कपिल ज्ञवालीसिद्धार्थनगर, वैशाख ११ गते। बुटवलको जंगलमा दम्पत्तिको शव फेला परेको छ। बुटवल उपमहानगरपालिका–७ शिवनगर सामुदायिक वनमा बुटवल ११ बस्ने ६० वर्षीय काजीमान श्रेष्ठ र उहाँकी पत्नी ५५ वर्षीया कमला श्रेष्ठको शव भेटिएको हो। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसीका अनुसार आइतबार दम्पत्तिको शव भेटिएको हो। उनीहरु चैत ६ गते गोरखामा आफन्त भेट्न भन्दै घरबाट हिँडेको तर, घर नफर्किएपछि खोजी गर्दै जाँदा आइतबार शव भेटिएको डीएसपी केसीको भनाइ छ। ‘विष खाएको अनुमान गरिएको छ’, डीएसपी केसीले भन्नुभयो, ‘घटनास्थलमा तन्ना ओछ्याएर खाने बस्ने गरेको देखिन्छ। यो विषयमा थप अनुसन्धान सुरु गरेका छौँ।’ छोरा वैदेशिक रोजगारीमा रहेको र घरमा बुहारी र छोरीसँग बस्दै आएको खुलेको छ। शव वरपरबाट प्रहरीले विषका डब्बा, सिसाका बोत्तल, मदिरा, कपडा, तन्ना बरामद गरेको छ। प्रहरीले अनुसन्धान सुरु गरेको छ।
गोरखापत्र अनलाइनकाठमाडौँ, वैशाख ११ गते । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि मनोनयन दर्ताको काम सम्पन्न भएपछि उम्मेदवारहरुको आँकडाका आधारमा सम्बन्धित पालिकाका लागि मतपत्र ढुवानी कार्य सुरुगर्ने भएको छ ।हाल पूर्वानुमानित संख्याका आधारमा मतपत्र छपाइको कार्य दु्रत गतिमा भइरहेको र वैशाख १२ गते सम्मन्न हुने उम्मेदवारी मनोनयनलगत्तै दलहरुका तर्फका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरुका लागि छपाइ भइसकेको मतपत्रको संख्या र त्यसमा समाविष्ट निर्वाचन चिन्हहरु पर्याप्त हुने—नहुने स्पष्ट हुने आयोगले जनाएको छ ।आयोगका उपसचिव एवम् संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) का सदस्यसचिव कमल भट्टराईले उम्मेदवारीको संख्या र चिन्हको संख्यात्मक स्थिति यकिन गरेर १२ गते राति र १३ गते बिहानदेखि मतपत्र ढुवानी सुरु गरिने जानकारी दिनुभयो । वैशाख १० गते स्थापना गरिएको सो केन्द्रका संयोजक एवम् आयोगका सहसचिव शालिग्राम शर्मा पौडेलको अध्यक्षतामा सोही दिन सम्पन्न पहिलो बैठकले मनोनयन दर्ताको संख्यात्मक अवस्था बुझेर मात्र मतपत्र ढुवानी सुरु गर्ने निर्णय गरेको छ । गृह मन्त्रालय, रक्षा मन्त्रालय, सुरक्षा निकायलगायतका प्रतिनिधि सम्मिलित सो केन्द्र कान्तिपथस्थित आयोगको कार्यालयमा स्थापना भएको छ । हालसम्म ६३ जिल्लाका लागि आवश्यक पर्ने एक करोड ४५ लाख ६३ हजार मतपत्र छपाइ भइसकेको छ । बाँकी जिल्लाका लागि आवश्यक पर्ने मतपत्रको छपाइ जारी रहेको आयोगले जनाएको छ । निर्वाचनसम्बन्धी सामग्रीको ढुवानी पनि हालसम्म ६१ जिल्लामा पुगिसकेको आयोगको भनाई छ ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि तनहुँमा साना राजनीतिक दलले आइतबार मनोनयन दर्ता गराएका छन्।
काठमाडौं, वैशाख ११ गते । नेपाली कांग्रेसले महानगरपालिकाका मेयर र उपमेयरको उम्मेदवार छान्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महानगरपालिकाका मेयर र उपमेयर पदका उम्मेदवारको अन्तिम निर्णय गर्ने अधिकार सभापति देउवालाई दिएको हो । काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रमा प्राप्त भएका नाममध्ये काठमाडौं, विराटनगर र ललितपुर महानगरपालिकाका प्रमुख तथा वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपप्रमुख पदका उम्मेदवारको टुंगो लगाउने जिम्मा पार्टी विधान अनुसार सभापति देउवालाई प्रत्यायोजन गर्ने निर्णय भएको हो । त्यसैगरी बैठकले कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३१ (१) (घ) (२) बमोजिम केन्द्रीय संसदीय समितिमा केन्द्रीय कार्यसमितिका पदाधिकारी पदेन रहने निर्णयसमेत गरेको छ । बैठकले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई केन्द्रीय संसदीय समितिको सदस्यमा मनोनय गरेको छ । मुख्य सचिव पौडेलका अनुसार पार्टी विधानको धारा ३१ (१) (घ) (३) बमोजिम नेता पौडेललाई सभापतिको प्रस्तावमा केन्द्रीय संसदीय समितिको सदस्यमा अनुमोदन गरेको हो ।
वैशाख ३० गतेका लागि तोकिएको स्थानीय निर्वाचनका लागि नेकपा (एमाले)का दोलखाका नौ वटै स्थानीय तहमा सबै पदमा मनोनयन दर्ता गरेको छ।
नेपाल फुटबल खेलाडी संघको अध्यक्षमा विक्रम लामा निर्वाचित हुनुभएको छ ।
अविनाश चौधरीधनगढी, वैशाख ११ गते। कैलालीको कैलारी गाउँपालिका-७ मा रहेको मुक्त कमैया शिविरमा आगलागी भएको छ। गहुँको नलमा लगाइएको आगो गएर मुक्त कमैया बस्तीमा सल्केको वडा अध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिनुभयो। उहाँका अनुसार आगलागीबाट ७३ मध्ये धेरै घर जलेर नष्ट भएका छन्। खर र टिनको छानो भएको बस्तीमा आगलागी हुँदा ठूलो क्षति भएको हाे। आगलागीबाट अन्नबालीका साथै बङ्गुर, पशु चौपायासहित धनसम्पत्ती जलेर नष्ट भएको अध्यक्ष चौधरीको भनाइ छ। उहाँका अनुसार धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका र गौरीगङ्गा नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएकाे छ ।दिउँसोदेखि लागेको आगो अपराह्न नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो। आगलागीबाट भएको क्षतिको विवरण भने आइसकेको छैन। ५० देखि ६० घर जलेर नष्ट भएको प्रारम्भिक विवरण प्राप्त भएको उहाँकाे भनाइ छ ।‘धुवाँ आइरहेका कारण जलेका घरको विवरण सङ्कलन गर्न सकिएको छैन’, उहाँले भन्नुभयो, ‘५० देखि ६० घर जलेर नष्ट भएको हामीलाई जानकारी गराइएको छ।’ आगलागीको कारण अझैसम्म पुष्टि नभएको उहाँको भनाइ छ।
जनता समाजवादी पार्टी (जसपा)ले स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गरेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव, सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलगायत शीर्ष नेताहरुले आइतबार चुनावी घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।
प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगिता जेठ ७ गतेदेखि ९ गतेसम्म काठमाडौँमा हुने भएको छ ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीसहित साना दलले आइतबार मनोनयन दर्ता गराएका छन्। बाजुरामा पहिलो दिन राष्ट्रिय प्रजातन्त्र पार्टीले मेयर अध्यक्ष र खुला सदस्य पदमा तीन वटा पालिकामा मनोनय दर्ता गराएको हो।
वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि आइतबारबाट मनोनयन दर्ता सुरु भएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले तनहुँको सदरमुकाम दमौली अस्पतालबाट विशेषज्ञ शल्यचिकित्सा प्रदान गर्न जनशक्ति खटाउने भएको छ । जनशक्तिको लागि प्रतिष्ठान र दमौली अस्पतालबीच शुक्रबार सम्झौता भएको छ ।
रेखीराम रानापाल्पा, बैशाख ११ गते । जिल्लाको मालपोत कार्यालय र नापी कार्यालयको सेवा आजदेखि एक साताका लागि बन्द भएको छ । विशालबजार र असनटोलमा भाडामा रहेका यी दुई कार्यालयले नयाँ भवनमा कार्यालय व्यवस्थापन गर्न भन्दै सेवा बन्द गरेको हुन् । मालपोत र नापीको एकीकृत कार्यालय घरेलु कार्यालयसँगै निर्माण सम्पन्न भएकोले कार्यालय स्थानान्तरणका लागि सेवा बन्द गर्नुपरेको मालपोत कार्यालय पाल्पाका प्रमुख विष्णु खनालले जानकारी दिनुभयो । मालपोतले सूचना जारी गरेर ११ देखि १६ गतेसम्म कार्यालयको श्रेस्ता, लिखतलगायतका कागजात नयाँ भवनमा सार्ने र त्यसपछि नयाँ भवनबाटै सेवा सुचारु गरिने जनाएको छ । नापी कार्यालयले पनि सोहीअनुसारको सूचना जारी गरेको छ । पाल्पामा मालपोत र नापी कार्यालय टाढा हुँदा सेवाग्राहीलाई समस्या परेको थियो ।
पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३१ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा सङ्क्रमण देखिएको हो ।
नरेन्द्र ढकालगोरखा, बैशाख ११ गते । नेपाली काँग्रेस गोरखाले जिल्लाका सबै स्थानीय तह र वडाहरुमा एकल उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले केही दल र व्यक्तिका कारण गठबन्धन सम्भव नभएको बताउनुभयो । ‘हामी केन्द्रको निर्णयअनुसार अधिक लचक भएर गठबन्धन जोगाउन अन्तिम समय लागिरह्यौं । तर केही दलका साथीहरुको महत्वाकांक्षा र राजनीतिक अपरिपक्वताका कारणले सबैसँगै मिलेर जान सकेनौ, तालमेल ट¥यो’ काँग्रेस सभापति न्यौपानेले भन्नुभयो । जिल्ला कार्यसमितिको बैठक बसेर एक्लै निर्वाचनमा जाने निर्णय गरेको उहाँले बताउनुभयो । सोहीअनुरुप जिल्लाका दुई नगरपालिका, ९ वटा गाउँपालिकाका ९४ वटै वडाका सबै पदमा उम्मेदवारी दिने निर्णय काँग्रेस गोरखाले गरेको छ । ‘काँग्रेस गोरखा कसैको दबाब र प्रभावमा नपरी एक्लै प्रतिस्पर्धा गर्न सक्षम छ,’ उहाँले भन्नुभयो, ‘अहिलेको परिस्थितिमा सबैलाई साथै लैजाऔं भन्ने मात्र हाम्रो धारणा थियो । अब तालमेल सम्भव नभएपछि दलहरुवीच मित्रवत सम्बन्ध कायम राख्ने हाम्रो समझदारी छ ।’केन्द्रमा भएको सहमतीअनुसार जिल्लामा संयन्त्र बनेपछि गठबन्धनका दलहरुवीच ८ वटा औपचारिक र झण्डै एक दर्जन बढी अनौपचारिक छलफलहरु गरिएको काँग्रेस गोरखाको दाबी छ । जिल्लाका ११ स्थानीय तहमध्ये यसअघिको निर्वाचनमा २ नगरपालिकाको प्रमुख, ७ गाउँपालिकाको अध्यक्ष, एक नगरपालिकाको उपप्रमुख, ६ गाउँपालिका उपाध्यक्ष र ४५ वटा वडाध्यक्ष पद काँग्रेसले जितेको थियो । केन्द्रले बनाएको सहमतिअनुसार प्रमुख जितेको पालिकामा सम्बन्धित दलले नै पाउने बताइए पनि काँग्रेस २ वटा स्थानीय तह छोड्न तयार हुँदा पनि अन्य दल नमानेको सभापति न्यौपानेले बताउनुभयो । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केन्द्रीय तहबाटै हस्तेक्षप गरी जनता समाजवादी पार्टीको अबस्थाभन्दा बढी माग दाबी गरेपछि काँग्रेस र माओवादी उक्त कुरामा सहमत हुन नसकेको ती दलका नेताहरुले बताउनुभयो । यसअघिको निर्वाचनमा केही वडामा मात्र जितेको जसपाले एउटा नगरपालिका, एउटा गाउँपालिकासहित २५ वडा र १०० भन्दा बढी सदस्य दाबी गरेको थियो । जसपाको माग पूरा गर्न नसक्ने भन्दै काँग्रेस र माओवादी मिलेर जाने सहमती नजिक पुगेका थिए । काँग्रेसले ७ र माओवादी ४ स्थानीय तह लिनेगरी तालमेलको तयारी गरिरहेकाबेला जसपाको दबाबमा केन्द्रले हस्तक्षेप गर्न खोजेपछि अन्ततः एकल प्रतिस्पर्धा गर्ने सहमती दलहरुले गरेका हुन् । काँग्रेसले एक्लै जाने घोषणा गरेपनि माओवादी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले भने अहिलेसम्म औपचारिक घोषणा गरेका छैनन् ।