काठमाडौं महानगरपालिकाको प्रमुख बन्नुभएका ३२ वर्षीय वालेनको चर्चाले प्रमुख राजनीतिक दललाई चिन्ता बढेको छ । वालेन अहिले युगौंदेखि चर्चा कमाएका राजनीतिक दलहरूका लागि चुनौती बन्नुभएको छ ।
रौतहट जिल्लाको श्री विश्वेश्वरप्रसाद कोइराला आदर्श माविका जोकाहा घिउराका प्रधानाध्यापक राकेशकुमार ठाकुरले तीन लाख घुस लिएको आरोपमा आरोपपत्र दायर गरिएको छ ।
बेलिना थापा लमजुङ, जेठ १२ गते । हिमाली जिल्ला मनाङको चामेमा सञ्चालन गरिएको आँखा शिविरमा ६४ जनाको आँखाको शल्यक्रिया गरिएको छ ।मनाङको सदरमुकाम चामेस्थित सामुदायिक आँखा केन्द्रमा सञ्चालित शिविरमा मङ्गलबार र बुधबार गरी ६४ जनाको आँखाको शल्यक्रिया गरिएको हो । ६३ जनाको मोतियाबिन्दुको अत्याधुनिक तरिकाबाट शल्यक्रिया गरिएको छ । एक जनाको आँखामा मासु पलाएकाले शल्यक्रिया गरिएको छ ।शिविरमा तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौंका कार्यकारी निर्देशक वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतको नेतृत्वमा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंका ११ जना प्राविधिक र अन्य स्वास्थ्यकर्मी शिविरमा खटिएका थिए । डा= रुइतले ६४ जना वृद्धवृद्धाका आँखाको शल्यक्रिया गर्नुभएको थियो । आँखा शिविरमा चारै गाउँपालिकाका नागरिक आएका थिए ।विकट नार्पाभूमि गाउँपालिकाको नारगाउँबाट दुई दिन हिँडेर सेवा लिन आएका थिए । आँखासम्बन्धी सेवा कहिल्यै नपाएका नागरिक पनि आएका थिए । चामे गाउँपालिकासँगै नासो गाउँपालिका मनाङ ङिस्याङ गाउँपालिकाका नागरिक पनि लाभान्वित भएका छन् । तिलगङ्गा आँखा प्रतिष्ठान, तेज कोहली एण्ड रुइत फाउन्डेशन र सामुदायिक आँखा केन्द्र मनाङको आयोजनामा सञ्चालित शिविरमा करिब नौ सयजनाको आँखा परीक्षण गरिएको थियो । एक सातासम्म गाउँगाउँ पुगेर आँखा जाँच गरिएको थियो । आँखा परीक्षणपछि शल्यक्रिया गर्नुपर्ने आँखाका बिरामीको चामेमा शिविर सञ्चालन गरेर आँखाको शल्यक्रिया गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठानका बाह्य कार्यक्रम अधिकृत नामखेन लामाका अनुसार शल्यक्रियाका लागि लमजुङ र गोरखाबाट बिरामी आएका थिए ।मनाङमा पहिलो पटक बहत् आँखा शिविर सञ्चालन भएको हो । स्थानीयले पहिलो पटक यस्ता खाले शिविर पाउँदा खुसी व्यक्त गरेका छन् । शिविरमा शल्यक्रियापछि बिरामीलाई गाउँगाउँमा पु¥याउन भ्राकाका कालु घलेले सहजीकरण गर्नुभएको छ । चामेको आमा समूहले अन्य सहजीकरण गरेको थियो ।
लाहान नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख महेशप्रसाद चौधरीले भ्रष्टाचार सहनै नसक्ने बताउनु भएको छ । जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानले आयोजना गरेको शुभकामना तथा सम्मान कार्यक्रममा यस्तो बताउनु भएको हो ।
काठमाडौं महानगरपालिकाको मतगणनाको क्रम अन्तिम चरणमा छ । निर्वाचन अधिकृतको कार्यालय अनुसार अब तीन मतपेटिका गणना हुन मात्रै बाँकी रहेको छ ।
बर्दिवास नगरपालिकामा स्वतन्त्रबाट निर्वाचित भएर पदभार ग्रहण गर्नुभएका प्रह्लाद क्षेत्रीले निवर्तमान प्रमुख चढ्ने सवारी साधन एम्बुलेन्सकाे रुपमा प्रयोग गर्ने , सुत्केरी भत्ता नगरको तर्फबाट दिइने विपन्नका लागि निःशुल्क स्वास्थ्य वीमा गर्ने निर्णय गर्नुभएको छ ।
भोटराज राईउदयपुर, जेठ १२ गते । उदयपुरको जेठो र ठूलो नगरपालिका त्रियुगाको मतपरिणाम रोचक बन्दै गएको छ । यहाँ नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धनबीच प्रतिस्पर्धा देखिएको छ । प्रमुख र उपप्रमुख पदमा यी तीनै पक्षमा मत आइरहेको छ । यसबीचमा पनि कांग्रेस र गठबन्धनको निकटतम टक्कर देखिएको छ ।१० हजार ५१४ मतगणनामा गठबन्धनबाट नेकपा एसका बलदेव चौधरी तीनहजार ४७२ मतका साथ अग्रतामा हुनुहुन्छ । कांग्रेसको प्रमुख पदका उम्मेद्वार वसन्त बस्नेत तीनहजार ३२४ मतका साथ दोस्रो स्थान र एमालेका भागवत राउत दुई ३६१ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ । सयदेखि तीनसयसम्मको मतान्तरमा कांग्रेस र गठबन्धनको अग्रता आलोपालो भइरहेको छ । हालसम्मको मत परिणामले उपप्रमुखमा पहिलो रुख, दोस्रो गोलाकारभित्रको हँसिया हथौडा र तेस्रोमा सूर्यले मत पाएको छ । उपप्रमुखमा कांग्रेसका सरिता राईको तीनहजार ४२, गठबन्धनबाट माओवादी केन्द्रका गीता खड्का कार्कीको दुई हजार ८५७ र एमालेका महेश्वरी राईको दुईहजार ६१३ मत छ ।हालसम्म पाँचवटा वडाहरु १, २, १४, १५ र १६ को मतगणना सकिएको छ । पाँचमध्ये १४, १५ र १६ गरी तीनवटा वडामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रले वडामा प्यानलै विजय हासिल गरेको छ । वडा नं. १ मा नेपाली कांग्रेस र २ मा नेकपा एमालेले विजय गरेको छ । वडा नं. १६, १५ र १४ मा माओवादी केन्द्रले जितेको छ भने वडा नं. १ मा कांग्रेस र वडा नं. २ मा एमालेले वडाध्यक्ष जितेको हो । गठबन्धनका १६ नं वडाध्यक्षमा मानबहादुर राई, १५ मा गणेशप्रसाद तिम्सिना र १४ मा हिमराज मगरले प्यानलै जितेका हुन् । वडा नं. १ मा कांग्रेसका मनोजकुमार चौधरीसहित प्यानलै जित्नुभयो भने वडा नं. २ मा घमानसिंह खत्रीले वडाध्यक्षमा जित हात पार्नुभयो । सो वडाको अन्य सदस्य भने सबै कांग्रेसका विजयी भएका छन् । अब त्रियुगाको २९ हजार ६६५ मत गन्न बाँकी छ । त्रियुगामा ६० हजार ४६ मतदातामध्ये ४० हजार १७९ मत खसेको छ ।
अमरराज नहर्की तनहुँ, जेठ १२ गते । स्थानीय तहको निर्वाचनमा तनहुँमा दलित समुदायबाट दुई जना उपप्रमुखमा निर्वाचित हुनुभएको छ । एक नेपाली कांग्रेस र अर्को माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बन्नुभएको व्यक्ति उपप्रमुख बन्न सफल हुनुभएको हो । भानु नगरपालिकामा काँग्रेसका उमा गोतामे र शुक्लागण्डकी नगरपालिकामा माओवादी केन्द्रका राजु विश्वकर्मा उपप्रमुखमा विजयी हुनुभएको हो । दलित समुदायबाट पालिकाको प्रमुखमा भने शुन्य रहेको छ । नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएका गोतामे झण्डै दोब्बर मत ल्याई निर्वाचित हुनुभयो । गोतामेले १० हजार ५४७ मत ल्याएर विजयी हुनुभयो भने उहाँको निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेद्वार केशरबहादुर गुरुङले पाँच हजार ८१७ मत प्राप्त गर्नुभयो । सीप विकास तालिम प्रदान गरी महिलालाई स्वरोजगारबाट आत्मनिर्भर बनाउने, दलित, सिमान्तकृत समुदायको महिलालाई नेतृत्व विकासको तालिम दिने, अध्ययनमा समस्या भएका विपन्न अभिभावकका बालबालिकालाई मद्दत गर्नेलगायतलाई प्राथमिकतामा राखिएको गोतामे बताउनुहुन्छ । साथै, उहाँले दलित तथा पिछडिएको वर्गलगायतको हितमा काम गर्ने बताउनुभएको छ । यस अघि उहाँ स्थानीय तहको निर्वाचनमा भानु नगरपालिका–५ को वडा सदस्य भई काम गर्नुभएको थियो । जिल्ला समन्वय समिति तनहुँका सदस्य अर्जुनबहादुर अधिकारीले गोतामे गण्डकी प्रदेशमै दलित महिलाबाट उपप्रमुख बन्ने एक मात्र महिला भएको बताउनुभयो । दलित समुदायबाट उपप्रमुखमा गोतामेलाई काँग्रेसले उम्मेवार प्रमुखलाई समेत मत धेरै प्राप्त भएको अधिकारीले बताउनुभयो । ‘दलित महिलालाई अवसर दिएपछि अधिकांश समुदायले प्रमुख तथा उपप्रमुख दुवैलाई भोट दिएकाले दुवैले अत्याधिक मत ल्याएर विजयी हुनुभयो’ अधिकारीले भन्नुभयो । शुक्लागण्डकी नगरपालिकाको उपप्रमुखमा विकले १० हजार २६२ मत ल्याएर विजयी हुनुभयो । विकको निकतम प्रस्तिपर्धी एमालेका फुलमाया वाग्लेले नौ हजार ९५७ मत पाउनुभयो । उपप्रमुख विक विकासमा पछि परेको समुदाय, भूगोललाई प्राथमिकता दिएर बजेट विनियोजनको लागि पहलकदमी गर्ने बताउनुहुन्छ । यस अघिको वि.सं २०७४ को निर्वाचनमा दलित समुदायबाट शुक्लागण्डकीको नेकपा एमालेको तर्फबाट उम्मेदवार बन्नुभएका सविता रसाइली उपप्रमुखमा विजयी हुनुभएको थियो ।
रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । कोलकाता स्थित इडेन गार्डेन मैदानमा बुधबार राति भएकोएलिमिनेटर राउन्डमा बेंगलोरले लखनउ सुपर जायन्ट्सलाई १४ रनले हरायो ।
स्थानीय तहमा निर्वाचित हुनुभएका बाँके जिल्लाका विभिन्न पालिका प्रमुख र अध्यक्षहरुले जनतालाई आकर्षित गर्न विभिन्न लोकप्रिय निर्णय गर्नुभएका छन् ।
नेकपा (एमाले) अध्यक्ष एवम् प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नेपाल एक चीन नीतिमा छ कि छैन भनी सरकारसँग जवाफ माग गर्नुभयो । बिहीबार आर्थिक वर्ष २०७९/०८० का लागि प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिनुहुँदै पूर्व प्रधानमन्त्री समेत रहनुभएको ओलीले आफ्नो भूमि प्रयोग गर्न नदिने नीतिमा सरकार अडिग छ कि छैन भनी सरकारसँग जवाफ माग गर्नुभएको हो ।
काबुल , जेठ १२ गते । अफगानिस्तानमा मिनीबस र एउटा मस्जिदमा भएका चारवटा बम विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या कम्तीमा १६ पुगेको छ । यसमध्ये केही आक्रमण इस्लामिक समूहले जिम्मा लिएका छन् । अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । तालिबानले गत अगस्टमा सत्ता कब्जा गरेपछि देशभर बम विस्फोटको सङ्ख्या घटेको थियो । तर गत महिना रमजानको समयमा भएका घातक हमलाहरूले देशलाई नै हल्लाएको छ ।उत्तरी सहर मजार–ए–शरिफमा छुट्टाछुट्टै मिनीबसहरु राखेको तीनवटा बम विस्फोटमा परी १० व्यक्तिको मृत्यु भएको स्वास्थ्य अधिकारीले जनाएका छन् । यस सहरका विभिन्न जिल्ला तीनवटा मिनिबसमा बम रहेका बाल्खा प्रान्तीय प्रहरी प्रवक्ता आसिफ वाजिरीले एएफपीलाई बताउनुभएको छ । बाल्ख स्वास्थ्य विभागका प्रमुख नजिबुल्लाह तवानाले विस्फोटमा मारिएका १० जनामा तीन जना महिला रहेका जानकारी दिनुभएको छ । यस विस्फेटमा परी अन्य १५ जना घाइते भएका जनाइएको छ । विस्फोटको केही घण्टापछि इस्लामिक स्टेट्स समूह (आईएस) ले सामाजिक सञ्जालमा मिनीबस हमलाको जिम्मेवारी लिएको छ ।साथै राजधानी काबुलको एक मस्जिदभित्र बुधबार अबेर राति अर्को बम विस्फोट भएको छ । बिहीबार बिहानै काबुल प्रहरीका प्रवक्ता खालिद जद्रानले उक्त विस्फोटमा ६ जनाको मृत्यु भएको र अन्य १८ जना घाइते भएको ट्वीट गर्नुभएको छ । बुधवारको बम विष्फोटले कुन विशेष समुदायलाई लक्षित गरेको हो कि भनेर अझै स्पष्ट हुन सकेको छैन । अफगानिस्तानमा अप्रिल ३० मा समाप्त भएको रमजानको पवित्र महिनामा मुख्यतया साम्प्रदायिक आक्रमणहरूमा काबुल र अन्य सहरहरूमा दर्जनौं सर्वसाधारणको मृत्यु भएको थियो । जसको केही आइएस समूहले दाबी गरेको थियो । अप्रिल २९ मा काबुलको सुन्नी मस्जिदमा धार्मिक अनुष्ठान गरिरहेका अल्पसङ्ख्यक सुफी समुदायका सदस्यहरूलाई लक्षितगरी भएको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको थियो । गत अप्रिल २१ मा मजार–ए–शरिफस्थित एउटा शिया मस्जिदमा भएको बमले कम्तीमा १२ जना उपासकहरूको ज्यान गएको थियो अन्य धेरै घाइते भएका समाचारमा जनाएका छन् ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको सेवक भएर काम गर्न जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ । बिहीबार आर्थिक वर्ष २०७९/०८०का लागि प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिनुहुँदै एमाले अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।
७५३ स्थानीय तहमध्ये अहिलेसम्म ७४९ वटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ । अब चार वटा पालिकाको मात्रै अन्तिम नतिजा सार्वजनिक हुन बाँकी छ । जसअन्तर्गत नेपाली कांग्रेसले ३२७ पालिका जितेको छ । नेकपा एमालेले २०५ पालिका जितेको छ । यसैगरी, नेकपा माओवादी केन्द्रले १२१ पालिका जित्दा नेकपा एकीकृत समाजवादीले १२, जनता समाजवादी पार्टीले २१ र अन्य पार्टीले ६३ पालिका जितेका छन् ।
काठमाडौं महानगरपालिकाकाे भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा जारी मतगणना अन्तिम चरणमा छ । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाकाअनुसार एक लाख ९१ हजार १८६ कुल मतमध्ये अहिलेसम्म एक लाख ८३ हजार ६७९ भन्दा बढी मतगणना भइसकेकाे छ । अब करिब सात हजार ५०७ मतगणना हुन मात्रै बाँकी छ ।