त्रिभुवन विश्वविद्यालय (त्रिवि) का प्रा.डा. लक्ष्मीबहादुर महर्जनले स्नातकतहदेखि नै व्यावहारिक रुपमा अनुसन्धान गर्नुपर्ने कुरामा जोड दिनुभएको छ । शनिबार यहाँस्थित मंगल बहुमुखी क्याम्पसको ‘स्वागत तथा विदाई’ कार्यक्रममा बोल्नुहुँदै उहाँले अध्ययनलाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउन अनुसन्धान अपरिहार्य रहेको बताउनुभएको हो ।
काठमाडौं, भदाै ४ गते । काँडाघारीस्थित अक्षरा स्कुलले 'अक्षरा स्कुल संस्कारण' पाठ्यपुस्तक शुक्रबार विमोचन गरेको छ । वरिष्ठ चिकित्सक प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, डा. भगवान कोइराला, अक्षरा स्कुलका प्रधानाध्यापक अञ्जु भट्टराई र पुस्तककका लेखक डा. राजु अधिकारीले संयुक्त रुपमा विमोचन गर्नुभएकाे हाे। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संस्कारबारे सिकाउन नसकेकाले परीक्षामा राम्राे अंक ल्याएर उत्तीर्ण गरेकाहरू जीवनको परीक्षामा असफल हुने गरेकाे बताउनुहुँदै भन्नुभयाे, ''संसार बदल्ने हो भने पहिला आफैँ बदलिनुपर्छ, त्यसकाे लागि संस्कार जान्नुपर्छ । संस्कारसहितको शिक्षा हुनुपर्छ ।''पुस्तकबारे चर्चा गर्नुहुँदै डा.कोइरालाले पछिल्लो समय आधारभूत मानवीय मूल्य बिर्सँदै गएको बताउनुभयो । उहाँले भन्नुभयो, ''अहिले विज्ञान छ, प्रविधि छ, भौतिक विकास पनि छ । यी सबै चाहिन्छ । तर यसका साथमा मानव मूल्य पनि चाहिन्छ । मानव मूल्य छैन भने हाम्रो जीवनको पनि कुनै मूल्य हुँदैन ।'' स्कुलका संस्थापक एवं प्रधानाध्यापक अञ्जु भट्टराईले संस्कारयुक्त शिक्षा दिनकै लागि १२ वर्ष अघि स्कुल स्थापना गरेको बताउनुभयो । अक्षरा स्कुल संस्कारण नाम दिइएको पुस्तकमा संस्कारको सुगन्ध, संस्कारी व्यक्ति यस्ता हुन्छन्, संस्कारी हुनुको अर्थ र महत्व, असल सन्तान नै अमूल्य सम्पत्ति, संस्कारयुक्त शिक्षा आजको आवश्यकता, चरित्र र शिक्षाको शिलान्यास, संस्कारी व्यक्तिको शान र पहिचान, नैतिकता र चरित्र, नागरिक कर्तव्य, सद्गुण र शिष्टाचार, बनौ संस्कारी जस्ता विषय समेटिएका छन् ।
राजन रावतहुम्ला, भदौ ४ गते । लाप्चाबाट तिब्बतको मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकका लागि नाम्खा गाउँपालिका–१ को लेकधिंगामा क्याम्प खडा गरिएको छ । काठमाडौं हुँदै नेपालगञ्जबाट सिमकोट आउने धार्मिक पर्यटकहरु लेकधिंगासम्म पैदल मार्गबाट जाने भएपछि उक्त क्याम्प खडा गरिएको हो । पर्यटक व्यवसायी विजय लामाले भदौ ६ गतेबाट मानसरोवर कैलाशको दर्शनका लागि पर्यटक आउन सुरु हुने भएपछि धिंगामा क्याम्प खडा गरिएको बताउनुुभयो । उहाँले लेकधिंगामा एक सय जना पर्यटकहरु अट्ने गरी टेण्ट हालेर क्याम्प खडा गरिएको बताउनुुभयो । सो क्षेत्र बास बस्ने अन्य विकल्प नभएपछि बाहिरबाटै टेण्ट लगेर क्याम्प खडा गर्नुपरेको हो । भदौ ६ गते ५० जनाको टोली सिमकोट आइपुग्नेछ भने सोही दिन पैदलमार्गबाट लेकधिंगा बास बस्न जानेछ । लेकधिंगाबाट तुम्लिङसम्म भने पर्यटकहरुका लागि हेलिकोप्टरको व्यवस्था गरिएको छ । यसका लागि भदौमा पाँच वटा हेलिकोप्टरहरु सिमकोट आइपुग्ने तयारी गरिएको छ । तुम्लिङबाट लाप्चासम्म भने गाडी प्रयोग गर्ने व्यवस्था गरिएको छ । त्यसका लागि सिमकोटमा भएका दशदेखि १२ वटा बोलेरो जीप बुक गरिएको छ । मिति निश्चित नभए पनि अङ्ग्रेजी महिना सेप्टेम्बरमा भारतीय सद्गुरू आउने कार्यक्रम तय भएको उहाँले बताउनुुभयो । उहाँसहित यसवर्ष एक हजारदेखि एक हजार ४०० सम्म धार्मिक पर्यटकले लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्नुहुनेछ । गतवर्ष भदौ महिनामै उहाँले लाप्चाबाट ५० जना पर्यटकसहित मानसरोवर कैलाशको दर्शन गर्नुभएको थियो । उहाँको यात्रापछि अन्य सात वटा भारतीय तथा अन्य धार्मिक पर्यटकले लाप्चाबाटै मानसरोवर कैलाशको दर्शन गर्नुभएको थियो । यसवर्ष सद्गुरूसहित धार्मिक पर्यटक धेरै आउने भए पनि केही दिन अगाडि प्रमुख जिल्ला अधिकारी सीता परियारले सडकको अवस्थाका बारेमा अनुगमन गर्नुभएको थियो ।
सन्तोष राउतसोलुखुम्बु, भदौ ३ गते । ‘अफ सिजन’मा सगरमाथा क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या यस वर्ष वृद्धि भएको छ । विगतका वर्षहरुमा भन्दा यस वर्ष सिजन सकिएपछि पनि भ्रमण गर्न आउने विदेशी पर्यटक बढेको रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय, नाम्चे सोलुखुम्बुले जनाएको छ ।गत वर्ष यही समयमा दैनिक २/३ जना मात्र विदेशी पर्यटकहरु मात्रै भ्रमणका लागि आउने गरेको खुम्बु क्षेत्रमा अहिले दैनिक १२/१४ जनासम्म भित्रिरहेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्ववारिका अछामीका अनुसार अहिले दैनिक रुपमा तीन वटासम्म हवाई उडान हुने गरेको छ भने हेलिकप्टरहरुले दैनिक दुई दर्जन भन्दा बढी उडान गर्ने गरेका छन् ।खुम्बुमा विशेष गरी वर्षको दुई सिजनमा पर्यटकको चाप हुने गर्दछ । ‘स्प्रिङ’ सिजनका रुपमा वैशाख, जेठ, असार र असोज, कात्तिक, मङ्सिरलाई मुख्य पर्यटकीय सिजनका रुपमा मानिन्छ । सिजनमा पर्यटकले भरिभराउ हुने सो क्षेत्रमा सिजन सकिएसँगै चहलपहल कम हुने गर्दछ ।तर यस वर्ष भने सिजन सकिएपछि पनि फाट्टफुट्ट पर्यटकहरु आइरहेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले जनाएको छ । कोरोना कहरका कारण लगातार दुई वर्षसम्म भ्रमणमा निस्कन नपाएका विदेशी पर्यटक अहिले आउने क्रम बढेको हो ।
सिराज खान नेपालगञ्ज, भदौ ३ गते । बाँकेको बैजनाथ गाउँपालिका –५ वनकटुवाको संगमचोक नजिकै तीन सवारी साधन एकआपसमा ठोक्दिाँ एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर नौ जना घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी ऐनबहादुर मल्लले जानकारी दिनुभयो ।पूर्वपश्चिम राजमार्गमा पर्ने संगमचोक नजिकै शुक्रबार मिनि ट्रक, म्याजिक भ्यान र मोटरसाइकल ठोक्किएका थिए । पश्चिमतर्फ गइरहेको भे १ क २१९६ नम्बरको मिनि ट्रक, कोहलपुरतर्फ आउँदै गरेको भे १ ज ४४९ नम्बरको म्याजिक भ्यान र भे ११ प २८०० को मोटरसाइकल ठोक्किएका हुन् ।सवारी साधनहरू ठोक्किँदा ट्रक र म्याजिक सडकबाट तल खसेका थिए । दुर्घटनामा परेर म्याजिकका चालक बाँसगढी नगरपालिका –४ का रामबहादुर कुँवरको मृत्यु भएको डीएसपी मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा परेर अन्य नौ जना घाइते भएका छन् ।घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
नेपालमा सूचनाको हक कार्यान्वयन भएको शुक्रबार १६ वर्षमा प्रवेश गरेको छ । नेपालको संविधानको धारा २७ ले प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हकको व्यवस्था गरेको छ । सूचनाको हक सम्बन्धी ऐन २०६४ लगायतका ऐन कानुन बनेपछि २०६५ सालमा राष्ट्रिय सूचना आयोग स्थापना भएपछि सूचनाको हक लागू भएको राष्ट्रिय सूचना आयोगले जनाएको छ ।
प्रतीक इच्छुक शर्मासल्यान, भदौ २ गते । बनगाड कुपिण्डे नगरपालिका १ अम्राका स्थानीय युवाले भेल खेल्ने चाड मनाएका छन् । यस आसपासका क्षेत्रमा भदौ १ गतेलाई भेल खेल्ने चाड मनाइन्छ । देवस्थलको बनगाड खोलाको मोडदेखि अम्रासम्म तीन किलोमीटर पौडी खेलेर अम्राका १५/२० जना युवाले पौडी खेलेर ‘घिया त्यार हो’ अथवा पौडी खेल्ने चाड मनाएका हुन् । स्थानीय दोर्ण ऐरीले यहाँ हरेक वर्ष सधैँका वर्ष जसरी यस वर्ष पनि मनाएको बताउनुभयो । उहाँका अनुसार चाडपर्वको आगमन जनाउने यो चाड परम्परागत रुपमा मनाइँदै आएको छ । भेल खेल्ने पहिले सल्यानको नाम्रा, घटागाउ बुरेली र अम्रा र सुर्खेतको राकम, ठिग्नी, घोरेरीमा खेल्ने गर्दछन् । पछिल्नो समय भेल खेल लोप हुँदै गएको र यसको संरक्षणमा कसैको चासो गएको छैन । वनगाड कुपिण्डे नगरपालिका नाम्राका युवाले भने हरेक वर्षको भदौ १ गते दिनका उक्त गाउँमा भुइँ छोड्ने भनेर युवाले भेल खेल्ने पर्व मनाउने गरेका हुन् । भदौ १ गतेका दिने युवा भेल खेल्ने र महिला तथा बालबालिका जङ्गल पुगेर पङ्गैको ( पिङ्ग)को लागि कैयार(खर) काटेर ल्याउने चलन छ । कोही जमिन छोड्न भनेर भेरीमा भेल खेल्दै थिए भने अरु पङ्गै खेलेर रमाइरहेका थिए । जङ्गलबाट काटेर ल्याएको कैयार(खर) बुढापाका र युवाले संयुक्त रूपमा डोरी बाटेर पङ्गै निर्माण गर्ने बताइन्छ । अम्राका स्थानीय वृद्धका अनुसार पहिले टाढाटाढाबाट धेरै गाउँका मानिसहरुले भेरीमा भेल खेल्ने आउने गरेको भए पनि अहिले स्थानीय अम्राका युवाले मात्र वर्षाको भेलमा पौडी खेल्ने गरेका छन् ।स्थानीय नरेश एरीले भाद्र संक्रान्तिका दिन मनाइने यो पर्वको धार्मिक महत्व रहेको बताउनुभयो । साहित्यकार वीरेन्द्र शाहीले भेल खेल्ने पर्व साहसिक खेल भएको र प्रकृतिसँगको सङ्घर्षबाट प्राप्त ज्ञानका रुपको प्रयोग भएको बताउनुभयोा । उहाँका अनुसार यो खेल सल्यानमा मात्र छ । एक दिन भए पनि जमिन छोड्नुपर्छ मान्यतामा यो खेल जोडिएको छ ।
रौतहट समाचारदातारौतहट, भदौ २ गते । चन्द्रपुर नगरपालिका–६ निवासी यादवराज पुरीले वडा कार्यालय भवन निर्माणार्थ डेढ कठ्ठा जमिन दान गर्नुभएको छ । बिहीबार जनज्योति माध्यमिक विद्यालय चन्द्रनिगाहपुरको सभाकक्षमा भएको वडा भेला कार्यक्रममा मन्तव्य राख्दै उहाँले उहाँका दिवंगत पिता लालबहादुर पुरीको सम्झनामा कित्ता नम्बर १५३१ को डेढ कठ्ठा क्षेत्रफलको जमिन दान गर्नुभएको हो । चन्द्रपुर नगरपालिकाको ‘रिंग रोड’ र मोथियाही रोडले छोएको उक्त जमिन वडा नम्बर ६ को कार्यालय भवन निर्माण गर्न दान गर्नुभएपछि वडावासी हर्षित भएका छन् । सो जग्गाका मूल्य एक करोड रुपियाँ बराबरका हुन आउने बताइएको छ ।वडा अध्यक्ष सहदेव केसीले उक्त जमिनमा यथाशिघ्र कार्यालय भवन निर्माणको प्रक्रिया अगाडि बढाउने बताउनुभयो । उहाँका पिताको गत साउन १४ गते असमायिक निधन भएको थियो । (दाता पुरी गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकाको रौतहट समाचारदाता हुनुहुन्छ ।)
छिमेकी देश रुससँग चीनले संयुक्त सैन्य अभ्यास गर्न आफ्ना सेना रुस पठाउँदै छ । भोस्टोक ड्रिल नाम गरिएको सो अभ्यास अगष्ट महिनाको अन्तिम दिनदेखि सञ्चालन हुने चिनियाँ रक्षा मन्त्रालयले जानकारी दिएको हो ।
गोरखापत्र समाचारदाता काठमाडौँ, भदौ २ गते । भारतमा रहेको प्रतिष्ठित साहित्य संस्था ‘कलिंगा साहित्य महोत्सव’ को पहिलो अन्तर्राष्ट्रिय संस्करण काठमाडाैंमा हुने भएको छ । आगामी असोज २९–३० गतेसम्म आयोजना हुने दुई दिवसीय महोत्वसको नेपाल संयोजन राष्ट्रिका साहित्य प्रतिष्ठानले गर्नेछ । ओडिसाको राजधानी भुवनेश्वरमा विगत १० वर्षदेखि मनाउँदै आएको उक्त महोत्सव भारतकै प्रमुख साहित्यिक महामेला हुँदै आएको नेपाल संयोजक तथा राष्ट्रिका साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषभदेव घिमिरेले बताउनुभयो । नेपालको अनलाइन पत्रिका हिमालयन डायरी र राष्ट्रिका साहित्य प्रतिष्ठानको सहकार्यमा फेस्टिभल गर्न लागिएको हो ।अध्यक्ष ऋषभदेव घिमिरेकाअनुसार कलिंग साहित्य महोत्सवका संस्थापक निर्देशक रश्मी रञ्जन परिडाको परिकल्पना र संयोजनमा पहिलोपटक काठमाडौंमा महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमा नेपालका करिव ७० र भारतका ३० जना साहित्य, कला र संस्कति क्षेत्रका मूर्धन्यका वक्ताहरूको सहभागिता रहने छ । महोत्सवमा ‘नेपालको कला, संस्कृति र साहित्य’ छलफल र बहसको मुख्य विषय रहने छ । महोत्सवले नेपाल र भारतबीचको साहित्यिक, संस्कृतिक, धार्मिक गतिविधिलाई अझ मजबुत बनाउदै दुवै देशका लेखक तथा सर्जकहरूबिचको सम्बन्ध विस्तारमा थप सहयोग पु¥याउने अपेक्षा गरिएको छ । महोत्सवमा नेपालका प्रसिद्ध संस्कृतिविद्व सत्यमोहन जोशी, प्रसिद्ध संस्कृतिविद्व तथा नेपाल प्रज्ञाप्रतिष्ठानको उपकुलपति डा. जगमान गुरुङ, वरिष्ठ समालोचक डा. वासुदेव त्रिपाठी, वरिष्ठ कवि तुलसी दिवस, वरिष्ठ कथाकार माया ठकुरी, वरिष्ठ कथाकार, हिरण्यकुमारी पाठक, वरिष्ठ साहित्यकार डा.अभि सुवेदी, वरिष्ठ नाटककार, अशेष मल्ल, वरिष्ठ कवि तथा गीतकार वसन्त चौधरीलगायतको सहभागिता रहने छ । यसैगरी, भारतका प्रसिद्ध साहित्यकारहरु रञ्जित राय लेखक तथा भुतपूर्व राजदुत, गीताञ्जली श्री (इन्टरनेशनल बुकर अवार्ड विजेता) अशोक बाजपायी वरिष्ठ साहित्यकार, अरुण कमल वरिष्ठ साहित्यकार, मृदुला गार्ग वरिष्ठ साहित्यकार, समीर ( प्रसिद्ध गीतकार), मालिनी अवस्थी यतिसकुमार, आसुतोष राणा, दिप्ती नवललगायतको सहभागिता रहने महोत्सवको नेपाल निर्देशक रञ्जना निरौलाले जानकारी दिनुभयो । निर्देशक निरौलाका अनुसार महोत्सव सफल बनाउन विभिन्न उपसमिति बनाइएको छ ।
दिवाकर पोख्रेलदेउखुरी, भदौ २ गते । दाङको गढवा गाउँपालिकाको राप्ती नदी किनार आसपासमा अवैध रुपमा डम्पिङ गरेर राखेको नदीजन्य पदार्थ गाउँपालिकाले नियन्त्रणमा लिएको छ । लामो समयसम्म सूचना जारी गरेर नदीजन्य पदार्थ हकदार खोजी गर्दा समेत सम्पर्कमा नआएपछि अवैध ठहर गर्दै नियन्त्रणमा ल्याउने काम थालिएको हो । गढवा गाउँपालिकाले पटक पटक जानकारी, छलफल र सूचना दिँदा पनि कोही सम्पर्क नआएकाले बेवारिसे नदीजन्य पदार्थलाई पालिकाले उठाउन सुरु गरेको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको संयोजकत्वमा बनेको चोरी निकासी नियन्त्रण तथा क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगहरुको नाप जाँच समितिले अवैध नदीजन्य पदार्थको निगरानी बढाउन थालेको छ । गढवा गाउँपालिकाका अध्यक्ष पोख्रेलले गढवा गाउँपालिका अन्तर्गत नदी तथा खोलाहरुको किनारमा सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उद्योगको छेउछाउमा अवैधरुपमा संकलन गरी डम्पिङ गरि राखेको नदीजन्य पदार्थ उठाई सुरक्षित स्थानमा डम्पिङ गर्ने निर्णयअनुसार अवैधरुपमा डम्पिङ गरेर राखिएको ढुङ्गा पालिकाले आफ्नो नियन्त्रणमा लिएको जानकारी दिनुभयो । पालिकले ५६.६ घनमिटर ढुङ्गा आफ्नो नियन्त्रणमा लिएको छ भने छ हजार दुईसय १७ घनमिटर ढुङ्गाको सम्बन्धित व्यक्तिहरु सम्पर्कमा आएर दाबी गरेको हुनाले पालिका र सुरक्षा निकायको रोहबरमा नापजाँच गरी उल्लेखित परिणाम बराबरको राजश्व बुझाउन आग्रह गरिएको छ । गढवा गाउँपालिकाले क्रसर उद्योगको पनि कानुनी प्रक्रियाहरु अघि बढाइरहेको छ ।
सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षमा गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भइरहेको उहाँका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो ।
काठमाडौं, भदौ १ गते । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को बुधबार दिउँसो बसेको स्थायी समितिको बैठक सकिएको छ । पार्टी प्रवक्ता कृष्णबहादुर महराले पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको बैठकमा पार्टीको पदाधिकारी टुङ्गो लगाउने विषयमा छलफल भएको जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “स्थायी कमिटीको बैठक बस्यो, संगठन सम्बन्धी एउटा एजेण्डामा केन्द्रित भयौँ । केन्द्रीय कमिटीपछि टुङ्ग्याउनुपर्ने केही विषय थिए । पदाधिकारी टुङ्ग्याउनुपर्ने विषयमा करिब करिब टुङ्गोमा पुगेका छौँ।”बैठकमा केन्द्रीय कमिटी, पोलिट्ब्यूरो र स्थायी कमिटीमा थप्नुपर्ने सदस्यहरुको विषयमा विस्तृत छलफल भएको उहाँले बताउनुभयो । उहाँले यी विषयमा अन्तिम टुङ्गो लाग्ने गरी माओवादी केन्द्रको स्थायी समितिको बैठक भोलि बिहीबार बिहान ८ बजे पुनः बस्ने बताउनुभयो । माओवादी केन्द्रको गत पुसमा आठौँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा सम्पन्न भएको थियो । तर, पदाधिकारी चयन हुन नसक्दा यस सम्बन्धमा माओवादी केन्द्रमा निरन्तर छलफल हुँदै आएको छ ।
एक वर्षपछि ‘भारत गौरव पर्यटक रेल’ नामक विशेष रेल फेरि जनकपुरधाम आउन लागेको छ । गत वर्ष असार ९ गते उक्त रेल ४९९ भारतीय धार्मिक पर्यटक बोकेर जनकपुरधाम आएको थियो । सो रेलमा १४ वटा डिब्बाहरु थिए ।
सिराज खान नेपालगञ्ज, भदौ १ गते । नेपालगञ्ज र कोहलपुरका सडकमा अत्यधिक सवारी साधन गुड्न थालेका कारण विभिन्न महत्वपूर्ण चोकमा सर्वसाधारणलाई सडक पार गर्न समस्या देखिएकाले पाँच वटा आकाशे पुल निर्माण गरिने भएको छ । रत्न राजमार्गका चोकहरुमा सर्वसाधारणलाई सडक पार गर्न समस्या भएको र दुर्घटनाको जोखिम समेत बढेका कारण नेपालगञ्जमा चार र कोहलपुरमा एक गरि पाँच वटा आकाशे पुल निर्माण गर्ने निर्णय भएको सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख होमबहादुर एसीले बताउनुभयो । उहाँले यो योजना बाँकेका सङ्घीय सांसद मोहम्मद ईश्तियाक राई भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नियुक्त भएपछि उहाँकै निर्देशनमा तयार गरिएको बताउनुभयो । पाँच वटा आकाशे पुलका लागि टेण्डर आह्वान भैसकेको जनाउँदै प्रमुख एसीले टेण्डर प्रक्रिया सकिएलगत्तै निर्माणको काम शुरु गरिने बताउनुभयो । उहाँका अनुसार नेपालगञ्जको अति व्यस्त मानिने चोकहरु गणेशमान चोक, धम्बोझी चोक, कारकाँदो चोक, राँझा चोक र कोहलपुरको हाइस्कुल चोकमा आकाशे पुल निर्माण गरिनेछ । सोका लागि लागि १० करोड रुपियाँको बजेट छुट्टयाइएको सडक डिभिजन कार्यालयले जनाएको छ । सोही प्रकारले जमुनाहादेखि राँझासम्मको राजमार्गमा स्ट्रिट लाइटको अभाव देखिएकाले सो सडकमा दुबैतिर मुख फर्काइएका स्ट्रिट लाइटहरु जडान गर्ने निर्णय पनि गरिएको सडक डिभिजनका प्रमुख एसीले बताउनुभयो । जमुनाहादेखि राँझासम्म हरेक ३० मिटरको दुरीमा स्ट्रिट लाइटहरु जडान गरिने तथा हाइमास्ट लाइट जडान भएको ठाउँमा सो भन्दा १५० मिटरको दुरीमा जडान गरिनेछ । दुबै योजनाका लागि ठेक्का सम्झौता भएको १५ महिना भित्र निर्माण गरिसक्नु पर्ने शर्त राखिएको पनि सडक डिभिजन कार्यालयले जनाएको छ ।