सिन्धुपाल्चोकमा दुई केन्द्रमा झडप : पुनः मतदानका लागि पहल जारी
चित्र मिजारसिन्धुपाल्चोक, वैशाख ३० गते । नेपाली कांग्रेस र एमाले कार्यकर्ताबीच मतदानका विषयमा विवाद हुँदा झडप भएपछि स्थितिलाई नियन्त्रणमा ल्याउन बाह्रबिसे नगरपालिका–३ क्षमादेवी मावि मतदान केन्द्रमा झडप भएको छ ।स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चार राउण्ड हवाईफाइरिङ गरेको थियो । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक मुकेश न्यौपानेले झडपमा एमाले र कांगे्रसका चारजना कार्यकर्ता घाइते भएका छन् ।उक्त झडपलाई नियन्त्रणमा ल्याउन सुरक्षाकर्मीले हवाई फयारिङ गर्नु परेको जानकारी दिनुभयो । झडपपछि मतदान रोकिएको छ । अहिले सर्वदलीय बैठक बसिरहेको छ । बैठकमा सबै दल मतदान सुचारु गर्न सहमतीमा पुगेको इन्स्पेक्टर न्यौपानेले बताउनुभयो ।त्यस्तै, मतदानमा खटिएका कर्मचारीलाई काँगे्रस प्रतिनिधिले ले मःम, फुर्टी खाजा ल्याइदिएपछि त्रिपुरासुन्दरी गाउँपालिका–३ धुस्कुनमा विवाद भएको छ । सुरक्षाकर्मी र काँग्रेस कार्यकर्ताबीच झडप भई मतदान रोकिएको छ ।धुस्कुनस्थित महेन्द्रप्रताप मावि मतदान केन्द्रमा भइरहेको मतदान समयमा मःम र अन्य खाजा ल्याएपछि सुरक्षाकर्मीले खाजा खुवाउन नदिएपछि झडप भएको थियो ।झडपले उग्ररुप लिएपछि सो मतदान केन्द्रको सबै मतपेटीका सुरक्षाकर्मीले मतदान केन्द्रको कोठाभित्र सुरक्षित तरिकाले राखेको स्थानीय सञ्चारकर्मी सीमा तामाङले जानकारी दिनुभएको छ । यसबारे जिल्ला प्रहरी कार्यालयले घटनाको विवरण संकलन गरिरहेको जनाएको छ । उक्त मतदान केन्द्रमा दुई हजार नौ सय मतदाता छन् । अहिलेसम्म एक हजार मत खसेको छ ।
श्रममन्त्री श्रेष्ठद्वारा दमौलीमा मतदान
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार मतदान गर्नुभएको छ । उहाँले तनहुँको व्यास नगरपालिका–४ स्थित मदर्सा आधारभूत विद्यालय मतदानस्थलमा मतदान गर्नुभएको हो ।
मुख्यमन्त्री शाहीद्वारा मान्धारा माविको भकुण्डामा मतदान
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाहीले स्थानीय तह निर्वाचनका लागि मतदान गर्नुभएको छ । उहाँले खार्पुनाथ गाउँपालिका–५ को मानधारा मावि भकुण्डाको मतदान केन्द्रमा मतदान कार्य गर्नुभएको हो ।
लक्ष्मीपुरको झडपमा १५ घाइते
मतदानकै क्रममा लक्ष्मीपुरस्थित खरिदी प्राथमिक विद्यालय भवनमा रहेको मतदान स्थलमा दुई पक्षबीच विवाद भएपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको छ । झडपमा अहिलेसम्म १५ जनाको टाउकोमा चोट लागेको जनाइएको छ ।
चुनावको दिन उपत्यकाका खुला सडक (फोटो फिचर)
काठमाडौं, वैशाख ३० गते। स्थानीय तहको चुनावको दिन शुक्रबार राजधानीका सडकमा सवारी साधनको सङ्ख्या न्यून रहयो। सरकारले अत्यावश्यक र अन्य सवारी साधनलाई पास अनिवार्य गरेपछि चुनावको दिन उपत्यकाका सडक प्राय खाली देखिए। काठमाडौंको नयाँ सडक, दरबारमार्ग, सिंहदबार, थापाथली, कुपण्डोल र त्रिपुरेश्वर क्षेत्रमा पुगेर कैद गरिएका तस्बिरः
छात्रछात्राद्वारा मतदातालाई स्वच्छ पिउने पानी वितरण
मतदान गर्न लाममा बसेका तथा मतदान स्थल बाहिर रहेका मतदाताको प्यास मेटाउन चन्द्रपुर–३ स्थित जीवनज्योति इङ्गलिस बोर्डिङ् स्कुलका छात्र छात्रा तथा शिक्षकले स्वच्छ पिउने पानी वितरण गरेका हुन् ।
निर्वाचन परिणामले गठबन्धनको एकतामा असर पार्दैन :डा कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचनको परिणामले गठबन्धन दलहरुको एकतामा कुनै असर नपार्ने बताउनुभएको छ ।
रुकुमकोटमा किरियापुत्रीद्वारा मतदान
रुकुम पूर्वमा किरियापुत्रीले मतदान गर्नुभएको छ । स्थानीय तह निर्वाचनको मतदानको दिन जिल्लाको सिस्ने गाउँपालिका–५ टाकुराका एकाघरका चारजना किरियापुत्रीले मतदान गर्नुभएको हो । गीता शाह, मोहन शाह, सरिता शाह र डम्मरी कुमारी शाहले मतदान गर्नुभएको हो ।
दिउँसो २ बजेसम्म ४१ प्रतिशत मतदान
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन अन्तर्गत शुक्रबार दिउँसो २ बजेसम्म ४१ प्रतिशत मतदान भएको जनाएको छ।
उपत्यकामा निर्वाचन शान्तिपूर्ण
काठमाडौं, वैशाख ३० गते । देशका ७५० वटा स्थानीय तहमा एकैसाथ निर्वाचन भइरहेको छ । मतदान केन्द्रहरुमा मतदाताको उपस्थिति पनि उत्साहजनक रहेको निर्वाचन आयोगले जनाएको छ । केही जिल्लाका मतदान केन्द्रमा छिटपुट झडपका घटना भए पनि अन्य ठाउँमा भने शान्तिपूर्ण रुपमा नै मतदान भएको आयोगको भनाइ छ ।काठमाडौं उपत्यकाका तीन जिल्लामा पनि मतदान प्रकृया शान्तिपूर्ण रुपमा चलिरहेको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले बताउनुभएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको प्रजिअको भनाइ छ । काठमाडौं जिल्लाका प्रजिअ गोविन्दप्रसाद रिजालका अनुसार जिल्लामा दिउँसो १ बजेसम्म ४० प्रतिशत मत खसेको बताउनुभएको छ । विहान ७ बजेदेखि सुरु भएको मतदान प्रकृयामा विहानदेखि नै मतदाताको उत्साहजनक उपस्थिति पाइएको उहाँले बताउनुभएको छ । उपत्यकाको सुरक्षा व्यवस्था कडा रहेकाले मतदान केन्द्रमा कुनै अवरोध सृजना नभएको उहाँले बताउनुभयो । उपत्यकाको ललितपुर जिल्लामा पनि शान्त र उत्साहपूर्ण तरिकाले मतदान भइरहेको प्रजिअ घनश्याम उपाध्यायले बताउनुभयो । जिल्लाका सबै मतदान केन्द्रको सुरक्षा व्यवस्था कडा पारिएकाले मतदाताहरुले ढुक्क भएर मत खसालिरहेको उहाँको भनाइ छ । अनुगमनका क्रममा विहान १० बजेसम्म मदाताको उपस्थिति बाक्लो रहेको तर, त्यसपछि केही पातलो उपस्थिति देखिएको उहाँले बताउनुभयो । काठमाडौं र ललितपुर जिल्लामा जस्तै भक्तपुर जिल्लामा पनि उत्साहपूर्ण रुपमा मतदान चलिरहेको प्रजिअ रुद्रादेवि शर्माले बताउनुभयो । जिल्लामा दिउँसो १ बजेसम्म ३५ प्रतिशत मत खसिसकेको उहाँको भनाइ छ । बिहानपख भन्दा दिउँसो मतदाताको उपस्थिति भने केही पातलो पाइएको उहाँको भनाइ छ ।
कोही काखे नानी च्यापेर, कोही लौरो टेकेर पुगे मतदान केन्द्रमा
शहर बजार सुनसान छन् । अघिपछि निकै चहलपहल हुने काठमाडौंका गल्ली र चोकमा अहिले कोही नभएजस्तो देखिन्छ । पसल व्यवसायीसमेत फुर्सदमा भए जस्ता देखिन्छन् । शुक्रबारदेखि चार दिन सार्वजनिक बिदा परेकाले पनि मानिसलाई फुर्सद भएको छ । यो फुर्सदको अवसर स्थानीय तहको निर्वाचनले जुराइदिएको हो ।
पूर्वराष्ट्रपति डा. यादवद्वारा धनुषामा मतदान
स्थानीय तह निर्वाचनअन्तर्गत आज बिहानदेखि जारी मतदानमा नेपालका पूर्वराष्ट्रपति डा. रामवरण यादवले पनि मतदान गर्नुभएको छ ।
शुक्रबार साँझबाट मतगणना सुरु हुने
शुक्रबार अपराह्न ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइने र मतदानकार्य सम्पन्न भइसकेपछि मुचुल्का तयार गरी पार्टी र उम्मेदवारको रोहबरमा सुरक्षितरुपमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेर सर्वदलीय छलफललगत्तै आजै मत गणनाकार्य सुरु हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
११३ वर्षीया वृद्धाद्वारा मतदान
तनहुँको भानु नगरपालिका–५ बरभञ्ज्याङ निवासी ११३ वर्षीया गोपीमाया पोख्रेलले स्थानीय तह निर्वाचनका लागि शुक्रबार मतदान गर्नुभएको छ ।
दुधे बालक च्यापेर मतदात
रौतहटको विभिन्न मतदानस्थलमा पुगेका महिला मतदान गर्न निकै उत्सुक देखिएका छन् । स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार साना–साना बालबच्चा च्यापेर मतदानस्थल पुग्नुभएका महिला उत्साहका साथ मतदान गर्नुभएको छ ।
ह्विलचेयरमा पुग्नुभयो ८० वर्षीया राममाया मतदान केन्द्र
जिल्लामा स्थानीय तह निर्वाचनमा वृद्धवृद्धा, अशक्तहरु, गर्भवती महिला मतदान केन्द्रमा पुगेर मतदान गरिरहेका छन् । नुवाकोटको विदुर नगरपालिका–४ का राममाया तामाङ ह्विलचेयरमा मतदान केन्द्र पुग्नुभएको हो ।
मतदाता बोकेको जीप दुर्घटना : मृतकको सङ्ख्या १४ पुग्यो
स्याङ्जाको वालिङमा मतदाता बोकेको जीप दुर्घटनामा पर्दा १४ जनाको मृत्यु भएको छ । वालिङ १४ को सिख्रेबाट तिवारी पसलस्थित मतदान केन्द्रका लागि छुटेको जीप ग २ च ३०२६ जीप अर्खलावासमा दुर्घटनामा परेको हो । जीप पर्वत जोड्ने माथिल्लो सडकबाट ५ सय मिटर तल्लो सडकमा झरेको हो ।
एमाले उपाध्यक्ष पाण्डेद्वारा मतदान
पूर्वअर्थमन्त्री एवम् नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डे मतदान गर्नुभएको छ । शुक्रबार स्थानीय तह निर्वाचनअन्तर्गत पूर्वी चितवनको राप्ती ५ स्थित भण्डार अस्पतालको मतदान केन्द्रबाट उपाध्यक्ष पाण्डेले मतदान गर्नुभएको हो ।
उदयपुरमा आठै पालिकामा शान्तिपूर्वक मतदान कार्य हुँदै
भोटराज राईउदयपुर, वैशाख ३० गते । परराष्ट्रमन्त्री एवम नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा= नारायण खड्काले उदयपुरको बेलका नगरपालिकाबाट मतदान गर्नुभयो । मन्त्री खड्काले बेलका–८ को डुडखोला मतदान केन्द्रमा ८ः४० बजे मतदान गर्नुभएको हो । स्थानीय निर्वाचनमा उहाँ उदयपुर जिल्लामा सक्रियतापूर्वक खट्नुभएको थियो ।यसैबीच, उदयपुरमा आठै पालिकामा शान्तिपूर्वक मतदान भइरहेको छ । चार गाउँपालिका र चार नगरपालिका गरी आठ स्थानीय तह रहेको उदयपुरमा समयमै मतदान सुरु भएको हो ।दुई लाख २३ हजार १३८ मतदाताका लागि तोकिएको ९८ स्थानका २५८ मतकेन्द्रमा सबै ठाउँ समयमै बिहान ७ः०० बजेदेखि मतदान गर्ने कार्य भइरहेको मुख्य निर्वाचन अधिकृत दिपक खनालले जानकारी दिनुभयो ।मतदाताहरुको उत्साहजनक उपस्थिति देखिएको छ । बिहानैदेखि मतदानस्थलमा भीडभाड देखिएको छ । भीडलाई व्यवस्थित पार्दै पुरुष, महिला र वृद्धवृद्धा, अपाङ्ग, अशक्त, गर्भवतीका लागि छुट्टाछुट्टै लामको व्यवस्था मिलाइएको छ ।मतदानका लागि मौसमले साथ दिएको छ । बिहानदेखि नै घाम लागेको छ । वर्षात हुने पूर्वानुमानका कारण मतदानस्थलमा त्रिपाल टाँगेर मतपत्र तथा पेटिकाको सुरक्षा गरिएको छ । राम्रो मौसमका कारण जिल्लाभर नै मतदान कार्य सञ्चालन सहज भएको जनाइएको छ ।मतकेन्द्र, मत पेटिका, मतदान स्थल तथा मतदानस्थल वरपर नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरीले सुरक्षा घेरा लगाएको छ भने बाहिरको शान्ति सुरक्षालाई मध्यनजर गर्दै नेपाली सेनाले गस्ती गरिरहेको छ ।
सिन्धुपाल्चोकका दुई मतदान केन्द्रमा मतदान स्थगित
चित्र मिजारसिन्धुपाल्चोक, वैशाख ३० गते । मतदान केन्द्रमा खटिएका एजेन्टले दुईजना मतदाताको नाममा मतदान गरेको आरोपमा नेकपा एमालेका युवाले बाह्रबिसे नगरपालिका–१ घोर्थलीस्थित भूमेश्वरी आबिमा रहेको मतदान केन्द्रमा ढुङ्गामुढा र टेबल तोडफोड गरेका छन् ।इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक मुकेश न्यौपानेले उक्त घटनापछि १२ बजेसम्म मतदान स्थगित भएको जानकारी गराउनुभयो । बिहान ११ बजेदेखि यो समाचार तयार पर्दासम्म स्थगित मतदान शुरु हुन सकेको छैन । मतदान पुनः सञ्चालनका लागि दलहरु, मतदान अधिकृतहरुको बैठक बसिरहेको छ ।नौ सय २७ मतदाता रहेको सो वडामा तीन सय मत खसेको बाह्रबिसे नगरपालिका सहायक निर्वाचन अधिकृत अक्षयकुमार दनुवारले बताउनु भयो । त्यस्तै, मेलम्ची नगरपालिका–४ ज्यामिरेमा मतदाताबीच ठेलमठेल भएपछि नेपाली सेनाको उपस्थितिपछि स्थिति नियन्त्रणमा आएको छ ।पाँचपोखरी गाउँपालिका–२ याङग्री मतदान केन्द्रमा निर्वाचन अधिकृतको हस्तक्षर बिनाको मतपत्र भेटिएपछि विवाद भई केही मतदान रोकिएको थियो । उक्त मतदान केन्द्रमा अहिले पुनः मतदान शुरु भएको सिन्धुपाल्चोक जिल्ला निर्वाचन अधिकृत विकास रिजालले बताउनुभएको छ ।
मध्याह्न १२ बजेसम्म ३५ प्रतिशत मत खस्यो : आयोग
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन अन्तर्गत प्राप्त प्रारम्भिक तथ्याङ्क अनुसार हालसम्म ३५ प्रतशित मतदान भएको छ । आयोगले शुक्रबार बिहान ७ बजेदेखि मध्यान्ह १२ बजेसम्म त्यति मत खसेको जनाएको हो ।
निर्वाचन आयुक्त तुलाधारद्वारा मतदान
स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगका निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधारले मतदान गर्नुभएको छ । उहाँले सुन्दरबजार नगरपालिका–२ परेवाडाडास्थित महेन्द्र माध्यमिक विद्यालयको केन्द्र ‘ख’ बाट शुक्रबार बिहान मतदान गर्नुभएको हो ।
एमाले अध्यक्ष ओलीद्वारा मतदान
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुभएको छ । शुक्रबार ओलीले भक्तपुर नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माविको मतदान केन्द्रमा गएर मतदान गर्नुभएको हो ।
म्याग्दीमा शान्तिपूर्ण मतदान, उत्साहजनक सहभागी
स्थानीय तह निर्वाचनअन्तर्गत हिमाली जिल्ला म्याग्दीमा शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ ।