काठमाडौं,जेठ २९ गते। शनिबार दिनभर एउटा घटनाले सामाजिक सञ्जाल र सञ्चार माध्यममा चर्चा पायो। त्यो घटना थियो नुवाकोट ककनीको। माइला विक भनेर चिनिने हिमबहादुर विक माथिल्लो त्रिशूली–३ ‘ए’को विद्युत प्रशारण लाइनमा चढेपछि शनिबार दिनभर यो घटनाले चर्चा पाएको हो। पारिवारिक समस्या रहेका उहाँलाई अहिले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नवजीवन परोपकार आश्रममा राखिएको छ। संस्थाका अध्यक्ष दुर्गानाथ दाहालका अनुसार पारिवारिक समस्या रहेका उहाँले मर्न मन लागेर तारमा चढेको बताउनुभएको छ। ‘यहाँ ल्याएपछि त्यसरी किन बिजुलीको तारमा चढ्नुभयो भनेर सोध्यौ, पारिवारिक समस्या भएर झुण्डिएर आत्महत्या गर्नुभन्दा आकाशमा मर्छु भनेर गएको थिएँ भन्ने जवाफ दिनुभयो,’ उहाँले भन्नुभयो। उहाँका अनुसार अहिलेसमेत विक कहिले सुरको कुरा गर्नुहुन्छ, कहिले बेसुरको कुरा गर्नुहुन्छ । ‘‘बेलाबेला आश्रमको काममा पनि सहयोग गर्नुभएको छ। बेला सुरकै कुरा गर्नुहुन्छ बेला सुरको कुरै गर्नुहुन्न’’, दाहालले विकको अवस्थाबारे भन्नुभयो। सोमबार विकको स्वास्थ्य अवस्था परीक्षण गरिने र उहाँलाई के औषधि प्रयोग गर्ने भन्ने कुरा टुङ्गो लाग्ने उहाँको भनाइ छ। अहिलेसम्म विकको परिवार सम्पर्कमा नआएको दाहालले बताउनुभयो। शनिबार बिहान ७ बजे प्रसारण लाइनको पोल चढ्ने प्रयास गरेको देखेका थिए। स्थानीयलाई उद्धृत गर्दै नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले उनी लामो समयसम्म पोलमै बसेको बताउनुभयो। पोलबाट झर्न पटक पटक गरेको आग्रह नमानेका विक पोलबाट उच्च भोल्टेज प्रवाह भएको तारसम्म पुगेपछि लाइन काट्न विद्युत प्राधिकरणलाई अनुरोध गरिएको थियो। स्थानीयले खबर गरेपछि प्राधिकरणले शनिबार बिहान ११ बजेतिर लाइन काटिएको थियो। लाइन काटेपछि पुगेको प्रहरी र स्थानीयले गरेको अनुरोध नसुनेपछि उद्धारका लागि गृह मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना र नेपाल विद्युत प्राधिकरणसँग सहयोग माग्नु परेको थियो। ‘‘तल मानिस धेरै भएर ओर्लन असहज भएको हो कि भनेर सबै मानिसलाई हट्न लगाएर ओर्लन आग्रह गर्यौ। तर, ओर्लनुको साटो झन् तारमा वर र पर गर्न लाग्नुभयो’’ प्रजिअ रिसालले भन्नुभयो, ‘‘त्यसपछि उद्धारका लागि गृह मन्त्रालयले नेपाली सेनासँग सहयोग मागेको थियो।’’ विक तारमा चढेपछि विद्युत लाइन काट्नुपर्दा प्राधिकरणलाई एक करोड बढी घाटा भएको प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिनुभयो। ‘‘मानवीय क्षति हुन नदिनका लागि आठ घण्टा विद्युत अवरुद्ध भएको छ, जसले प्राधिकरणलाई एक करोड बढी घाटा भएको छ।’’नवजीवन केन्द्रमा राखिएका विकलाई उपचारपछि परिवारको जिम्मा लगाउने जिम्मा दिइएको प्रजिअ रिसालले बताउनुभएको छ। ‘‘मानसिक स्वास्थ्यमा समस्या भएको अनुमान गर्दै नवजीवन परोपकार आश्रममा जिम्मा लगाएका हौँ’’, प्रजिअ रिसालले भन्नुभयो, ‘‘अहिलेसम्म परिवार सम्पर्कमा आउनुभएको छैन। परिवार सम्पर्कमा आए नवजीवन केन्द्रमा पुगेर उहाँलाई भेट्न सक्नुहुन्छ।’’
चोभारस्थित सुख्खा बन्दरगाह चैत्र २२ गते उद्घाटन भएर सञ्चालनमा आए पनि अहिलेसम्म सुनसान जस्तै बनेको छ।
आइतबार आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री शर्माले स्वास्थ्य र शिक्षा क्षेत्रको गुणस्तर सुधार गरेर मानव विकासको सुचाङक ०.६५ पुर्याउने लक्ष्य राखिएको बताउनुभएको हो ।
गत वर्षजस्तै यस पटक पनि किसानले धान लगाउने समयमा रासायनिक मलको अभाव झेल्नुपर्ने देखिएको छ । सरकारले छिमेकी देश भारतका साथै विश्वव्यापी टेण्डरबाट समेत मल खरिद गर्ने कार्यलाई अगाडि बढाइरहे पनि मल आयातको विषयमा अझै टुङ्गो नलाग्दा मलको अभाव सृजना हुने देखिएको छ ।
स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म ७१४ पालिकाको नतिजा सार्वजनिक भएको छ। जसअन्तर्गत नेपाली कांग्रेसले ३१४ पालिका जितेको छ भने नेकपा एमालेले १९२ पालिका जितेको छ।
स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म ६९२ पालिकाको नतिजा सार्वजनिक भएको छ। जसअन्तर्गत नेपाली कांग्रेसले ३०५ पालिका जितेको छ भने नेकपा (एमाले)ले १८८ पालिका जितेको छ।
गृह मन्त्रालयका आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख शिवराम पोखरेले सरकारले दुई दिन बिदा दिने निर्णय गरे पनि सरकारी गाडीको दुरुपयोग हुनबाट के कसरी बचाउने भन्ने विषयमा कुनै योजना बनी नसकेको बताउनुभयो ।
स्थानीय तह निर्वाचनअन्तर्गत अहिलेसम्म ६६१ पालिकाको नतिजा सार्वजनिक भएको छ। जसअन्तर्गत नेपाली कांग्रेसले २९६ पालिका जितेको छ भने नेकपा (एमालेले) १८२ पालिका जितेको छ।
काठमाडौंको सडमा थुप्रिएको फोहोर तत्काल कुनै अवरोध सृजना नभए पाँच दिनभित्र उठिसक्ने काठमाडौं महानगरपालिकाले जनाएको छ । स्थानीय निर्वाचन अघिदेखि सडकमा थुप्रिएको फोहोर मंगलबारबाट उठाउन थालिएको छ ।
काठमाडौंका सडकमा फेरि फोहोर थुप्रिन थालेको छ । उपत्यकाका सडक र गल्लीमा थुप्रिएको फोहोर उठाउन नसक्दा फेरि फोहोर थुप्रिन थालेको हो।
सोमबार दिउँसो ४ बजेसम्म स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले ५९ स्थान जितेको छ।
काठमाडौं जेठ १ गते। ललितपुर महानगरको मतगणना सुस्त भएको भन्दै मतदाताले आक्रोश व्यक्त गरेका छन्। शनिबार दिउँसोबाट मतगणना सुरु भएको महानगरमा आइतबार दिउँसोसम्म एउटा मात्र वडाको मत परिणाम सार्वजनिक भएको छ। ललितपुर महानगरपालिकाको वडा नम्बर १ का स्वतन्त्र उम्मेदवार निर्मल तन्डुकार वडाध्यक्षमा निर्वाचित हुनुभएको हो। मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीकाउम्मेदवारको विवादकै मतगणना ढिला भएको बताउनुहुन्छ। ‘महानगरमा धेरै स्वतन्त्र उम्मेदवार छन्। गणनास्थलमा स्वतन्त्रका प्रतिनिधि धेरै राख्न पाइदैन भन्ने अन्य दलको भनाइप्रति स्वतन्त्र उम्मेदवार असन्तुष्ट छन्। त्यसैले मतगणना प्रारम्भ नै ढिला भयो’, उहाँले भन्नुभयो। मतपत्र ठूलो र छाप तलमाथि भएका कारण सबै राम्रोसँग हेर्नुपर्ने र सबै प्रतिनिधिलाई प्रस्टसँग देखाउनुपर्ने भएकाले पनि ढिला भएको उहाँको भनाइ छ। निर्वाचन आयोगले पाँच दिनभित्र सबै स्थानीय तहको मतपत्र गनिसक्न निर्देशन दिएको छ। तर, महानगरपालिकाको भने पाँच दिनभित्र गनेर नसकिने भएको छ। महानगरमा कुल मतदाता १ लाख २२ हजार ८ सय ९० छन्। ८६ हजार ५ सय ४० मत खसेको छ। मुख्य निर्वाचन अधिकृत शिवाकोटीका अनुसार एउटा मत गन्न सरदर तीन मिनेट लाग्छ। यसैले मतपरिणाम आउन ढिलो हुने मुख्य निर्वाचन अधिकृत शिवाकोटीले बताउनुभयो। मतगणनास्थल बाहिर परिणाम सुन्नको लागि मतदातको बाक्लो उपस्थिति छ। मतगणनास्थलमा सुरक्षाकर्मीले सुरक्षा व्यवस्था पनि कडा पारेका छन्। मतपरिणामको प्रतिक्षा गरिरहेका मतदाता गणनाको परिणाम सार्वजनिक नहुँदा निरास देखिन्छन्। ललितपुर वडा नम्बर १४ का कृष्णप्रसाद रिमाल बिहान ९ बजेदेखि परिणाम सुन्न मतगणनास्थल बाहिर बस्नुभएको छ। ‘बिहान चाडै खाना खाएर मतपरिणाम सुन्नको लागि आएको एक चोटी मात्र परिणम सार्वजनिक गरे। त्यसपछि गरेकै छैनन्,’ उहाँले भन्नुभयो ‘कतिखेर मत परिणाम आउने हो थाहै छैन।’ यस्तै वडा नम्बर ३ का ७० वर्षीया मतदाता सुरेन्द्रबहादुर परियारको पनि उही गुनासो छ। उहाँ पनि मतपरिणाम सुन्नको लागि गणनास्थल बाहिर बसिरहनुभएको छ। ‘मतपरिणाम सुन्नको लागि बिहान ११ बजेदेखि बसिरहेको छु, खै अहिलेसम्म आएको छैन। अहिले त गणना नै रोकिएको छ भन्छन्। कहिले आउछ खै नतिजा ?’, उहाँले प्रश्न गर्दै भन्नुभयो। अघिल्ले स्थानीय तहको निर्वाचनको मतगणनाको परिणाम भने छिटोछिटो आएको उहाँको सम्झना छ। भन्नुहुन्छ, ‘अघिल्लो स्थानीय तहको निर्वाचको परिणाम त छिटो आएको थियो। अहिले पनि छिटो आउछ कि भनेको झन् ढिला भएको छ।’ कर्मचारी बढाएर मतगणना छिटो गर्नुपर्ने उहाँको भनाइ छ। ललितपुरको २, ३ र ४ नम्बर वडामा मतगणना भएको छ । पछिल्लो मतपरिणाम अनुसार ललितपुर मेयरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले १७४८ मत ल्याउनुभएको छ भने नेकपा (एमाले)का हरिकृष्ण ब्याञ्जनकारले ७१५ मत ल्याउनुभएको छ।
देशभर अधिकांश स्थानीय तहमा सम्पन निर्वाचनको मतगणना कार्य अहिले जारी छ।
काठमाडौं,वैशाख २९ गते। भोलि (शुक्रबार) देशभर एकसाथ ७५३ स्थानीय तहमा मतदान हुँदैछ। सरकारले स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै देशभरको सुरक्षा व्यवस्था कडा बनाएको छ। सरकारको सुरक्षा योजना अनुसार सीमा नाकामा चुनाव लक्षित सुरक्षा गस्ती बढाएको छ। चुनावी सुरक्षा योजना अनुसार मंगलबार राति मंगलबार राति १२ बजेदेखि सीमा नाका बन्द छन्। नाका बन्द भए पनि सरकारले मतदान सम्पन्न नहुँदासम्म सीमा सुरक्षा गस्तीलाई निरन्तरता दिइने नेपाल प्रहरीका प्रवक्ता विष्णुबहादुर केसीले जानकारी दिनुभयो। सरकारले सीमा सुरक्षाको निगरानीका लागि प्रदेशगत सुरक्षा रणनीति बनाएको छ। प्रदेश नम्बर १ प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीनराज राईले भारत र चीनसँग सीमा जोडिएका नाकामा सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिनुभयो। प्रदेश १ मा भारत र चीनसँग सीमा जोडिएको छ। चिनियाँ नाकाबाट भन्दा भारतीय सीमा क्षेत्रबाट आवतजावतको चाप बढी हुनेहुँदा प्रहरीले भारतीय सीमा क्षेत्रको निगरानीलाई प्राथमिकता दिएको छ। भारतसँग सीमा जोडिएका सुनसरी, मोरङ, झापा र इलाम जिल्लाका सीमा क्षेत्रमा सुरक्षा टोली तैनाथ छन् । भारततर्फ खुला सीमा रहेकाले यी जिल्लालाई सुरक्षा रणनीतिको दृष्टिकोणले महत्वका साथ हेरिएको छ। प्रदेश प्रहरीले छिमेकी देशसँग समन्वय गरेर चुनाव लक्षित गस्ती बढाएको राईले उल्लेख गर्नुभयो। मधेस प्रदेशका सबै जिल्ला भारतसँग सीमा जोडिएका छन्। खुला सीमालाई ध्यान दिँदै मधेस प्रदेश प्रहरी कार्यालयले सुरक्षा रणनीति बनाएको छ। मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक तुलबहादुर कार्कीका अनुसार भारतबाट हुने आवागमन रोक्न भारतीय सुरक्षा निकायसँग समन्वय गरिएको छ। प्रहरीले आठ जिल्लामध्ये वीरगञ्जको सीमा नाकालाई महत्वकासाथ हेरेको छ। ‘‘वीरगञ्जका सीमा नाकालाई सुरक्षाको दृष्टिकोणले चुनौतीको रुपमा हेरिएको छ। अन्य जिल्लाका सीमा नाकाबाट हुनसक्ने खतरालाई उत्तिकै महत्व दिएका छौँ’, कार्कीले भन्नुभयो। सीमा सुरक्षाको दृष्टिकोणले प्रदेश १ र मधेस प्रदेश भन्दा बागमती प्रदेशमा जोखिम कम देखिन्छ। प्रदेश प्रहरी कार्यालय बागमतीका प्रवक्ता एवम् प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीका अनुसार स्थानीय सुरक्षा समितिको निर्णय बमोजिम सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेशअन्तर्गत चीनसँग सीमा जोडिएका रसुवागढी र तातोपानी नाकालाई पूर्ण रुपमा सिल गरिएको छ। प्रदेश प्रहरी कार्यालय गण्डकी प्रदेशका प्रवक्ता एवम् प्रहरी उपरीक्षक मीनबहादुर घलेल अत्यावश्यक बाहेकका सवारी साधनलाई ओहोर/दोहोर गर्न पूर्ण रुपमा रोक लगाइएको बताउनुभयो। गण्डकीका मुस्ताङ र नवलपरासी पूर्वका सीमा नाकामा सिल गरिएको छ। गोरखा र मनाङ जिल्लाका सीमा नाका भौगोलिक जटिलताका कारण पहिलेदेखि नै बन्द छन्। प्रदेश प्रहरी कार्यालय लुम्बिनी प्रवक्ता मनहरि डंगोलका अनुसार भारतसँग सीमा जोडिएका जिल्लाको सीमा नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ। विशेषगरी रुपन्देही, बाँके र बर्दिया जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको हो। कर्णाली प्रदेशसँग सीमा जोडिएका चिनियाँ नाका पहिलेदेखि नै बन्द छन्। कर्णाली प्रदेशका प्रहरी प्रवक्ता हिराबहादुर पाण्डेका अनुसार कोरोनाको पहिलो लहरमै बन्द हिल्सा नाका अहिलेसम्म खुलेको छैन। नाका बन्द भए पनि सुरक्षा टोली सीमा क्षेत्रमा तैनाथ छ। प्रदेश १ र मधेस प्रदेशजस्तै सुदूरपश्चिम प्रदेशमा भारतसँग खुला सीमा रहेका जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ। सुदूरपश्चिम प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलका अनुसार सीमा सुरक्षा चौकी (बीओपी)ले लगातार गस्ती गरिरहेको छ। कञ्चनपुरको गड्डाचौकी, कैलालीको श्रीनगर र कालाकुण्ड नाकाबाट अत्यावश्यकबाहेक आवतजावत बन्द गरिएको छ।
काठमाडौं, वैशाख २९ गते। शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको छ। देशको संघीय राजधानीसमेत रहेको काठमाडौंमा चुनाव केन्द्रित सुरक्षा व्यवस्था कडा पारिएको हो। नेपाल प्रहरीका प्रवक्ता विष्णुबहादुर केसीले काठमाडौं उपत्यकाका सबै मतदान केन्द्रमा सुरक्षाकर्मी दुई दिनदेखि खटिसकेको बताउनुभयो। उहाँका अनुसार सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका गरेर तीन हजार सुरक्षाकर्मी र चार हजार पाँच सय म्यादी प्रहरी परिचालन गरिएको छ। सबै राजनीतिक दलबीच आपसी सम्बन्ध राम्रो रहेकाले मतदान अवधिभरको समय शान्तिपूर्ण नै रहने विश्वास प्रहरीको छ। ‘सबै राजनीतिक दलबीचको आपसी सम्बन्ध राम्रो छ। अहिलेसम्म सामान्य विवादबाहेक अन्य हिंसात्मक घटना भएका छैनन्। यसकारण मतदान अवधिसम्म नै अवस्था शान्तिपूर्ण हुने आशा छ,’ उहाँले भन्नुभयो। काठमाडौं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलका अनुसार जिल्लामा मतदान अवधिभर कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षा व्यवस्थालाई कडा पारिएको छ। जिल्लाको भौगोलिक अवस्थालाई ध्यान दिएर तीन तहमा सुरक्षा व्यवस्था गरिएको उहाँको भनाइ छ। पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना रहने पौडेलले बताउनुभयो। अप्रिय घटना भए पाँच मिनेटमै घटनास्थलमा सुरक्षाकर्मी पुग्ने व्यवस्था गरिएको छ। निर्वाचन सुरक्षा व्यवस्थाका लागि आवश्यक प्रक्रिया बुधबार नै पूरा भएको उहाँको भनाइ छ। ‘जिल्लाको हकमा कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षा व्यवस्थालाई कडा पारिएको छ,’ पौडेलले भन्नुभयो, ‘चुनावका दिन कुनै अप्रिय घटना भए तत्काल सुरक्षाकर्मी पुग्ने व्यवस्था गरिएको छ।’यस्तै, भक्तपुर जिल्लाका प्रजिअ रुद्रादेवी शर्माले जिल्लाको सुरक्षा व्यवस्था कडा रहेको बताउनुभयो। जिल्लामा रहेका ७७ वटा मतदानस्थलमध्ये ३७ वटा संवेदनशील, ४० वटा सामान्य संवेदनशील मतदानस्थल रहेको उहाँको भनाइ छ । जिल्लाको हकमा १५ सय हाराहारीमा सुरक्षाकर्मी खटिएको शर्माको भनाइ छ। ‘जिल्लामा अतिसंवेदनशील मतदानस्थल छैनन्। तर, संवेदनशील र सामान्य संवेदनशील मतदानस्थल भएका कारण सुरक्षा व्यवस्थालाई कडा बनाएका छौँ,’ शर्माले भन्नुभयो।सँगै ललितपुरका सहायक प्रजिअ हरिप्रसाद पन्तले जिल्लाको सुरक्षा व्यवस्था कडा रहेको बताउनुभएको छ। ललितपुरमा १३१ मतदानस्थल र २८८ वटा मतदान केन्द्र छन्। हिंसात्मक गतिविधि नहोस् भनेर मतदान अधिकृतले राजनीतिक दलसँग सुरक्षा व्यवस्थासँग सम्बन्धि छलफलसमेत गरिराख्नुभएको छ।