काठमाडौं, वैशाख ३१ गते । नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलिम पदार्थको मूल्य फेरि बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य बढ्दै गएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १० रुपियाँले बढाएको हो । जसअनुसार निगमको डिपो परिसरबाट १५ किलोमिटरसम्ममा पेट्रोल, डिजेल र मट्टिलेतको मूल्य क्रमशः १७० र १५३/१५३ कायम गरिएको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हाललाई यथावत् राखिएको छ ।निगमले शनिबार जारी गरेको विज्ञप्तिमा नयाँ खरिद लागत मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु २३ रुपियाँ २ पैसा, डिजेलमा ४०रुपियाँ १३ पैसा घाटा रहेको तर मट्टितेलमा २ रुपियाँ ८१ पैसा नाफा रहेको जनाइएको छ । हवाई इन्धनमा आन्तरिकतर्फ १२ रुपियाँ ६४ पैसा र बाह्यतर्फ ६४ रुपियाँ ६९ पैसा नाफा रहेको तर ग्यासमा प्रतिसिलिन्डर एक हजार ५० रुपियाँ ८ पैसा घाटा रहेको जनाइएको छ । निगमलाई १५ दिनमा करिब पाँच अर्ब १९ करोड अझै घाटा रहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
पुष्कर भण्डारीडडेल्धुरा, वैशाख ३१ गते । भित्रिमधेश जोगबुडाको परशुराम नगरपालिका–२ मा नेपाली कांग्रेस बाट वडा अध्यक्षका उम्मेदवार प्यानलसहित विजयी हुनुभएको छ । वडा अध्यक्षका उम्मेदवार रमेश बोहरा प्यानल सहित विजयी हुनुभएको हो । उहाँले २८३ मत प्राप्त गरि विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालय जोगबुडाले जानकारी दिएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवारले २२९ मत प्राप्त गर्नु भएको थियो । कांग्रेसले यस वडामा विजयी भएसँगै नगर प्रमुखका उम्मेदवारले समेत अग्रता लिनुभएको छ । वडा नं. १ मा माओवादीका उम्मेदवार वडा अध्यक्षमा निर्वाचित हुदा कांग्रेस बाट नगरप्रमुखका उम्मेदवार माओवादी भन्दा पछी पर्नुभएको थियो । वडा नं. २ मा कांग्रेसबाट नगर प्रमुखका उम्मेदवार रहनु भएका भरत बडाएर जोशीले ३१९ मत प्राप्त गर्नु भएको छ । कांग्रेसका उपप्रमुखले ३०३ मत प्राप्त गर्नु भएको छ । यस्तै माओवादीका नगरप्रमुखले २०३ र उपप्रमुखले १९१ मत प्राप्त गर्नु भएको छ । वडा नं. १ बाट माओवादीका प्रमुख र उपप्रमुखले समान ५२८ मत प्राप्त गर्नु भएको थियो भने नेपाली कांग्रेसका प्रमुखले ४५२ र उपप्रमुखले ३६७ मत प्राप्त गर्नु भएको थियो । अहिले कांग्रेसका उम्मेदवारले कूल प्राप्त गर्नुभएको मतको संख्या ७७१, उपप्रमुखका ६७१ पुगेको छ । यस्तै माओवादी केन्द्रका प्रमुखले ७३० र उपप्रमुखले मत ७१९ पुगेको छ ।
ललितपुर महानगरपालिकामा ४०० मत गणना हुँदा नेपाली कांग्रेसका चिरीबाबु महर्जनको अग्रता रहेको छ।
मतदानका दिन हिजो उदयपुरको कटारी नगरपालिका –१० मा एकजनाको ज्यान जानेगरी फायर खोल्ने प्रहरीमाथि छानविन गरी दोषीलाई निलम्बनसहितको कारवाही अगाडी बढाउने भएको छ ।
भक्तपुर जिल्लाको चार वटै स्थानीय तहमध्ये भक्तपुर नगरपालिका प्रमुखमा र उपप्रमुखमा नेपाल मजदुर किसान पार्टीको ठूलो मतान्तरका साथ अग्र स्थानमा छ।
नेकपा एमालेले लमजुङमा खाता खोलेको छ । लमजुङको मस्र्याङ्दी गाउँपालिका १ मा गठबन्धनलाई हराउँदै नेकपा एमालेको प्यानलै विजयी भएका छन् । एमालेका उम्मेदवार रुद्रमान गुरुङले ४ सय २२ मत ल्याउनुभएको छ ।
दैलेखमा रहेका ११ स्थानीय तहका ९० वडा मध्ये १० वडाको मत परिणाम सार्वजनिक भएको छ । प्राप्त मत परिणाम अनुसार नेपाली कांग्रेसले चार, एमालेले चार माओबादी केन्द्रले एक र नेपाल मजदुर किसान पार्टीले एक वडामा विजयी भएको छ ।
भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले अग्रता पाएको छ।
झापाका १५ वटै स्थानीय तहमा कडा सुरक्षाघेरा भित्र मतगणना जारी छ।
स्थानीय तह निर्वाचनमा खार्पुनाथ गाउँपालिका–१ को वडा अध्यक्षमा नेपाली कांग्रेसका जयबहादुर शाही निर्वाचित हुनुभएको छ । नेकपा एमालेका हिरालाल जैसीलाई पछि पार्दै शाही वडा अध्यक्ष पदमा बिजयी हुनु भएको हो ।
जानु पाण्डे, कपिलवस्तु, वैशाख ३१ गते। कपिलवस्तुमा नेकपा एमालेले विजय सुरुवात गरेको छ। विजयनगरमा गाउँपालिका वडा नम्बर १ मा एमालेको प्यानल विजयी भएको हो। वडा अध्यक्षमा इन्नर थारु ८७३ मत ल्याइ विजयी हुनुभएको छ। जनता समाजवादी पार्टीबाट वडा अध्यक्षको उम्मेदवार बुधराम चौधरीले ५०१ मत प्राप्त गरेर दोस्रो हुनुभएको छ।
त्रिपुरासुन्दरी गाउँपालिका–१ मा काँग्रेसका उम्मेदवार सीताराम थापाको प्यानल विजयी भएका छन् ।
बागलुङको तीन स्थानीय तहमा मतगणना सुरू भएको छ । दश स्थानिय तह रहेको बागलुङमा तीन स्थानिय तह ताराखोला गाउँपालिका, गलकोट नगरपालिका र निसीखोला गाउँपालिकामा शनिबार बिहानदेखि मतगणना सुरु गरिएको थियो ।
केदार तिमल्सिना बनेपा, वैशाख ३१ गते । काभ्रेको पाँचखाल नगरपालिका–१३ मा स्थगित भएको मतदान प्रक्रिया जेठ ३ गते मङ्गलबार पुनः सञ्चालन हुने भएको छ । निर्वाचन अधिकृतको कार्यालय पाँचखालका अनुसार विवादका कारण नगरपालिकाको वडा नम्बर–१३ स्थित श्रीराम मावि मतदान केन्द्रमा पुनः मतदान हुन लागेको हो । पाँचखाल नगरपालिकाका निर्वाचन अधिकृत रुद्र कोइरालाले पाँचखाल नगरपालिका–१ स्थित श्रीराम मावि क र ख मतदान केन्द्रको पुनः मतदान गर्ने गरी सूचना टाँस गरिएको बताउनुभयो । उहाँले मङ्गबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म पुनः मतदान हुने तयारी गरिएको बताउनुभयो । विवाद भएपछि शुक्रबार नै सर्वदलीय बैठक राखेर मतदान सुचारु गर्न प्रयास गरे पनि सफल हुन सकेको थिएन ।
मुस्ताङको चीनसँग सीमाना जोडिएको लोमन्थाङ गाउँपालिकामा नेकपा (एमाले)ले अध्यक्ष तथा उपाध्यक्ष जितेको छ ।