कुमारी बैङ्क र नेपाल क्रेडिट एन्ड कमर्स बैङ्क एक आपसमा गाभिएर आइतबारदेखि ‘कुमारी बैङ्क लिमिटेड’को नामबाट कारोबार सञ्चालनमा आएको छ । दर्जनभन्दा बढी बैङ्क तथा वित्तीय संस्था ‘मर्ज’ गरिसकेको ग्लोबल आईएमई बैङ्क र बैङ्क अफ काठमाण्डूको एकीकृत कारोबार आगामी सोमबारदेखि ‘ग्लोबल आईएमई बैङ्क लिमिटेड’का नामबाट हुँदैछ । प्रभु बैङ्कले सेन्चुरी कमर्सियल बैङ्कलाई प्राप्ति गरेपछि सम्पूर्ण वित्तीय कारोबार एकीकृत रूपमा मङ्गलबारदेखि ‘प्रभु बैङ्क लिमिटेड’ का नामबाट हुँदैछ ।
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १७ निर्जीवन बीमा कम्पनीमध्ये १० वटाले सेयरधनीलाई लाभांश दिने घोषणा गरेका छन् । आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट वितरण हुने यस्तो लाभांशमा अधिकांश कम्पनीले यस पटक नगदभन्दा पनि बोनस सेयरमा जोड दिएका छन् । नियामक निकाय बीमा प्राधिकरणले पुँजी बढाउन जोड दिँदै कर प्रयोजनका लागि मात्रै नगद लाभांश वितरण गर्न सकिने व्यवस्था गरेअनुरूप कम्पनीहरूले बोनस सेयरमा जोड दिएका छन् । प्राधिकरणले कम्पनीहरूलाई चुक्ता पुँजी कायम गर्न दिएको समय नजिकिँदै छ । गत चैतमा जीवन र निर्जीवन बीमा कम्पनीको साढे दुई गुणाले पुँजी बढाएर एक वर्षभित्र कायम गरिसक्न निर्देशन दिएकामा तोकिएको पुँजी पु-याउन तीन महिना मात्र बाँकी छ । कम्पनीले पुँजी वृद्धिका लागि मर्जर तथा प्राप्ति र बोनस सेयर दिन सक्ने तर हकप्रद जारी गर्न नदिने प्राधिकरणले जनाएको छ ।
मुलुकभरका ७५३ स्थानीय तहमध्ये एउटामा अझै वाणिज्य बैङ्कको शाखा पुग्न सकेको छैन । यो गाउँपालिका हो, बझाङ जिल्लाको साइपाल गाउँपालिका । सुदूरपश्चिम प्रदेशमा पर्ने साइपाल गाउँपालिकामा कुनै पनि बैङ्क तथा वित्तीय संस्थाको शाखा छैन । यहाँबाट सबभन्दा नजिकको बैङ्क शाखा भएको ठाउँ बझाङ सदरमुकामको चैनपुर हो, जहाँ पुग्न तीन दिन हिँड्नुपर्छ । यति मात्रै होइन, बैङ्किङ सेवाकै लागि गाउँपालिकाले सम्पर्क कार्यालय बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा खोल्नुपरेको छ ।
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत २५ वाणिज्य बैङ्कमध्ये १८ वटाले सेयरधनीलाई लाभांश दिने घोषणा गरेका छन् । आव २०७८/७९ को मुनाफाबाट वितरण हुने यो लाभांश अधिकांश बैङ्कले यस पटक नगदमै दिने भएका छन् । लाभांश वितरणको प्रस्ताव गर्ने वाणिज्य बैङ्कमध्ये अहिलेसम्म सर्वाधिक लाभांश दिनेमा नबिल बैङ्क रहेको छ भने सबैभन्दा कम दिनेमा सेन्चुरी बैङ्क रहेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैङ्क, सिटिजन्स बैङ्क, कुमारी बैङ्क, एनएमबी बैङ्कले त नगद लाभांश मात्रै प्रस्ताव गरेका छन् ।
कोरोना कालमा घरभित्र उकुसमुकुस बनेका मूलपानीका रमेश पाण्डे परिस्थिति सामान्य बन्ना साथ इलाम भ्रमणमा निस्कनुभयो । कोरोना सुरु हुनुभन्दा अघि थाइल्यान्ड भ्रमण गर्नुभएका पाण्डेको योजना त दुबई घुम्ने थियो । तर कोरोनापछि विदेश घुम्नका लागि थपिएको झन्झटले नेपालकै पर्यटकीय स्थल घुमेको उहाँ बताउनुहुन्छ । कोरोनाअघि घुम्ने विषयलाई प्राथमिकतामै नराखेका कोटेश्वरका रेशम खनाल पनि अहिले घुम्न खुब रुचाउनु हुन्छ । “पहिले त्यति घुम्ने बानी थिएन । लामो समय बन्दाबन्दीमा परेर होला । अहिले त घुमन्ते भइएको छ,” खनालले सुनाउनुभयो ।