सरकारले उखुको समर्थन मूल्य तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले समर्थन मूल्य प्रतिक्विन्टल २० रुपियाँ बृद्धिगरी ५४० रुपियाँ तोकेको कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले बताउनुभयो । यस्तै, ७० रुपियाँ किसानका लागि सरकारले ढुवानीका लागि अनुदान पनि दिने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ । बुधबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले सञ्चारमन्त्री शर्मालाई नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी दिने औपचारिक निर्णय गरेको हो ।
जनता समाजवादी पार्टी (जसपा) सरकारमा नजाने निर्णय गरेको छ । बुधबार बसेको सो दलको संसदीय दलको बैठकमा सरकारमा जाने या नजाने विषयमा छलफल गर्दा सो निर्णय गरेको सो दलले जनाएको छ ।
नेपाल टेलिकमले मोबाइल तथा पिएसटिएन टेलिफोन सेवा अवरुद्ध हुने समस्या दोहोरिन नदिन प्रणालीगत सुधार गर्ने भएको छ ।
सभामुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । सचिवालयका महासचिव डा. भरतराज गौतमले सभामुखका लागि नेकपा (एमाले) का देवराज घिमिरे र नेपाली कांग्रेसका ईश्वरी देवी न्यौपानेले उम्मेदवारी दिनुभएको जानकारी दिनुभयो ।
एउटै वडाका ३१ जना गर्भवती महिला सुत्केरी हुँदा अहिलेसम्म एक जनाले मात्र अस्पतालमा गएर सुत्केरी गराउनुभएको छ । प्रसूति गृहमा सुत्केरी गराउँदाका फाइदा र स्वास्थ्य चौकी टाढा भएपछि गर्भवती महिलाहरू घरमै सुत्केरी गराउनुपरेको बताउनुभएको छ ।
नेपालका इन्द्रबहादुर सुनार थाइल्याण्डको बैंककमा जारी एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिपको क्वार्टरफाइनलमा प्रवेश गर्नुभएको छ ।
कारागारमा रहेको थुनुवा छुटाई दिने भनी आपराधिक लाभ लिएर ठगी गर्ने धरानको एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालि ठकुरीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
नेकपा (एकीकृत समाजवादी) ले १३ सदस्यीय पार्टीको दस्ताबेज मस्यौदा समिति गठन गरेको छ ।
उत्तरी म्याग्दीका दुईवटा पालिका अन्नपूर्ण र रघुगंगा म्याग्दीको बेनीमा आयोजित अन्तर पालिकास्तरीय खुल्ला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
रुपन्देहीको सैनामैनामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ८ जना घाइते भएका छन् ।
बङ्गलादेशको ढाकामा आयोजना हुने साफ यु–२० महिला च्याम्पियनसिपका लागि केन्द्रित रहेर नेपाली महिला टिम यतिबेला बन्द प्रशिक्षणमा व्यस्त छ । फेब्रुअरी ३ देखि ९ तारिखसम्म चल्ने प्रतियोगितामा चार राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेश सभाको पहिलो अधिवेशनको चौथो बैठकबाट मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गर्नुभएको हो ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।