएको हो। काठमाडौं महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवारमा अमोट महर्जन, इन्द्रमणि कपाली, उमेशकुमार सिंह, कान्ति तुलाधर (बज्राचार्य), किरण रञ्जित, जेठा महर्जन, ज्ञानु लामा तामाङ, दीपक सिलवाल, निमकान्त पाण्डे, न्हुज मानन्धर, प्रणेशबहादुर मल्ल, बच्पनराज श्रेष्ठ, बाबुराजा संगत, मधुसुदन खड्का (केसी), मनिष श्रेष्ठ, महेन्द्र प्रजापति, रञ्जितमान शाक्य, रविकान्त मानन्धर, राजन कार्की, राजेन्द्र बस्नेत, राहुल मानन्धर, रोशन शाही, बालेन्द्र शाह, विजय मानन्धर, विनय स्थापित, विपिनराज वैद्य, शैलेन्द्रमान श्रेष्ठ, सन्देश शाक्य, नरेन्द्र बज्राचार्य, सुनिल श्रेष्ठ, सुमन सायमी, सुशीला थापा क्षेत्री, सूर्य थापा (श्रेष्ठ), शैलेश ढुङ्गाना र स्वइट थापा हुनुहुन्छ। यस्तै, ३३ उपप्रमुखमध्ये १४ जनाले दलका तर्फबाट र १९ जनाले स्वतन्त्र उम्मेदवारको रुपमा मनोनयन दर्ता गर्नुभएको हो। यसमध्ये १३ जना महिला उम्मेदवार हुनुहुन्छ। मध्ये नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ, नेकपा एमालेकी सुनिता डंगोल, नेपाली काँग्रेस (बीपी) का इन्दिरा अधिकारी थापा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उदय खड्गी, मौलिक जरोकिलो पार्टीका कल्पना ओझा, विवेकशील साझा पार्टीका मीर्ति कंसाकार, आधुनिक नेपाल समाजवादी पार्टीका गुणबहादुर बञ्जारा क्षेत्री, नेपाल सुशासन पार्टीका पुष्पा खरेल, नेपाली जनता दलका बन्दना बज्राचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका विनिता मगैया, सचेत नेपाली पार्टीका संगीता आचार्य, नेपाल मजदुर किसान पार्टीका सबिता श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका शारदा देवी मगर र उन्नत लोकतन्त्र पार्टीका पनिता थापा मगर हुनुहुन्छ। काठमाडौं उपप्रमुखमा स्वतन्त्र उम्मेदवारमा अम्बरबहादुर खत्री, आशिषचन्द्र तुलाधर, आशिष महर्जन, उमा गुरुङ, कृष्ण तण्डुकार, जुगल तण्डुकार, नरेन्द्रमान डंगोल, मोहनकृष्ण श्रेष्ठ, रञ्जन डंगोल, रमेशप्रसाद जोशी, रवि नापित, राजेन्द्र दड्गी, राजेश शाही, रिङ्कु श्रेष्ठ, विद्या श्रेष्ठ (महर्जन), विश्व विजय श्रेष्ठ, बेन्जी सिंह महर्जन, सहेम खड्गी र सानु महर्जन छन्। काठमाडौं महानगरका ३२ वडामा ३२ वडा अध्यक्ष पदका लागि दुई सय २१ जनाको मनोनयन दर्ता भएको छ। ६४ जना वडा सदस्य पदका लागि तीन सय दश जना, ३२ जना महिला सदस्य पदमा एक सय ४५ जना र ३२ जना दलित महिला सदस्य पदका लागि ९० जनाले मनोनयन पत्र दर्ता गराउनुभएको छ। प्रमुख, उपप्रमुख, वडा अधयक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य गरी जम्मा एक सय ६२ पदमा आठ सय ५९ जनाबीच प्रतिस्पर्धा हुने भएको छ।
किन ढिला भयो मनोनयन दर्ताको विवरण सार्वजनिक गर्न ?
स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार भएको मनोनयन दर्ताको अन्तिम विवरण मंगलबार अपराह्नसम्म सार्वजनिक हुन सकेको छैन।
सिद्धार्थनगर उपप्रमुखमा २५ वर्षीया खातुनको उम्मेदवारी
कपिल ज्ञवालीसिद्धार्थनगर, वैशाख १३ गते। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा २५ वर्षीया आसमा खातुनले उपप्रमुख (उपमेयर) मनोनयन दर्ता गर्नुभएको छ। खातुनले जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट उपप्रमुखमा उम्मेदवारी दर्ता गराउनुभएको हो।स्थानीय तहमा युवा जिम्मेवार बन्नुपर्ने भन्दै उहाँले उम्मेदवारी दिनुभएको हो। नगरपालिकाको विकासको लागि आफूले योगदान गर्ने उहाँको भनाइ छ। जसपाबाट सिद्धार्थनगर नगरपालिकाको प्रमुख (मेयर)मा मातृकाप्रसाद यादवले उम्मेदवारी दर्ता गर्नुभएको छ। यादव केही दिनअघि नेपाली कांग्रेस परित्याग गरेर जसपामा प्रवेश गर्नुभएको हो। यादव नेपाली कांग्रेसको क्षेत्रीय सभापति हुनुहुन्थ्यो।
एक लाख ४७ हजार मनोनयन दर्ता
स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ४७ हजार २७४ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले मङ्गलबार दिउँसो ३ बजेर १५ मिनेटमा सार्वजनिक गरेको तथ्याङ्कनुसार पालिकाको प्रमुख पदमा तीन हजार ४३० र उपप्रमुख पदमा दुई हजार ९७ जनाको मनोनयन दर्ता भएको छ ।
२१ वर्षमै वडा सदस्य उम्मेदवार
लक्ष्मण पौडेलभैरहवा, वैशाख १३ गते। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ की स्वेताकुमारी हरिजनले २१ वर्षकै उमेरमा वडा सदस्यमा उम्मेदवारी दिनुभएको छ। वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि उहाँले एमालेका तर्फबाट मंगलबार सिद्धार्थनगर नगरपालिका–६ को वडा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो।स्वेताले दलित महिला सदस्यको रुपमा उम्मेदवारी दर्ता गराउनुभएको हो। रुपन्देहीका १६ वटा पालिकामा करिव २४ सय जनाले मनोनयन दर्ता गराएकोमा उहाँ नै सबैभन्दा कान्छी उम्मेदवार हुन्ुहुन्छ। पिछडिएको समुदायका लागि केही गर्नसक्छु भनेर उम्मेदवारी दिएको स्वेताले बताउनुभयो। उहाँले पार्टीले आफूलाई उम्मेदवार बनाएकोमा धन्यवादसमेत दिनुभएको छ। ‘पार्टीले मलाई विश्वास गरेर उम्मेदवार बनाएको छ, यो आम युवाप्रतिको विश्वास हो, म यो विश्वासलाई टुट्न दिने छैन’, उहाँले भन्नुभयो। स्वेता स्नातक तहमा अध्ययनरत हुनुहुन्छ। विकासमा युवाको भूमिका महत्वपूर्ण रहने उहाँको भनाइ छ। सिद्धार्थनगर–६ मा एमालेबाट वडाअध्यक्षमा रामदयाल गुप्ता, वडा सदस्यमा अनिता क्षेत्री, रामप्रसाद श्रेष्ठ, मोहम्मद अकिल मुसलमान र स्वेता कुमारी हरिजनले उम्मेदवारी दर्ता गराउनुभएको हो।
चितवनमा दुई वडा सदस्य निर्विरोध
चितवन जिल्लामा दुई जना वडा सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ।