तिनाउ गाउँपालिकाले पशुका लागि वितरण गरेको भिटामिन र क्याल्सियम न्यून गुणस्तरको भएको पाइएको छ। गाईभैँसीलाई पोषणका लागि खुवाइने भिटामिन, मिनरल्स र क्याल्सियम पालिकाले न्यून गुणस्तरको वितरण गरेको पाइएको हो। पशु सेवा विभागले २०७९ फागुन ११ गते पत्र लेखेर नुट्रिभेट फर्म केयर प्रालि बुम्बईले उत्पादन गरेको भिटामिन र क्याल्सियम बिक्री वितरण नगर्न निर्देशन गरेको छ। विभागले रुपन्देहीस्थित खनाल भेट सेन्टरलाई पत्र लेखेर उक्त कम्पनीका हाइमिल्कर फोर्टे र भिटा ओ भिटा बजारबाट फिर्ता गराउनुपर्ने, मौज्दात विवरण सात दिनभित्र विभागमा पठाउनुपर्ने र पुनः उक्त कम्पनीको सामान आयात गर्नुपर्ने भए नयाँ ब्याचको स्याम्पल टेस्ट गर्नुपर्ने उल्लेख छ। विभागले वितरण गरेको क्याल्सियम र भिटामिनमा हुनुपर्ने भिटासिन (ए)को मात्रा कम रहेको पाइएको हो।
बेनीमा स्थापना गरिएको पर्यटक सूचना केन्द्र दुई वर्षदेखि अलपत्र छ। मुस्ताङ प्रवेशद्वारका रूपमा रहेको कालीपुल बसपार्कमा स्थापना गरिएको सूचना केन्द्र सञ्चालनमा आर्थिक र व्यवस्थापकीय समस्या भएपछि अलपत्र परेको हो। बेनी नगरपालिका, पर्यटन बोर्ड र म्याग्दी उद्योग वाणिज्य सङ्घले संयुक्त रूपमा चार वर्षअघि पर्यटन सूचना केन्द्र सञ्चालनमा ल्याएका थिए। अहिले उक्त केन्द्र बन्द मात्र होइन, अलपत्र परेको छ। सूचना केन्द्रलाई दीर्घकालीन रूपमा सञ्चालनमा ल्याउन आर्थिक व्यवस्थापन गर्न समस्या भएपछि बन्द भएको जनाइएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएपछि सराङकोटबाट पाँच किलोमिटर टाढाको मान्द्रेढुङ्गा पुगेको प्याराग्लाइडिङप्रतिको आकर्षण खस्किएको छ। सिजनको बेलामा पनि प्याराग्लाइडिङ उतिसारो लय समाउन नसकेको स्थानीय व्यवसायी बताउँछन्। प्याराग्लाइडिङ व्यवसायको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना)का निवर्तमान अध्यक्ष कृष्ण भण्डारीले उडान सङ्ख्या घटेको बताउनुभयो।
मर्जरका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेका सानिमा लाइफ र रिलायन्स लाइफले बिहीबारदेखि एकीकृत कारोबार सुरु गरेका छन् । एकीकृत कारोबार सुरु गर्न आयोजित समारोहमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मर्जरले बीमा कम्पनीको पुँजीसँगै क्षमता पनि बढ्दै गएको भन्दै कम्पनी हरेक विषयमा अनुसन्धान गर्न सक्ने भएको बताउनुभयो ।
मर्स्याङ्दी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदिपुर २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको हो ।
गर्मीयाम सुरु भएसँगै कर्णाली प्रदेशमा आगलागीका घटना हुन थालिसकेका छन्। प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको हालसम्म प्रदेशभर ६२ वटा आगलागीका घटना भएका छन्। यसबाट दुई पुरुष र एक बालिका गरी तीन जनाको मृत्यु भएको छ। छ जना घाइते भएका छन्। ४३ घरमा भौतिक क्षति पुगेको छ तर प्रदेशका स्थानीय सरकारले भने यसतर्फ चासो दिएका छैनन्।
धामीझाँक्रीको उपचारमा भर पर्दा गोदावरी नगरपालिका–८, स्याउलेकी २२ वर्षीया गर्भवतीको ज्यान गएको छ। घरनजिकै अस्पताल भए पनि धामी बोलाएर कल्पना विकको उपचार थालिएको थियो। बिहानभर ती धामीले कल्पनालाई निको पार्न नसकेपछि दिउँसो गौरीगङ्गा नगरपालिकाको बनबेहडास्थित अर्को धामीको घरमा लगिएको थियो। ती धाँमीले पनि कल्पनालाई निको पार्न सकेनन्।
एसजेभिएन अरुण पावर डेभलपमेन्ट कम्पनीले निर्माण गरिरहेको विद्युत् प्रसारण लाइनमा जताततै अवरोध भएको छ। धनुषाको ढल्केबर र महोत्तरी जिल्लाको रतवाडामा कम्पनीले निर्माण गर्न लागेको टावर निर्माण तथा तार तान्ने काममा अवरोध भएको हो। दुवै ठाउँका जग्गाधनीले उचित मुआब्जा नपाएको भन्दै निर्माण कार्यमा अवरोध गरेका छन्। बिहीबार ढल्केबरमा आयोजनाका कर्मचारीले टावर निर्माण गर्न जेसीबीले खाल्टो खन्न थालेपछि सम्बन्धित जग्गाधनीले रोकेका छन्।
ललितपुर महानगरले दोलखा जिल्लाको भीमेश्वर नगरपालिकालाई सम्पदा संरक्षणका लागि आर्थिक सहयोग गरेको छ ।
लहान नगरपालिका–१० स्थित खुटी नहरबाट सिँचाइ गराउन निर्माण भइरहेको हेडवक्र्स अन्तिम चरणमा पुगेको छ। यसै वर्षदेखि नहरको पानी प्रयोग गर्ने उद्देश्यले निर्माण कार्य तीव्र गतिमा भइरहेको छ।
गर्भ निरोधका लागि महिलालाई लगाइने ‘सङ्गिनी सुई’ पाँचथरमा कुकुरलाई लगाएर दुरुपयोग गर्ने गरेको पाइएको छ। पशु अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरले सदरमुकाम फिदिममा चलाएको कुकुर, बिरालोका लागि स्थायी बन्ध्याकरण शिविरमा ल्याइएका कुकुरलाई सङ्गिनी सुई लगाइएको हो। सङ्गिनी लगाएका पोथी कुकुरको पाठेघरमा पिप जम्ने र पाक्ने जस्ता गम्भीर प्रकृतिको सङ्क्रमण (पायोमेट्रा) देखिएको विज्ञ केन्द्र पाँचथरका प्रमुख डा. मनोज महतोले बताउनुभयो।
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सानोसानो पुँजीलाई एकीकृत गरेर सहकारी संस्थाहरूले गरिबी निवारणका लागि दिएको योगदानको प्रशंसा गर्नुभएको छ। उहाँले नाफा कमाउन तथा स्वार्थ बोकेर स्थापना भएका सहकारी र जनहितमा खुलेका सहकारी बुझेर मात्र सदस्य बनेर कारोबार गर्न आग्रह गर्नुभयो।
निर्यातजन्य उद्योग स्थापना गरी व्यापार घाटा कम गर्ने उद्देश्यले सरकारले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा विशेष आर्थिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको थियो तर विशेष आर्थिक क्षेत्र (सेज) स्थापना गर्ने घोषणा भएको ११ वर्ष बित्दासमेत कामले गति लिन सकेको छैन । वि.सं. २०६८ भदौ २७ गतेको मन्त्रिपरिषद् बैठकले पाँचखाल नगरपालिका–७ र ८ मा सेज स्थापना गर्ने निर्णय गरे पनि २०७५ असार २४ गते मात्रै सेजको नाममा जग्गा प्राप्त भएको थियो । सरकारले सेज स्थापनाका लागि वन मन्त्रालयमार्फत तत्कालीन होक्से गाविसको देवीस्थान सामुदायिक वनको छ सय रोपनी र शिखरपुर सामुदायिक वनको चार सय रोपनी गरी एक हजार रोपनी जमिन उपलब्ध गराएको हो । सोबापत सरकारले वन मन्त्रालयलाई २० करोड रुपियाँ उपलब्ध गराएको थियो ।
नेपालको संविधानबमोजिम सङ्घीय संरचनामा अधिकार बाँडफाँटका बारेमा गरिएका नीतिगत व्यवस्थालाई परिमार्जन गर्नुपर्ने देखिएको छ । कार्यविभाजन नियमावली २०७४ मा तोकिएका अधिकारलाई अभ्यास गर्ने क्रममा भोगिएका समस्या र आएका चुनौतीलाई सम्बोधन गर्न संशोधन र परिमार्जनको आवश्यकता बोध गरिएको हो । प्रादेशिक संरचनामा बसेर काम गर्दाको अनुभवको आधारमा सञ्चारसँग सम्बन्धित विषयमा प्रदेश र स्थानीय तहको सहभागितामा सङ्घले नीतिगत निर्णय गर्न उपयुक्त हुने गरी सुझाव प्रस्तुत गरिएको छ ।
आजको युग सूचना प्रविधिको युग हो । अहिले सबैका हातमा ‘स्मार्ट फोन’ छन् । हातमा भएका स्मार्ट फोनकै कारण सबैको पहुँचमा सहजै सामाजिक सञ्जाल छन् । त्यसैले त आजको युगलाई सूचनाको मात्र नभई सामाजिक सञ्जालको युगभन्दा फरक नपर्ला । पछिल्लो एक दशकमा सूचना प्रविधिको क्षेत्रमा नेपाली समाजले पनि धेरै फट्को मारिसकेको छ ।