कृषकले उत्पादन गरेको भिण्डीले मूल्य र बजार नपाएपछि भैँसीलाई खुवाउन सुरु गरेका छन् । उत्पादन गरेको लागत र श्रमको मूल्य नपाएपछि कृषकले बजारमा बिक्री गर्नुको साटो पशु चौपायालाई खुवाउन सुरु गरेका हुन् ।
नारायण अधिकारी चितवन, जेठ ११ गते । समयमै उपचार गरे थाइराइड रोग जटिल नबन्ने चिकित्सक बताउँछन् । यो रोगको अध्ययन अनुसन्धानसँगै उपचारमा सक्रिय इण्डोक्राइनोलोजिष्ट डा सौरभ खतिवडा थाइराइडसम्बन्धी रोग लागेमा आत्तिनुनपर्ने तर समयमा सही उपचार गर्नुपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “समयमा उपचार गरेर थाइराइडलाई नियन्त्रणमा राख्न सकिन्छ”, भारतको नयाँदिल्लीस्थित एम्स्बाट इण्डोक्राइनोलोजिमा डिएम गर्नुभएका खतिवडा कुनै खानेकुराले थाइराइड बनाउने नभई शरीरको ‘एन्टीबडी’का कारणले हुने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “थाइराइड कुनै भाइरल इन्फेक्सनपछि दुख्ने हुन्छ । कुनै जेनेटिक कारणले हुन्छ । थाइराईडको परीक्षण र उपचार पद्धति राम्रोसँग विकास भएको छ ।” चितवन मेडिकल कलेजमा कार्यरत खतिवडा थाइराइडका कारण क्यान्सर नै भए पनि यसले मानिसको आयु नघटाउने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “थाइराइडका अरु समस्या त झनै सजिलै समाधान गर्न सकिन्छ । चिकित्सकको सल्लाहबमोजिम गर्नुपर्छ । औषधि आफैँ खान बन्द गर्नुहुँदैन । खानपान चिकित्सकले भनेमा मात्रै बार्ने गर्नुहोला ।” उहाँले थाइराइडका बिरामीले खानेकुरा बार्नु नपर्ने बताउनुभयो । उहाँले समयसँगै थाइराइडसम्बन्धी रोग परिवर्तन भएको बताउँदै भन्नुभयो, “अहिले थाइराइड हर्मोन घट्ने वा बढ्ने शरीरको एन्टीबडीका कारणले हुने गर्दछ । त्यसकारण कुनै खानेकुराका कारण हुने होइन”, चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्नु नै उत्तम उपाय भएको उहाँको भनाइ छ । उहाँका अनुसार घाँटीको अगाडि तलपट्टी हुने सानो ग्रन्थीलाई थाइराइड भनिन्छ । यसमा दुई वटा भाग हुन्छन् । यसले शरीरलाई आवश्यक पर्ने महत्वपूर्ण हर्मोन उत्पादन गर्दछ । यो हर्मोन हाम्रो दैनिक जीवनमा धेरै महत्वपूर्ण छ । यो हर्मोनले बच्चाको दिमागको वृद्धि विकासदेखि वयस्क मानिसमा काम गर्ने जाँगर, स्फूर्ति, मुटुको कामका लागि, खाना पचाउने, शरीरको मोटोपनलाई सन्तुलनमा राख्ने काम गर्ने उहाँले बताउनुभयो । थाइराइड हर्मोन कमी वा बढी भएमा फरक फरक लक्षण देखिने डा खतिवडा बताउनुहुन्छ । उहाँले भन्नुभयो, “थाइराइडमा कहिलेकाहीँ ट्युमर पनि पलाउँछ । ट्युमरमध्येमा सबैभन्दा सजिलै उपचार गर्न सकिने भनेको थाइराइडको ट्युमर हो । यस्तो ट्युमरको उपचार गर्दा बिरामीको आयु पनि घट्दैन ।” साधारणतया मानिसलाई थाइराइड हर्मोन घट्दा थकाइ लाग्ने, कसैकसैलाई खुट्टा सुन्निने, अनुहार फुस्रो हुने, कपाल झर्नेजस्ता लक्षण देखिने उहाँ बताउनुहुन्छ । यस्तै बढ्दा आत्तिने, हात काप्ने, मुटु ढुकढुक हुने, गर्मी धेरै महसुस हुनेजस्ता लक्षण देखिन्छन् । थाइराइडको उपचार तीन किसिमले गरिने उहाँको भनाइ छ । एउटा औषधिको सेवन, दोस्रोमा झोल औषधिको प्रयोग गरेर ग्रन्थी सुकाउने र तेस्रो शल्यक्रिया गर्ने उहाँ बताउनुहुन्छ । तर पछिल्लो समय शल्यक्रियाभन्दा झोल औषधिको प्रयोग गरेर सुकाउने विधि धेरै प्रयोगमा आउने गरेको उहाँको भनाइ छ । घाँटी दुख्दैमा थाइराइड नहुने बताउँदै उहाँले भन्नुभयो, “घाँटी दुखेमा कहिलेकाहीँ मात्रै थाइराइड हुन सक्छ । त्यसैले घाँटी दुख्दा भेट्ने भनेको नाक, कान घाँटी विशेषज्ञ चिकित्सकलाई हो ।” कहिलेकाहीँ थाइराइडबाट क्यान्सरमा परिणत हुन सक्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो “घाँटीमा गाँठागुँठीजस्ता लाग्यो भने त्यसको अल्ट्रासाउण्ड गरेर क्यान्सर हो होइन, पत्ता लगाउँछौँ । कहिलेकाहीँ ट्स्यिुको परीक्षण गरेर पनि क्यान्सर पत्ता लगाउँछौँ ।” क्यान्सर पहिचान भयो भने पनि शल्यक्रिया र रेडियोथेरापी गरेर सजिलै निको पार्न सकिने उहाँको भनाइ छ । थाइराइड भएको बिरामीले के खान हुन्छ, के खानु हुँदैन भन्ने धेरैलाई जिज्ञासा हुने उहाँको अनुभव छ । उहाँले भन्नुभयो, “समयसँग थाइराइडसम्बन्धी रोग परिवर्तन भएको छ । पहिला पहिला गलगाँडको धेरै समस्या हुन्थ्यो, त्यो समयमा काउली, बन्दा, तरुललगायतका तरकारी कम प्रयोग गर्नुपर्छ भन्ने चलन आएको थियो ।” पछिल्लो समय थाइराइड हर्मोन घट्ने वा बढ्ने शरीरको एन्टीबडीका कारणले हुने भन्दै उहाँले कुनै खानेकुराका कारण थाइराइड नहुने बताउनुभयो ।
शेरबहादुर सार्कीबाजुरा, जेष्ठ ११ गते । बाजुराको बूढीगङ्गा नगरपालिका अधिकांश वडाका मतदाताले सुरक्षित तरिकाले मतदान गरेको भए पनि मतगणना नहुँदा मतदाताहरु अन्येलमा परेका छन् ।निर्वाचन भएको १३ दिन बितिसक्दा सुरक्षित मतदान भएका वडाको नतिजा नआएपछि मतगणनाको विषयमा मतदाता अन्येलमा परेका हुन् ।निर्वाचन आयोगको २०७९ साल जेष्ठ ५ गतेको विज्ञप्तिमा बूढीगङ्गा नगरपालिकामा चुनाव गर्ने या मतगणना गर्ने विषयमा कुनै निर्णय नभएको उल्लेख छ ।बाजुराको हिमाली, जगनाथ, स्वामिकार्तिक, बूढीनन्दा, बडिमालिका, गोमुल, छेडेदह र त्रिवेणीलगायतका स्थानीय तहमा मतगणना सम्पन्न भैसकेको छ ।बूढीगङ्गा नगरपालिकाको २, ३, ४, ५ र ९ वडामा एकलौटी मतदान गरेको भन्ने विषयमा निर्वाचन आयोगमा उजुरी परेपछि मतगणना कार्य रोकिएको जिल्ला निर्वाचन कार्यालय, बाजुराले जनाएको छ ।निर्वाचन आयोगका सुगन सम्शेरजङ्ग राणाको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, मुख्य निर्वाचन कार्यालय, बाजुराका माधवप्रसाध घिमिरे, निर्वाचन कार्यालय प्रमुख नवराज अवस्थी, जिल्ला प्रहरी कार्यालय, बाजुराका प्रमुख चतुर्भज ओझालगायतको टोलीले बाजुराको बूढीगङ्गा नगरपालिकाका मतदानस्थलको प्रत्यक्ष अनुगमन गर्नु भएको थियो ।सो टोलीको अनुगमनपछि आयोगमा पठाइएको रिपोर्टको कुनै पनि आधिकारिक प्रतिक्रिया नआएको बताइएको छ । ‘‘भारतबाट मत हाल्नका लागि गाउँमा आयाैं मत हाल्यौँ, अब गणना हुन्छ भनेर एक दुई दिन रोकियौँ, बूढीगङ्गा नगरपालिका वडा नं १० स्थानीय रणबहादुर सार्कीले भन्नुभयो, “आफूले स्वविवेकमा मतदान गर्न पाउनुपर्ने नागरिकको नैसर्गिक अधिकार हो तर यहाँ नेता कार्यक्रताले बुढापाखाको हातबाट नै मतकार्ड खोसेर आफैँले प्रयोग गरेको देख्दा मतााधिकार हनन भएको जस्तो लाग्यो ।’’बाजुराका नौ वटा स्थानीय तहमध्ये ७ वटा स्थानीय तहमा शान्तिपूर्वक चुनाव सम्पन्न भएको थियो ।बाजुराको बूढिनन्दा र बूढीगङ्गा नगरपालिकामा मतदान गर्ने क्रममै धाँधली भएपछि त्यहाँको मतगणना रोकिएको थियो ।धाँधली भएपछि २, ३, ५, ९ मा नेकपा एमाले र ४, ७ मा नेपाली काँग्रेसका कार्यकर्ताले एकलौटी रुपमा मतदान गरेको स्थानीयवासीको आरोप छ ।बूढीगङ्गा नगरपालिका १० मा भने विवाद भए पनि एमाले र काँग्रेसका कार्यक्रताबीच सहमतिमा मतदान सुरु भएको थियो ।चुनाव सम्पन्न भएका बाजुराका ८ वटा स्थानीय तहमा हिमाली, स्वामिकार्तिक, त्रिवेणी, नेपाली काँग्रेस र जगनाथ, बूढीनन्दा, गौमुल छेडेदह , बडिमालिकामा नेकपा एमाले विजयी भएको निर्वाचन कार्यालय बाजुराका प्रमुख अवस्थीले बताउनुभयो ।सुरक्षा निकाय तथा निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगमा पठाएको रिपाेर्टको पर्खाइमा रहेको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरे बताउनुहुन्छ ।
कपिलवस्तुमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । गोरुसिङ्गे बनगाई सडक खण्डअन्तर्गत खारखानी वन क्षेत्रमा बुधवार बिहान भएको दुर्घटनामा कपिलवस्तु नगरपालिका ९ जगदीशपुरका अशोक चौधरीको मृत्यु भएको हो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले देशमा लुटतन्त्र र भ्रष्टाचार नियन्त्रण गर्न जनलोकपाल आयोग गठन गर्नुपर्ने बताउनुभएको छ ।
टेक्सास, जेठ ११ गते । अमेरिकी इतिहासको अर्को त्रासदीपूर्ण विद्यालय गोलीकाण्ड भएको छ । यहाँको प्राथमिक विद्यालयमा आज बिहान भएको आक्रमणमा १९ जना बालबालिकासहित २१ जनाको हत्या भएको छ भने कैयौं गम्भीररुपमा घाइते भएका छन् । टेक्सास राज्यको सान एन्टोनियोबाट १३४ किलोमिटर टाढा रहेको उभाल्डे शहरको रोब प्राथमिक विद्यालयमा एकजना १८ वर्षीय बन्दुकधारी साल्भाडोर रामोस्ले कक्षा कोठामा प्रवेश गरी अन्धाधुन्ध गोली चलाउँदा उनीहरूको मृत्युृ भएको हो । प्रहरी कारबाहीमा रामोसको पनि मृत्यु भएको जनाइएको छ ।सीएनएनका अनुसार रामोसले सबैभन्दा पहिला आफ्नै हजुरआमालाई गोली हानेका थिए, गम्भीर घाइते हुनुभएका हजुरआमाको अस्पतालको सघन कक्षमा उपचार भैरहेको छ । यस्तै, गोलीकाण्ड हुनुअघि रामोसले सामाजिक सञ्जालमा अत्याधुनिक हतियार पोष्ट गरेका थिए । यो नरसंहार सन् २०१२ को डिसेम्बरमा कनेक्टिकटको स्यान्डी हुकमा भएको डरलाग्दो हमलापछि अमेरिकी प्राथमिक विद्यालयमा भएको सबैभन्दा घातक हमला हो । स्यान्डी हुक हमलामा २० बालबालिकासहित छ जना वयस्क मारिएका थिए ।यस्तै, सन् २०२२ मा मात्रै अमेरिकाका स्कुल, कलेज र विश्वविद्यालयमा गरी ३९ वटा गोलीकाण्डमा कम्तीमा दशजनाको ज्यान र ५१ जना घाइते भएका छन् ।यस घटनाको विषयमा अमेरिकी राष्टपति जो बाइडेनले राष्टिय शोक मनाउन आह्वान गर्नुभएको छ । उहाँले निजी हतियारबारे कठोर निर्णय लिनुपर्ने विषयमा पनि मन्तव्य दिनुभएको छ ।यस्तै, अमेरिकाकी उपराष्टपति कमला ह्यारिसले यस्ता गोलीकाण्ड पुनः नहोस् भनेर उपयुक्त नीति तर्जुमा गर्नेबेला आएको प्रतिक्रिया दिनुभएको छ । – उपेश महर्जन (सीएनएन, एपी, बिबिसी र अल जजिराको सहयोगमा)
जिल्ला प्रहरी कार्यालय पाल्पाले अवैध सालको काठसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिनुभएको छ ।
लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष राजु लामाले लिसंखुपाखर गाउँपालिकाबाट गाउँमै रोजगारी सिर्जना गर्ने र उत्पादनमुखी काम गर्ने बताउनुभएको छ ।
७५३ स्थानीय तहमध्ये आठ पालिका बाहेक सबै पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । जसअन्तर्गत नेपाली कांग्रेसले ३२५ पालिका जितेको छ भने नेकपा एमालेले २०३ पालिका जितेको छ । यसैगरी, नेकपा माओवादी केन्द्रले १२१ पालिका जित्दा नेकपा एकीकृत समाजवादीले १२, जनता समाजवादी पार्टीले २१ र अन्य पार्टीले ६३ पालिका जितेका छन् ।
सिराज खान नेपालगञ्ज, जेठ ११ गते । बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका एक थुनुवा बुधवार बिहान शौचालयमा झुण्डिएर मृत्यु भएको अवस्थामा फेला परेका छन् ।इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार जबरजस्ती करणी उद्योगमा हिरासतमा रहेका कोहलपुर– १२ का ४६ वर्षीय कृष्णलाल कुँवर हिरासतको शाैचालयमा झुण्डिएर मृत अवस्थामा बुधवार बिहान फेला परेका हुन् । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐनबहादुर मल्लले बुधबार बिहान करिब ५ बजे कुँवर हिरासतको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको जानकारी दिनुभयो । उहाँले हिरासत कक्षबाट बिहानै शौचालय गएका कुँवर शौचालयको भ्यान्टिलेटरमा टिसर्टको पासो घाँटीमा लगाएर मृत्यु भएको अवस्थामा भेटिएको बताउनुभयो । डीएसपी मल्लका अनुसार मृतक कुँवरलाई प्रहरीले गत वैशाख १९ गते ७ वर्षे नाबालिकालाई जबरजस्ती करणीको प्रयास गरेको जबरजस्ती करणी उद्योगको अभियोगमा नियन्त्रणमा लिएर म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको थियो ।प्रहरीले स्थानीय र आफन्तको रोहबरमा आवश्यक मुचुल्का तयार गरी मृतकको शव पोष्टमार्टमको लागि भेरी अस्पताल पठाइएको मल्लले जानकारी दिनुभयो । एक हप्ता अघि पनि नरैनापुर गाउँपालिकाको इलाका प्रहरी कार्यालय भगवानपुरमा पनि प्रहरी नियन्त्रणमा रहेका जबरजस्ती करणीको अभियोग लागेका ३५ वर्षीय रामपाल यादवको प्रहरी हिरासतमै उपचारको क्रममा मृत्यु भएको थियो ।यादवको मृत्यु सहज नभई यातनाबाट भएको भन्दै उहाँका आफन्त र परिवारले आन्दोलन गरेका थिए । पछिल्लो समयमा आएर देशका विभिन्न ठाउँमा प्रहरी हिरासतमा मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ ।
पाल्पाका किसानले लगाएको मकै बालीमा फौजी कीराले क्षति पु-याएको छ । जिल्लाको रामपुर, गेझा, कसेनी माडी क्षेत्रका किसानले लगाएको मकै बालीमा फौजी किराको प्रकोप बढेको हो ।
तीन वटा गाउँपालिका रहेको रुकुम पूर्वमा सबै गाउँपालिकामा कार्यपालिकाले पूर्णता पाएको छ । जिल्लाको सिस्ने गाउँपालिकामा १६, भूमे गाउँपालिकामा १७ र पुथा उत्तरगंगा गाउँपालिकामा २२ सदस्यीय कार्यपालिका बनेको हो ।
काठमाडाैं, जेठ ११ गते । वैशाख ३० गते सम्पन्न भएकाे स्थानीय तहकाे निर्वाचनकाे मत परिणामअनुसार छ वटा महानगरमध्ये पाँचवटाकाे नतिजा सार्वजनिक भएकाे छ । सङ्घीय राजधानीकाे काठमाडाैं महानगरकाे मत परिणामबाहके सबै पाँचवटै महानगरकाे नतिजा सार्वजनिक भएकाे छ । साे नतिजामा सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस दुई, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)काे एक/एक वटा महानगरमा विजयी भएकाे हाे ।प्रदेश नं . १ अन्तर्गत मोरङको विराटनगर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेसका नागेश कोइराला ३० हजार १७० मतसहित विजयी हुनुभयो । कोइरालाका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागरकुमार थापाले २१ हजार ४५५ म प्राप्त गर्नुभयो ।निर्वाचन आयोगका अनुसार सो महानगरकाे उपप्रमुखमा एमालेका शिल्पा कार्की २५ हजार ६८० मतसहित विजय हुनुभयो भने जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले १४ हजार २१९ मत ल्याउनुभयो ।मधेश प्रदेश अन्तर्गत पर्साको वीरगञ्ज महानगर प्रमुखमा जसपाका राजेशमान सिंह ४६ हजार २१५ मतसहित विजयी हुनुभयो । सिंहका निकटतम प्रतिद्वन्द्वी एमालेका विजयकुमार सरावगीले २३ हजार ६७१ मत प्राप्त गर्नुभयो । सो महानगरको उपप्रमुखमा कांग्रेसका इम्तियाज आलम ३० हजार ७८ मतसहित विजयी हुनुभयो । बागमती प्रदेश अन्तर्गत ललितपुर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन ४२ हजार ७२२ मतसहित विजयी हुनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण ब्यञ्जनकारले २४ हजार ५६० मत ल्याउनुभयो । महानगर उपप्रमुखमा एमालेकी मन्जली शाक्यले २५ हजार ८४ मतसहित विजयी हुनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका बाबुराजा बज्राचार्यले १८ हजार ५५२ मत प्राप्त गर्नुभयो ।चितवनको भरतपुर महानगर प्रमुखमा माओवादी केन्द्रकी रेनु दाहाल ५२ हजार २८ मतसहित विजयी हुनुभयो । दाहालका निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीले ३९ हजार ५८२ मत ल्याउनुभयो । उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारी ५२ हजार ८०३ मतसहित विजयी हुनुभयो । अधिकारीका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका हिमला गुरुङले ३० हजार ६११ मत प्राप्त गर्नुभयो ।गण्डकी प्रदेश अन्तर्गत पोखरा महानगरपालिका प्रमुखमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य ५८ हजार ८९३ मतसहित विजयी हुनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णबहादुर थापाले ५२ हजार ८४८ मत ल्याउनुभयो ।काठमाडौं महानगरपालिको भने मतगणना अझै जारी छ । काठमाडौं निर्वाचन अधिकृतको कार्यालयको पछिल्लो मतपरिणाम अनुसार एक लाख ६६ हजार ३१३ मतगणना हुँदासम्म महानगरप्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५४ हजार २१३ मत ल्याउनुभएको छ । कांग्रेसका सिर्जना सिंहको ३४ हजार १८० र एमालेका केशव स्थापितको ३३ हजार ९०४ मत छ । काठमाडौं महानगरको ३२ वडामध्ये २७ वटा वडाको मतपरिणाम घोषणा भइसकेको छ भने अहिले वडा नं. १३, १४, १५, १६ र १७ गरी पाँच वटा वडाको मतगणना कार्य जारी छ । काठमाडौं महानगरको बिहीबार दिउँसोसम्ममा मतगणना सम्पन्न हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग नेपालका लागि कार्यवाहक भारतीय राजदूत नाम्गे सी खम्पाले मङ्गलबार मुख्यमन्त्री कार्यालयमा भेट गर्नुभएको छ ।